कोरोना विरुद्ध १ फागुनबाट सबैलाई बुस्टर डोज
सरकारले १ फागुनबाट १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दोस्रो मात्रा लगाएर ६ महीना नाघिसकेका नागरिकलाई बुस्टर डोज दिइने बताए। यसअघि सरकारले लक्षित वर्ग (फ्रन्टलाइनर र दीर्घ रोगी) लाई बुस्टर डोज दिएको थियो।
यसमा अन्य व्यक्तिले पनि बुस्टर डोज लगाएको पाइएको छ। यसरी बुस्टर डोज लगाएका व्यक्तिले स्वघोषणा गरेमा बुस्टर डोज लगाएको खोप कार्ड पाइने मन्त्री खतिवडाले बताए।
उनले १०० दिनको कार्य उपलब्धिको समीक्षा गर्दै लक्ष्य लिएकोभन्दा बढीलाई कोरोना विरुद्धको खोप प्रदान गरिएको बताए। “१८ वर्षभन्दा माथिका ९० प्रतिशतले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइसकेका छन् भने ७४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन्,” उनले भने।
अहिलेसम्म चार करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भएकोमा तीन करोड ४८ लाख २५ हजार ६०१ खोप लगाइसकेको जानकारी दिए।
त्यस्तै, स्वास्थ्य मन्त्री खतिवडाले खोप नहराएको जिकिर गरे। उनले भने, “हामीले गाउँगाउँमा खोप बोकाएर पठाएका छौं। त्यसको विवरण मन्त्रालयसम्म आइपुग्न समय लाग्छ। कतिपय खोप लगाउन नभ्याएर खेर पनि गएका छन्। यसको तथ्याङ्क पनि आउन बाँकी छ।”
स्वास्थ्य मन्त्रालयले यसको छानबिन गर्न डा. गुणराज लोहनीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले केही दिनमै प्रतिवेदन बुझाउने उनले बताए।
उनले मिर्गौला प्रत्यारोपण, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८-२०८८ को मस्यौदा तयार गरिएको बताए।
उनले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति २०७८-२०८६ को अन्तिम मस्यौदा, जेरियाट्रिक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७/१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण-२०२१, टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७८ र आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८ तर्जुमा भएको जानकारी दिए।