चितवनमा बर्ड फ्लु, २ हजार कुखुरा नष्ट गरिँदै
चितवनको राप्ती नगरपालिका-६ बेल्डियाको कुखुरा फार्ममा बर्ड फ्लु देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, अनिता पशुपन्छी तथा कृषि फर्ममा रहेका कुखुरामा बर्ड फ्लु भेटिएको हो। कुखुरा फर्ममा एकै पटक धेरै कुखुरा मरेपछि २५ माघमा नमूना परीक्षण गरिएको थियो।
२७ माघमा बर्ड फ्लु पुष्टि भएको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। सोमनाथ चौधरीले सञ्चालन गरेको यो फार्ममा रहेका करीब दुई हजार कुखुरामध्ये दुई सय मरिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार, बाँकी कुखुरा आज साँझ नष्ट गरिने भएको छ। “फर्मको एक सय मिटर वरिपरि पालिएका कुखुरा लगायत पन्छी पनि नष्ट गर्ने निर्णय भएको छ,” प्रजिअ तामाङले हिमालखबरसँग भने।
कुखुरा फार्मको दुई किलोमिटर वरिपरि निगरानी गर्ने, समस्या देखिए नमूना लिएर परीक्षण गर्ने कार्यलाई प्राथमिकता दिएको उनले बताए। यो फार्मको एक सय मिटर पेरिफेरीमा अरू ठूला फार्म भने छैनन्।
त्यस नजिकको क्षेत्रमा घरायसी उपयोगका लागि पालिएका पन्छी पनि नष्ट गरिने भएको छ।