कति घातक विद्युतीय फोहोर?
वैज्ञानिकहरू प्लास्टिक र विद्युतीय फोहोर व्यवस्थापनको भरपर्दो उपायको खोजीमा जुटेका त छन्, तर सफलता पाइसकेका छैनन्। अहिले अफ्रिकी मुलुकहरू घाना, तान्जानिया, केन्या, सुडान लगायतमा विद्युतीय फोहोरको पहाडै बनिसकेको छ।
विधिमा मानिसको पहुँचसँगै विभिन्न संसाधनको उत्पादन तथा उपभोग पनि बढिरहेको छ। पछिल्लो समय प्रयोगमा रहेका अधिकांश संसाधन, विशेष गरी विद्युतीय उपकरण प्लास्टिकबाट बनेका छन्। तर, यी सामानको उपादेयता सकिएपछि जताततै फाल्ने, जलाउने गरिंदा वातावरण र स्वास्थ्यमा गम्भीर असर परिरहेको छ।
प्लास्टिकयुक्त पदार्थ जलाइँदा निस्किने डाइअक्सिन, फ्यूरान जस्ता विषालु ग्यास वातावरणमा मिसिएर हामीले सास फेर्ने हावा प्रदूषित हुन पुग्छ जसकारण अर्बुद रोग, श्वासप्रश्वास, छाला, आँखा सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ। अझ बालक र वृद्धवृद्धालाई यसले छिटै असर गरेको अध्ययनले देखाएका छन्।
विद्युतीय फोहोरमा हुने विभिन्न धातु, अधातु तथा रसायन खुला स्थानमा छाड्दा ती माटो, खोला-पानीमा मिसिन्छन्। यसबाट जीवजन्तु तथा बोटबिरुवाको जीवनचक्रलाई प्रत्यक्ष असर पर्ने ४ फेब्रुअरी २०२१ मा पीयूबीएमईडी डट जीओभीमा प्रकाशित लेखमा उल्लेख छ।
हामीले पानी पिउने गिलासदेखि सास फेर्न सजिलो गराउने भेन्टिलेटरसम्म प्लास्टिकबाट बन्दै छन्। यतिसम्म कि मास्क र औषधि राखिएका भाँडा समेत प्लास्टिककै छन्। यस्ता सामग्रीले जीवन सहज बनाए पनि प्रयोगपछिको व्यवस्थापन सहज छैन। यी सजिलै नाश गर्न नसकिने फोहोर हुन्। जति धेरै मात्रामा वस्तुको प्रयोग हुन्छ, त्यही अनुपातमा फोहोर उत्पादन हुन्छ।
अहिले अफ्रिकी मुलुकहरू घाना, तान्जानिया, केन्या, सुडान लगायतमा विद्युतीय फोहोरको पहाडै बनिसकेको छ। यी फोहोरका कण त्यहाँको हावापानी, माटो, माछा, तरकारी, दूध, मान्छेको रगत र पिसाबमा समेत भेटिएका छन्।
वैज्ञानिकहरू प्लास्टिक र विद्युतीय फोहोर व्यवस्थापनको भरपर्दो उपायको खोजीमा जुटेका त छन्, तर सफलता पाइसकेका छैनन्। अहिले अफ्रिकी मुलुकहरू घाना, तान्जानिया, केन्या, सुडान लगायतमा विद्युतीय फोहोरको पहाडै बनिसकेको छ। यी फोहोरका कण त्यहाँको हावापानी, माटो, माछा, तरकारी, दूध, मान्छेको रगत र पिसाबमा समेत भेटिएका छन्।
फोहोरमा काम गर्नेहरू मात्र होइन, सर्वसाधारण अफ्रिकीहरूमा पनि विभिन्न स्वास्थ्य समस्या देखिएका छन्। उनीहरूमा टाउको, पेट, छाती दुख्ने, बच्चा खेर जाने, प्रजनन हार्मोनमा ह्रास, थाइराइड, अर्बुद रोग, इन्जाइमको काममा अवरोध देखिने जस्ता समस्या रहेको संयुक्त राष्ट्रसंघको बाजल सम्मेलनलाई उद्धृत गर्दै बाजल डट इन्टरनेशनलले जनाएको छ।
कुनै देशले उत्पादन गर्ने फोहोरको असर विश्वव्यापी हुने भएकाले त्यसले अरू देशलाई पनि उत्तिकै असर पुर्याउँछ। नेपालले ‘बाजल कन्भेन्सन’ मा हस्ताक्षर गर्दै यस्ता फोहोर मापदण्ड पुर्याएर आफ्नै देशमा नष्ट गर्ने, अरूलाई असर नपुर्याउने प्रतिबद्धता जनाएको छ। तर, व्यवहारमा कार्यान्वयन गरेको छैन।
प्लास्टिकलाई सजिलै चाहेको स्वरूपमा ढाल्न सकिने र टिकाउ पनि हुने भएकाले हरेकजसो उत्पादनमा यसको प्रयोग बढेको हो। कोभिड-१९ महामारी शुरू भएयता सङ्क्रमणहरूबाट बच्न समेत प्लास्टिकबाटै बनेका व्यक्तिगत सुरक्षा साधन (पीपीई) प्रयोगमा ल्याइएको छ। सन् २०२० नोभेम्बर-डिसेम्बरमा यूएनडीपी अन्डरस्कोर एक्सेलेरेटर ल्याब नेपालले गरेको सर्वेक्षण अनुसार, हामीकहाँ शहरी क्षेत्रमा प्रति दिन ३५० टन प्लास्टिक फोहोर उत्पादन हुन्छ।
मुश्किलले त्यसको चार प्रतिशत जति मात्र पुनःप्रशोधन हुने गरेको काठमाडौं महानगरपालिकाको १७ फेब्रुअरी २०२१ मा प्रकाशित प्रतिवेदनमा उल्लेख छ। विश्वव्यापी आँकडामा नेपालले उत्पादन गर्ने विद्युतीय फोहोर नगण्य भए पनि यसले दूरगामी असर पुर्याउने सहजै अनुमान गर्न सकिन्छ।
काठमाडौंमा हरेक दिन उत्पादन हुने फोहोरको अनुपातले यहाँ भइरहेको प्लास्टिकको खपत दर्शाउँछ। दैनिक उपभोग गरिने दूध-तेलका झोला, भाँडाकुँडा, फ्रीज, माइक्रो ओभन, ग्रिन्डर, भ्याकुम क्लिनर, पङ्खा, कुलर, हिटर, एयर कन्डिसनर, आइरन जस्ता सामान प्लास्टिककै हुन्छन्।
कतिपय विद्युतीय सामग्रीमा पाइने आगो प्रतिरोधक रसायनहरू ‘पोलिक्लोरिनेटेड बाइफिनाइल’ र ‘पोलिक्लोरिनेटेड टरफिनाइल’ पनि हानिकारक छन्।
यस बाहेक साइकल, मोटरसाइकल, कार, स्कूटर, हवाईजहाज, औषधि, उपचारजन्य उपकरण, सञ्चार प्रविधिहरू, मोबाइल, रेडियो, ट्रान्जिस्टर, कम्प्युटर, हेडफोन, टेलिफोनमा पनि प्लास्टिककै प्रयोग भएको हुन्छ। हाम्रा जीवन सहज पारिदिने विद्युतीय मोटर पम्प, घर बनाउने ब्लक, फर्निचर समेत प्लास्टिकबाट अलग छैनन्।
विद्युतीय सामग्रीमध्ये केहीमा प्रयोग हुने सुन, चाँदी, प्लाटिनम तथा पालाडियम जस्ता धातुका कारण पनि यस प्रति मानिसको आकर्षण बढेको छ। कतिपयमा निकल, टिन, लिड, क्रोमियम, फलाम, स्टील जस्ता धातु हुन्छन्। यस्ता सामग्री विद्युतीय प्रवाह तथा सर्किट जोड्न उपयोग भइरहेका हुन्छन्।
सबै खाले विद्युतीय संसाधनमा फलाम, तामा, जस्ताको प्रयोग भएकै हुन्छ। ती साधनमा विशेष प्रकारको गुण सिर्जना गर्न यस्ता विशेष धातुहरूले भूमिका खेलेका हुन्छन्। हामीले प्रयोग गर्ने स्मार्ट मोबाइल फोनहरूमै पनि ‘पेरियोडिक टेबल’ मा उल्लिखित ७० वटा जति पदार्थ प्रयोग गरिएका हुन्छन्।
जेजस्ता सामग्री हुने भए पनि यी प्रयोगपछि फोहोर बन्छन्, जसलाई बोलीचालीको भाषामा ‘इ-वेस्ट’ भनिन्छ। कतिपय विद्युतीय सामग्रीमा पाइने आगो प्रतिरोधक रसायनहरू ‘पोलिक्लोरिनेटेड बाइफिनाइल’ र ‘पोलिक्लोरिनेटेड टरफिनाइल’ पनि हानिकारक छन्। यस्ता सामग्रीको सही व्यवस्थापन नभए माइक्रो प्लास्टिक, डाइअक्सिन जस्ता ग्यास माटो, पानी र हावामा मिसिएर असर पुर्याउँछन्।
जसबाट मानसिक सुस्तता, फोक्सो, कलेजो, मिर्गाैलाको समस्या, स्मरणशक्तिमा कमी, प्रजननशक्तिमा ह्रास, मांसपेशीमा समस्या, टाउको अनि पेट दुख्ने, खानामा अरुचि साथै छाला सम्बन्धी विभिन्न रोग निम्तिन्छ। यससँगै प्लास्टिकजन्य फोहोरबाट माटोमा मिसिएका धातुहरूले जमीनको उब्जाउ क्षमता समेत घटाइदिने घानामा बढ्दो विद्युतीय फोहोर व्यवस्थापनको चुनौतीबारे रिसर्चगेट डटनेटमा प्रकाशित मार्टिन ओटेङ ओबाबियोको शोधले औंल्याएको छ।
नकुहिने प्लास्टिकको सट्टामा सामान उत्पादन गर्दा नै कुहिने प्लास्टिक जस्तै- पोलिल्याक्टिक एसिड, पोलिकेप्रालेक्टोन, पोलिबुटिलेन-को-टेरेफेथेलेट, पोलिबुटिलेन सक्सिनेट आदि प्रयोग गर्नु उचित हुन्छ।
यी समस्याबाट निकासको बाटो पहिल्याउँदै गर्दा विभिन्न शोध-अनुसन्धानले केही विकल्प दिएका छन्। जस अनुसार नकुहिने प्लास्टिकको सट्टामा सामान उत्पादन गर्दा नै कुहिने प्लास्टिक जस्तै- पोलिल्याक्टिक एसिड, पोलिकेप्रालेक्टोन, पोलिबुटिलेन-को-टेरेफेथेलेट, पोलिबुटिलेन सक्सिनेट आदि प्रयोग गर्नु उचित हुन्छ।
यस सम्बन्धमा विश्वभर अनुसन्धान भइरहेकोमा नेपालमा पनि त्रिभुवन विश्वविद्यालयमा नेपाल पोलिमर इन्स्टिच्यूटसँग आबद्ध विद्यार्थी-प्राध्यापकहरू सक्रिय छन्। उनीहरूकै क्रियाशीलतामा हालै मात्र विद्यावारिधिका लागि गरिएको एक अनुसन्धानले कुहिने प्लास्टिकलाई अझै छिटो कुहिने बनाउन गहुँ-छ्वालीबाट निकालिएको माइक्रो तथा नानो सेलुलोज प्रयोग गर्न सकिने देखाएको छ।
यस बाहेक फोहोर व्यवस्थापनको सात अन्तर्राष्ट्रिय नियम पनि निर्धारण गरिएका छन्। युरोपेली आयोगले सन् २००६ मा पहिलो पटक तीन वटा नियम ल्याएकोमा त्यसलाई परिमार्जित गर्दै ‘सेभेन-आर’ को नीति अघि सारेको हो।
के हो ‘सेभेन-आर’?
नेपालले पनि यी नियमका आधारमा नीति बनाउँदै वैज्ञानिक तरीकाले फोहोर व्यवस्थापन गर्नुपर्छ। यस कार्यमा सरकार, प्रशासन बाहेक नागरिकको पनि जिम्मेवारी रहन्छ। मुख्यतः उत्पादक र उपभोक्ता केन्द्रित व्यवस्थापन पद्धति अपनाइनु बुद्धिमानी हुनेछ।
फोहोर व्यवस्थापनबारे अन्तर्राष्ट्रिय सात बुँदा यस्ता छन्:
१. रिड्युस: चाहिने सामानको खपत मात्रा घटाउने
२. रिसाइकल: पुनर्निर्माण गर्ने
३. रियुज : पुनःप्रयोगको अभ्यास गर्ने
४. रिफ्युज : दिगो नहुने उत्पादनलाई अस्वीकार गर्ने
५. रिथिङ्क : उत्पादन सामग्री लिंदा पुनर्विचार गर्ने
६. रिपेयर : नयाँ किन्नुको सट्टा उत्पादनहरू मर्मत गर्ने
७. रिपर्पस : बिग्रेका सामानका काम लाग्ने पार्टपुर्जालाई नयाँ उत्पादनमा प्रयोग गर्ने
यी बुँदाका आधारमा हामी प्लास्टिकजन्य पदार्थलाई पुनःप्रशोधन र पुनःप्रयोग गर्न सक्छौं। जुन मर्मत गर्न सकिँदैन तिनलाई ऊर्जाको रूपमा (तेल, ब्रिकेट) आदि बनाउन सकिन्छ। सडक बनाउने कालोपत्रमा समय प्लास्टिकजन्य फोहोरलाई प्रयोगमा ल्याउन सकिन्छ। केही प्लास्टिक चाहिं पुनःप्रयोगमा नआउने भएकाले तिनलाई उच्च तापक्रममा नष्ट गर्नुपर्ने हुन्छ। त्यसबाट निस्केको तापलाई भने विद्युतीय ऊर्जामा बदल्न सकिन्छ।
त्यसै गरी विद्युतीय सामग्रीलाई पनि फालिहाल्नुभन्दा मिलेसम्म मर्मत गरिरहने, राम्रा पार्टपुर्जालाई अर्को सामान बनाउन प्रयोग गर्ने उपाय अपनाउनुपर्छ। पुनःप्रयोगमा ल्याउनै नसकिने अवस्था भए त्यसमा रहेका बहुमूल्य धातुलाई विभिन्न प्राविधिक तथा रासायनिक पद्धति अपनाएर निकाली बाँकी रहेका विषाक्त वस्तुलाई निर्मलीकरण विधिबाट विसर्जन गर्नुपर्छ।
प्लास्टिक र विद्युतीय फोहोर मान्छेकै कारण भित्रिएकाले यिनको व्यवस्थापनको जिम्मा पनि हाम्रै हो। अहिलेको जमानामा प्रविधिको प्रयोगबाट कसैलाई वञ्चित गर्नु जायज होइन, तर यससँगै निम्तिने समस्याहरूलाई सही नीति-नियम तर्जुमा गर्दै व्यवस्थित गर्ने दायित्वबाट पनि राज्य पन्छिन मिल्दैन।
(विद्युतीय फोहोरको असर विषमा विद्यावारिधि गरेकी गिरी त्रिचन्द्र क्याम्पसको रसायनशास्त्र विभागकी उपप्राध्यापक हुन्।)