बढ्दै आगलागीका घटना, जोगिने कसरी?
जलवायु परिवर्तनका कारण हिउँदमै पनि ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले सजकता अपनाउनु जरुरी छ।
आदिमकालदेखि नै आगो मानिसको जीवनको सहायक हुँदै आएको छ। आगो प्रयोग गरेरै मानिसले अरू प्राणीमाथि विजय हासिल गरेको हो।
दैनिक जीवनमा हामी आगोसँगको संसर्गमा हुन्छौं। आगोबिनाको जीवन कल्पनै गर्न सकिन्न। खाना पकाउन, न्यानो बनाउन आगो नै चाहिन्छ। आगोको उपयोगितालाई महत्त्व दिएरै होला अग्नि पूजा गर्ने परम्परा हाम्रो संस्कारमा छ।
उद्योग कलकारखाना चलाउन पनि आगो चाहिन्छ। मानवीय जीवनलाई सुगम बनाउने आगोलाई राम्रोसँग व्यवस्थापन गर्न जानिएन भने बहुउपयोगी आगो विध्वंशको कारण बन्छ।
दिनुहुँ कतै न कतै आगलागी भएकै हुन्छ। विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनमा आगलागीको घटना नभएको दिन पाउन दुर्लभ छ। आगो ताप्दा वा खाना पकाउँदा आगोले पोलेर ज्यान जाने, गम्भीर घाइते हुने घटना पनि उत्तिकै छन्।
आगलागी नभोगेको नेपालका कुनै गाउँ, कुनै शहर होलान् र? बालबालिका र भान्सामा काम गर्ने मानिस आगोको जोखिममा बढी छन्। आगलागी हुने वा आगो प्रयोग गर्दा विभिन्न दुर्घटना हुने अनेक कारण छन्। नेपालमा आगलागीको जोखिम कम गर्ने एवम् आगो निभाउने प्रविधि, उपकरण र जनशक्ति कम छन्।
आगो निभाउन पानी र प्रविधि
मध्य पहाडतिरका घरमा तल्लो तलामा गाईभैंसी बाँध्ने र माथिल्लो तलामा मान्छे बस्ने चलन छ। खरले छाएको गोठ/घरमा खाना पकाउँदा आगोले छानो टिपेर आगलागी भएका अनेकौं उदाहरण छन्। आगो नियन्त्रण गर्न नसक्दा घर/गोठमा रहेका सरसमानका साथै पशुपन्छी समेत जलेर मर्ने गरेका छन्।
आगो निभाउने प्रविधि र जनशक्ति नहुँदा समयमै आगो निभाउन सकिएको छैन। गोठको भुइँतलामा एक छेउमा कोठा निकालेर त्यस कोठामा चुलो बनाएर पकाउने चलनले गोठमा हुने आगलागी निकै कम भएका छन्।
खरको छानोलाई जस्तापाताले विस्थापित गर्नु आगलागीको जोखिम कम गर्ने एउटा उपाय हो। तैपनि, सबैको आर्थिक हैसियत जस्तापाता लगाउने सक्ने नहुन सक्छ।
यद्यपि खरको छाना भएका घर/गोठको संख्या न्यून हुँदै छ। त्यसले आगलागीको जोखिम घटेको छ। सरकारले खर र फुसको छाना जस्तापाताले विस्थापन गर्ने रणनीति लिएपछि आगलागीको जोखिम कम भएको छ। साथै, आगलागीको जोखिम कम गर्ने वा आगलागी भइहालेमा तुरुन्तै निभाउन सकिने उपाय अवलम्बन गर्न जरुरी छ।
विगतमा टोलटोलमा पानीका पोखरी हुन्थे। पोखरीका अनेकौं फाइदा हुनुका साथै आगलागी हुँदा आगो निभाउन सहज हुन्थ्यो। हिजोआज संरक्षण र सतत् उपयोग अभावमा पुराना पोखरी मासिँदै गए। तर, पोखरीबाट हुने फाइदालाई अन्य विकल्पले सोधभर्ना गर्न सकिने गरी नयाँ प्रविधि पनि अपनाउन सकिएन। त्यसमाथि आगो निभाउने प्रविधि र सीप नहुँदा सम्पत्ति जलेर खरानी भएको टुलुटुलु हेर्नुपर्ने वाध्यता छ।
घर/गोठमा आगो लाग्दा गाउँलेले आगोमा माटो फालेर निभाउने प्रयत्न गर्छन्। पानीको स्रोत नजिकै नहुँदा टाढाको पँधेरोबाट गाग्री र बाल्टीमा बोकेको पानीले आगोलाई के छुनु! धेरै ठाउँमा खानेपानी नै नपुग्ने अवस्था छ। गाउँबस्तीमा आगोको जोखिम कम गर्ने उपाय अग्नि नियन्त्रणको उपयुक्त प्रविधि नै हो।
बजारको साँघुरो बनोटले आगो फैलिने स्थिति हुन्छ भने मट्टिलेल जस्ता तुरुन्तै आगोले टिप्ने सामग्री पसलमा भण्डारण गर्दा आगलागीको जोखिम बढ्छ। २०४४ सालमा गुल्मीको चोरकाटे बजारमा भीषण आगलागी भएको थियो।
चोरकाटेमा जस्तापाताले बनेका सयौं टहरा थिए। तिनमा पाँच सातवटा मात्रै इँटाको गारोयुक्त थिए। पहाडमा जहाँसम्म ट्रयाक्टर पुग्थ्यो, त्यहाँ यस्तो टहरे बजार बनिहाल्थे। ट्रयाक्टरको पहुँचसँगै बजार सर्दै जान्थ्यो।
२०४२ सालतिर चोरकाटेमा ट्रयाक्टर पुग्यो, अनि बजार बढ्यो। त्यतिवेला एउटा होटलबाट सल्किएको आगोले चोरकाटे बजार ध्वस्त भयो। बजारका पसलमा राखिएका डिजेल, पेट्रोल, मट्टितेल, खाने तेल, घ्यू आगोले टिपेपछि निभाउन सकिने कुरै भएन। दमकल नहुँदा बजारको बिचबाटै बगेको कुलो, नजिकै बडीगाड र भार्से खोला हुँदा पनि आगो निभाउन सम्भव भएन।
गुचुमुच्च बस्तीमा बढी जोखिम
गुचुमुच्च परेका बस्तीमा आगलागीको जोखिम अधिक हुन्छ। ताप्लेजुङ्गको दोभान बजारमा १८ फागुन २०७७ मा भीषण आगलागी हुँदा करोडौं धनमाल नास भयो। ताप्लेजुङ्गकै फुङ्गलिङ्ग बजारमा पनि आगलागी भइरहन्छ।
बितेका केही वर्षमा बाँके, ताप्लेजुङ्ग, कालिकोट, मुगु, सप्तरी, सिराहा, महोत्तरी लगायत जिल्लामा भीषण आगलागी भएका छन्। यी घटनामा आगो फैलिनुका मुख्य कारण झुप्प परेको बस्ती, आगोको प्रयोगमा भएको असावधानी र आगो निभाउने स्रोतसाधनको अभाव थियो।
हिजोआज बाटोको तलमाथि र दायाँबायाँ लहरै जोडेर घर बनाउने गरिएको छ। आगलागीका दृष्टिले यो ठूलो जोखिम निम्त्याउने कारक हो। सडक किनारमा फैलिँदै गएको नयाँ बजार क्षेत्र आगलागी र सडक दुर्घटनाका कारक बन्दै गएका छन्।
खासमा हिमाली क्षेत्रमा जोडेर घर बनाउने प्रचलन छ। शहरी क्षेत्रमा बजार विस्तार हुँदा जोेडेर घर बनाउने चलन आयो। यस्त बस्ती आगलागीका दृष्टिले खतरनाक छन्। किनभने हामीकहाँ आगो लागे निभाउने पर्याप्त स्रोत साधन छैन।
२०७५ पुसमा कालिकोटको पाताल, खाडागाउँमा आगलागीले ३२ घर नष्ट भए। त्यहाँ आगो निभाउने पानी र जनशक्ति नभएको देखियो। १९ कात्तिक २०७८ मा मुगुको गमगढी बजारमा मध्यरातमा आगो लाग्यो। पर्याप्त पानी नहुँदा आगो निभाउन सकिएन। धेरै धनमाल नष्ट भयो।
बजार नजिकै पानीको जोहो गरेर, समुदायमा आगो नियन्त्रण तालिम दिएर पूर्वतयारी गर्नु राम्रो हुन्छ। परम्परागत बस्तीमा जोखिम कम गर्न उनीहरूले केही उपाय अपनाएका हुन सक्छन्। जस्तै- चुलोको डिजाइन, अगेनोको बनावट, आगो बाल्ने र निभाउने प्रचलन आदि। त्यस्ता स्थानीय उपायलाई ध्यान दिएर आगो लागिहाले निभाउने उपायको पूर्वतयारी गर्नु जरुरी छ।
प्राकृतिक दुर्घटना र असावधानी
चट्याङ्ग, हुरिबतास आदिका कारणले पनि आगलागी हुन सक्छ। हिउँद र सुक्खा याममा आगलागीको जोखिम बढी हुन्छ। प्रतिकूल मौसम जस्ता प्राकृतिक कारण हुने आगलागीबाट कैयौंको ज्यान जान्छ, घाइते भएर जीवनभर दुःख पाउनु पर्ने हुन्छ। सानो असावधानीले करोडौंको धनमाल नष्ट हुन्छ।
आगलागीको जोखिम कम गर्न सरकारी, निजी क्षेत्र तथा समुदायले अनवरत प्रयत्न गर्नु आवश्यक छ। राज्यले कानूनमा भएका व्यवस्थाको उचित कार्यान्वयन, अग्नि नियन्त्रण प्रविधिको उपलब्धता र जोखिमको हिस्सेदारी गर्न बिमा जस्ता उपाय अपनाउनुपर्छ।
चेतना अभावका कारण आगोले वर्षेनी सयौं मानिसको ज्यान लिइरहेको छ। जोखिमको ख्याल नगर्दा आगोले ज्यान लिन सक्छ। कोठा न्यानो पार्न कोइला बालेर सुत्दा ज्यान गएका घटना शहर बजारमा बढी भएका छन्।
७ माघ २०७६ मा दामनको एक रिसोर्टमा कोठाबाहिर बाल्ने ‘आउटडोर’ ग्यास हिटर बालेर झ्याल, ढोका बन्द गरी सुत्दा आठ जना भारतीय पर्यटकको ज्यान गयो। केही समयअघि मात्रै काठमाडौंमै मकलको कोइला बालेर झ्यालढोका लगाई सुतेका परिवारको हृदय विदारक मृत्यु भयो।
आगो बाल्दा हामीलाई श्वासप्रश्वासमा नभइ नहुने अक्सिजन पनि बल्छ र शरीरलाई हानी गर्ने बिषालु कार्बन ग्यासहरू (कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइड) बन्छन्। कोठामा झ्यालढोका थुनेर आगो बाल्दा अक्सिजनयुक्त हावा कोठाभित्र छिर्न पाउँदैन। भित्र भएको अक्सिजन बलेर बिषालु ग्यासमा स्वाँस फेर्दा थाहै नपाई ज्यान जान्छ।
३० पुस २०७८ मा सुर्खेतमा कोइला बालेर झ्यालढोका लगाएर बस्दा चार जनाको निसासिएर मृत्यु भयो। झ्यालढोका लगाएर आगो बाल्दा हावामा अक्सिजन कम भएर मरिन्छ भन्ने सामान्य ज्ञान नहुँदा वा असावधानीले यस्ता दुर्घटना भएका देखिन्छ। विद्यालय शिक्षामा यस्ता आधारभूत जीवनपयोगी विषय समेट्नुपर्ने अत्यावश्यक भइसकेको छ।
डढेलोको चुनौती
हरेक वर्ष डढेलोका समाचार आउँछन्। कतै-कतै समुदायमा अझै पनि वनपाखामा डढलो लगाउने चलन छ। तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुन्छन्। हजारौं हेक्टरको वन पैदावार जल्छन्।
डढेलोले वनमा भएका पशुपन्छी चराचरको पनि मृत्यु हुन्छ। डढेलोले गर्ने नोक्सानीको राम्रो अभिलेख हुँदो हो त सबैभन्दा अधिक धनमाल क्षति गर्ने प्रकोपमा आगलागी नै पर्छ। डढेलो भएको जमिनमा भूक्षय बढ्छ। जलाधारको जलस्रोतको सन्तुलन बिग्रन्छ, पानी मूहान मासिन्छन्। वनपैदावार डढेर निस्कने धुँवा र कार्बन ग्यासबाट जलवायु र समस्त पर्यावरणमा क्षति हुन्छ।
तैपनि वन डढेलोेबाट हुने व्यापक क्षतिबारे सरोकारवालाले यथेष्ट चासो दिएको पाइँदैन। डढेलोले गर्ने हानी नोक्सानीका बारेमा सचेतना पनि कम छ।
एकातिर हाम्रो वन बढ्छ, कार्बन सञ्चिती गर्छ र हामी छिट्टै खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्नेछौं भन्ने महत्वाकांक्षा छ। अर्कोतिर वर्षेनी आगलागीले वन विनास हुँदै छ, प्रदूषण बढ्दै छ। डढेलो नियन्त्रणका लागि राष्ट्रिय प्रयास गरिनु पर्छ। जोखिम कम गर्ने साथै आगो निभाउने प्रविधि र उपायहरू अपनाउन अग्रसर हुनुपर्छ।
वायुमण्डलमा हरितगृह गुण भएका कार्बनडाइअक्साइड, मिथेन जस्ता ग्यासहरू थपिएका कारणले जलवायु प्रणाली तात्दै गएको छ। गर्मी हुने ऋतुमा अझै गर्मी बढ्दै छ। परिणामस्वरूप खडेरी, हुरिबतास जस्ता बिषम मौसमी घटना बढ्नेछन्। सँगसँगै आगलागीको जोखिम पनि बढ्नेछ। जलवायु परिवर्तनका कारण विश्वमा वन डढेलोको प्रकोप बढेको पुष्टि भइसकेको छ।
गर्मी र सुक्खा बढेपछि घर गोठ उद्योग कलकारखानामा पनि आगलागीको जोखिम बढ्छ। आगलागीले हरित गृह ग्यास उत्सर्जन हुन्छ र जलवायु परिवर्तनलाई अझै छिटो बनाउँछ। हाम्रो पर्यावरणलाई उष्णीकरणबाट बचाउन पनि आगलागी कम गर्न अपरिहार्य छ।