दीपेन्द्रको अर्धशतकमा नेपाल विजयी
दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेपछि नेपालले ओमानलाई अन्तिम ओभरमा पराजित गरेको छ।
शुक्रबार ओमानमा भएको अन्तर्राष्ट्रिय टी-२० को पहिलो खेलमा नेपालले ओमनलाई ६ विकेटले पराजित गरेको हो। ओमनले दिएको १३६ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १९.३ ओभरमा पूरा गरेको हो।
नेपालका लागि ऐरीले ५३ बलमा ७३ रन बनाए। उनले एक छक्का र आठ चौका प्रहार गरे।
त्यस्तै, नेपालका लागि आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरी र शरद भेषवाकरले ४-४ रन बनाए।
ओमानका लागि कलिमुल्लाहले दुई र खवर अलीले एक विकेट लिए। अन्य बलरले प्रभाव जमाउन सकेनन्।
यअसघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। ओमानका लागि जिसन मक्सुदले ४३, मोहम्मद नदिमले ३१, जतिन्द्र सिंहले १३, कश्यप प्रजापति, शोयब खान र आयान खानले ११-११ रन बनाए।
नेपालका लागि अविनाश बोहराले तीन, कमल ऐरी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए। नेपाली बलरले शुरूआतदेखि नै ओमानलाई दबाबमा राखेका थिए।
नेपालले लामिछानेको नेतृत्वमा पहिलो खेल जितेको छ। नेपालले अर्को खेल शनिबार दोस्रो खेल यूएईसँग खेल्नेछ। यस्तै, तेस्रो खेलमा सोमबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
आईसीसी पुरुष टी-२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्नुअघि नेपालले चार देशीय श्रृङ्खला खेलिरहेको छ। ग्लोबल छनोटमा आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्।
आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्।