स्थानीय चुनावका लागि अर्थ मन्त्रालयसँग ५० अर्ब माग
स्थानीय तहको चुनावका लागि अर्थ मन्त्रालयसँग ५० अर्ब माग गरिएको छ।
बिहीबार आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री जनार्दन शर्माले स्थानीय तह चुनावका लागि ५० अर्ब माग आएको बताए।
सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ। त्यसका लागि निर्वाचन आयोग, सुरक्षा निकाय लगायतले अर्थ मन्त्रालयसँग बजेट माग गरेका हुन्।
अर्थमन्त्री शर्माले चुनावका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताए। “यो वर्षको बजेटले चुनावका लागि रु. १० अर्ब छुट्याएको छ, तर माग भने रु. ५० अर्बको आएको छ। बाँकी रकम कसरी जुटाउने भन्ने ठूलो दबाव छ,” उनले भने ।
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले मात्रै रु. १२ अर्बभन्दा धेरै खर्च गर्ने अनुमान छ। धेरै रकम सुरक्षाका लागि खर्च हुन्छ।