कसरी सहज बनाउने मृत्यु संस्कार?
आफन्तजनको मृत्युपछि अनेक क्रियाकलाप गर्न जोड दिनुभन्दा जिउँदो छँदै सहज जीवन यापनको वातावरण बनाउने, उनीहरूको इच्छा पूरा गर्ने, माया, सम्मान तथा सद्भाव प्रकट गर्ने संस्कार विकास गर्न जरुरी छ।
सामाजिक सञ्जालमा पढेको एउटा कविताले मलाई साह्रै प्रभावित बनायो। कविले मृत्युपश्चात् आफ्नो शवलाई यस्तो गरिदिए हुन्थ्यो आशय छ।
हाद्जी केलेन इब्राहिमको कविता सामाजिक सञ्जालमा ‘पोइट्स एन्ड राइटर्स’ समूहले सेयर गरेको थियो। कविताको भाव यस्तो छः
म फेरि बाँच्नेछु
जब मेरो मृत्यु हुनेछ
कृपया मलाई कफिनभित्र नराख्नु
मेरो मृत शरीरको हातमा
बीज राखेर गाड्नु
गहिरो खाल्डो खन्नू
र यसैभित्र मेरो शरीर राख्नू
मलाई माटोको कम्बल ओढाइदिनु।
वर्षा मेरो पोषण होस्
जब मेरो शरीर सड्न थाल्नेछ
मेरो हातमा रोपिएको बीजद्वारा
म फेरि जन्मिनेछु
मेरा जराहरु जमिनको भित्री भागसम्म फैलिनेछन्
रुखको खाँबो आकाशमा पुग्नेछन्
हाँगाविँगा पृथ्वीको पर क्षितिजसम्म पुग्नेछन्
ब्रह्माण्डले मलाई फेरि स्वागत गर्नेछ
घामका किरण ममाथि खस्नेछन्
एक पटक म फेरि जीवनको अनुभव गर्नेछु
म फेरि बाँच्नेछु।
संसारमा जति पनि प्राणी छन् ती सबैको मृत्यु अवश्यंभावी छ भन्ने प्रकृतिको नियमलाई कविताले उजागर गरेको छ। प्राणीमध्ये पनि मानव मात्र त्यस्तो प्राणी हो जसले आफ्नो मृत्यु हुन्छ भन्ने बोध गर्छ।
त्यसैले उसले मृत्युलाई पनि संस्कार दिएर मृतकप्रति सहानुभूति राख्छ। वर्षौंसम्म मृतक सम्झेर रुन्छ। भावुक हुन्छ र उनीहरुको गुनको बखान गरिरहन्छ।
मृत्यु संस्कार देश, समाज र संस्कृति अनुसार फरक-फरक हुन्छ। तर, शोकको अनुभव र दुःख भने संसारभरका मृतकका आफन्तलाई उस्तै हुँदो हो। त्यसैले केही संस्कृतिका भाष्य अनुसार मृत्यु संस्कार मानिसका जीवनका कठिन समयलाई सामना गर्ने र विगतलाई छोडेर अगाडि बढ्ने प्रक्रिया भन्ने बुझ्न सकिन्छ।
मृत्यु संस्कारका भिन्न सामाजिक मूल्य मान्यता भए पनि समग्रमा मृतकप्रति र उनीहरूका आफन्तप्रति समुदायका अरू व्यक्तिले देखाउने सद्भाव र दुःख पीडाका घडीलाई पार लगाउने अर्थमा समान नै मानिन्छन्।
मध्य पूर्वमा रहेका जिविस धर्मावलम्वीले मृतकको शवलाई गाड्छन्। शव गाडिसकेपछि गोलबद्ध भएर खानेकुरा खाइन्छ। यसरी गोलाकार बसाइले परिकारको आशा तथा जीवन तथा मृत्युको पूर्ण घेरालाई प्रतिविम्बित गर्छ। यस धर्म परम्परामा सात दिने मृत्यु शोकलाई पच्छ्याइन्छऽ जसलाई सिवा भनिन्छ। साथी समूह, छिमेकीले परिवारलाई सहयोग गर्छन्। सिवाको सेभेन डेजलाई सिवा भनिएको हो। यो समयमा भेट गर्न आउनेहरू जुनसुकै वेला पनि मृतकको आफन्तलाई भेट्न आउन सक्छन्।
जुडियस धर्ममा पनि शोकसन्तप्त परिवारका सदस्यहरूले शोकको अवधिभर होचो कुर्सी या भुइँमा बस्ने, छालाको जुत्ता नलगाउने, ऐनालाई छोप्ने, एक वर्षसम्म भोजभत्तेरमा नजाने, संगीत तथा साथीभाइको भेटघाटमा नजाने चलन छ। यस धर्ममा मृतकलाई सम्मानपूर्वक बिदाइ गर्ने परम्परा छ।
बौद्ध परम्परामा मृतकको शवलाई मृत्यु भएको एक हप्ताभित्र गाड्ने चलन छ। भेट्न आउनेहरू मृतकका आफन्तले अन्त्येष्टी कर्म गरिसकेपछि मात्र आउँछन्।
इस्लाम परम्परामा मृतकको अन्त्येष्टीमा रुने, कराउने कार्यलाई निरुत्साहित गरिन्छ। जम्मा तीन दिनको अन्त्येष्टी प्रक्रिया हुन्छ, तर मृतकको पत्नीले भने चार महीना दश दिनसम्म मृत्यु संस्कार पच्छ्याउनु पर्छ। नातेदार, छरछिमेकी, साथीभाइले मृतकका परिवारमा खानेकुरा ल्याएर सहयोग गर्छन्।
क्रिस्चियन धर्म परम्पराअनुसार मृतकको शरीरलाई अन्त्येष्टी घरमा राखिन्छ। गाड्ने परम्परालाई पछ्याउँदै चलन अनुसारको परिकार पाहुनालाई दिइन्छ। भेटघाट हल्लाखल्लामय हुन्छ। जसलाई अपमानजनक रुपमा नलिई मृतकको जीवनको उत्सव मनाएको रुपमा लिइन्छ। यसबाहेक पनि थुप्रै जातजाती, संस्कृतिभित्र थुप्रै मृत्यु संस्कार प्रचलित छन्।
जुन पितृदोषले मानिस त्रसित छ ती लक्षणहरु हाम्रा गरिबी, चेतनाको कमी, सेवाको पहुँच नहुँदा आइलागेका दुर्घटना हुन्। यी कुरा हाम्रा सामाजिक र व्यक्तिको चेतना तथा आर्थिक विकाससँगै परिवर्तन हुँदै जाने हुन्।
हिन्दू धर्ममा मृत्यु संस्कार
हिन्दू धर्ममा मृत्यु संस्कारलाई विशिष्ट तरिकाले अवलम्बन गरिन्छ। १३ दिने काजकिरिया, मासिक श्राद्ध तथा वर्षेनी मृतकको नाममा गरिने श्राद्ध मृत्यु संस्कारका कर्म हुन्।
किरिया अवधिमै शोकाकूल परिवारले गरुड पुराण सुन्ने चलन छ, जुन विष्णु पुराणका १८ पुराण मध्येको एक हो। यस पुराणका अनुसार मानिस मृत्युको अवस्थामा पुग्दा बोल्न चाहन्छ, तर बोल्न सक्दैन। केही समयपछि उसको बोल्ने, सुन्ने शक्ति हराउँछ। त्यतिवेला उसको शरीरबाट आत्मा औंलामा पुग्छ जसलाई यमदूत आएर यमलोकमा लैजान्छ।
यमदूतले मृत आत्मालाई नर्कको दुःखबारे बताउँछ। यमदूतको यस्तो कुरा सुनेर आत्मा चिच्याएर रुन थाल्छ। यमलोक पुग्ने बाटो अत्यन्तै कठिन हुन्छ। तातो हावा, तातो बालुवा, भोक, तिर्खा कति कति। त्यो आत्मा घरिघरि लड्छ, बेहोस हुन्छ। यसरी आत्मा यमलोक पुग्छ।
यदि आत्मा सफल भयो भने पुनः जिवात्मामा प्रवेश गर्ने अनुमति पाउँछ। तर, जब मृतात्मा पुनः शरीरमा पस्न खोज्छ, यो वेलामा पनि यमदूतले अनेक परीक्षा लिइरहन्छन्।
यो अवधिमा यदि मृतकका आफन्तले पिण्ड दान गरेनन् भने त्यो आत्मा भूतप्रेत बनेर मरुभूमिमा भौंतारिइरहन्छ भन्ने विश्वासमा मृत्यु भएको १० दिनसम्म मृतकका आफन्तले पिण्डदान गर्छन्। यी त भए गरुड पुराणभित्रका मृतआत्मा सम्बन्धी कुरा।
त्यस्तै, मृत्युवरण गरेका पितृहरूका लागि नेपाल तथा भारतका विभिन्न शक्तिपीठमा शतविज छर्ने चलन छ। मृतकलाई स्मरण गर्दै प्रत्येक वर्ष वालाचतुर्दशीका दिन सत्बिज छरेर र दीप प्रज्ववलन गर्दै रातभर जाग्राम बसेर आफ्ना गुमाएका प्रियजनहरूको स्मरण गर्ने चलन सकारात्मक नै छ।
पृथ्वीमा छरिएको शतबीज पितृको लोकमा गएर अंकुरण हुने र यिनै बीजका कारणले पितृहरु कहिल्यै भोकै बस्नु पर्दैन भन्ने विश्वास गरिन्छ।
मृत्यु संस्कारका भिन्न सामाजिक मूल्य मान्यता भए पनि समग्रमा मृतकप्रति र उनीहरूका आफन्तप्रति समुदायका अरू व्यक्तिले देखाउने सद्भाव र दुःख पीडाका घडीलाई पार लगाउने अर्थमा समान नै मानिन्छन्।
मृत्यु संस्कारका भिन्न सामाजिक मूल्य मान्यता भए पनि समग्रमा मृतकप्रति र उनीहरूका आफन्तप्रति समुदायका अरू व्यक्तिले देखाउने सद्भाव र दुःख पीडाका घडीलाई पार लगाउने अर्थमा समान नै मानिन्छन्।
पितृदोषको चलन पनि समाजमा दह्रो गरी गडेको विश्वास छ। यसका लक्षणमा परिवारका सदस्य निरन्तर बिरामी हुनु, वंश रोकिनु, सन्तान जन्मने बित्तिकै मृत्यु हुनु, मानसिक अशान्ति, व्यापारमा घाटा, विवाहमा अवरोध, दुर्घटना, खराब सपना, काम बिग्रनुलाई यसका उदाहरणका रुपमा लिने गरिन्छ। र, पितृदोषका निवारणका उपाय पनि सुझाइएका छन्, जसमा पिण्ड दान, सर्पपूजा, ब्राह्मणलाई गोदान, कुवा, इनार बनाउने, मन्दिर परिसरमा पिपल र वर रोप्ने, विष्णु मन्त्रको जप गर्ने आदि बताइएको छ। ब्राह्मणलाई खुवाइको भोजन सिधै पितृसम्म जान्छ भन्ने मान्यता छ। यी उपायमा पनि ईनार, कुवा बनाउने, वरपीपल रोप्ने कार्य समुचित नै लाग्छन्।
मानिसले अग्रज या प्रियजनको मृत्युलाई श्रद्धा भाव त गरि नै हाल्छ। यो भन्दा बढी हाम्रा सामाजिक मूल्य मान्यता तथा मनोविज्ञान चाहिँ श्राद्ध गरेर र पिण्डदान गरेपछि ती मृतकका आत्माले भेट्टाउँछन् भन्नेमै केन्द्रित छ।
सम्भव छैन मृत्युअघि सद्भाव?
जुन पितृदोषले मानिस त्रसित छ ती लक्षणहरु हाम्रा गरिबी, चेतनाको कमी, सेवाको पहुँच नहुँदा आइलागेका दुर्घटना हुन्। यी कुरा हाम्रा सामाजिक र व्यक्तिको चेतना तथा आर्थिक विकाससँगै परिवर्तन हुँदै जाने हुन्।
मृत्युले मानिसलाई एकाकार बनाउँछ नै तर समाजमा जिवित छँदा सहज जीवनयापन गर्ने विषयमा सहकार्य र सहयोग, माया र सद्भावको कमि पनि देखिन्छ। समाजमा यस्ता थुप्रै सक्षम परिवार छन्, जसले ज्येष्ठ या अस्वस्थ सदस्यलाई सहयोग र हेरचाह गरेका छैनन्। अर्कोतिर अभावका कारण पनि ज्येष्ठ या अस्वस्थ सदस्यलाई खानपान, औषधीमूलो अनि माया र सम्मान दिन सकिरहेका छैनन्।
बाँचिरहेका मान्छेलाई आफन्त गुमाउनुको पीडा त छँदै छ, त्यसमाथि मृत्यु संस्कारमा पनि निकै दुःखजिलो र आर्थिक, सामाजिक बोझ थपिन्छन्।
यसरी सेवा दिनुपर्ने सदस्यप्रति वैरभाव पनि उत्तिकै राखेको देख्न सकिन्छ। पारिवारिक सम्बन्ध नै तिक्ततापूर्ण बनाएर बसेका पनि हाम्रो समाजमा कयौं छन्। तर, जब ती परिवारका सदस्यको मृत्यु हुन्छ, बडो सतर्कताका साथ मृत्युसंस्कार लगायत प्रत्येक वर्ष होशियारीपूर्वक श्राद्ध गर्ने र पितृदोषबाट मुक्त हुन खोजिरहने मनोभाव देखिन्छ।
एक मित्र भन्छन्- म धामी, बोक्सी, जातपात त मान्दिन तर यो श्राद्ध चाँहि एकदम नियमपूर्वक गर्नुपर्छ भन्ने लाग्छ। यो सब हुनुमा उही गरुड पुराण, यमराज, सजाय, आत्माको प्रभाव हुनुपर्छ।
जिवित छँदै मृत्युपछि सम्झेजस्तै मानवीय सम्बन्धलाई प्रगाढ बनाउन सकिए, मानवका विविधतालाई सहअस्तित्वको रुपमा स्वीकार्न सके मृत्युपछिका पितृदोषको भयबाट बच्न सघाउ गर्थ्योहाेला।
समाजशास्त्री डोरबहादुर विष्ट लिखित पुस्तक ‘भाग्यवाद र विकास’को एक शीर्षकमा लेखिएको छ- शिक्षालाई बौद्धिक सामर्थ्य अथवा प्राविधिक सीप प्राप्त गर्ने माध्यमको रुपमा नभई अर्को किसिमको संस्कारगत आचरणका रुपमा हेरिन्छ। शिक्षित भएपछि केही विद्यार्थीको विश्व दृष्टिकोणमा परिवर्तन आउन सक्छ र अन्तरसांस्कृतिक प्रभावबाट भौतिक लक्ष्यप्राप्तितर्फ उन्मुख हुने विचारको विकास हुन सक्छ। तर, नेपालमा शिक्षाप्रतिको आमधारणा यस्तो छैन। जुनसुकै तहको शिक्षा प्राप्त गरेता पनि व्यक्तिको दिलमा तहगत समाजको भाग्यवादी अवधारणा गाडिएको हुन्छ र यसैले उसको निजी व्यवहारलाई निर्देशित गर्दछ।
कतिपय अवस्थामा यो पितृ, आत्मा लगायतका परिकल्पना र विश्वास अनि मृत्युलोकको भय पनि माथि उद्धृत गरिएका प्रसङ्ग जस्तै भागभोगमै अल्झिएका कुरा हुन्। सहज सामाजिक जीवनयापन गर्ने विषयमा छलफल गर्ने, अभ्यास गर्ने, राज्यलाई झक्झक्याउने र जिवित छँदै एकप्रकारको भयरहीत र शान्तिपूर्ण जीवनयापनको अभ्यासतिर पनि कदम चाल्नु आवश्यक छ।
प्रिय आफन्तजनलाई उनीहरूका सुकार्य तथा मायाको आधारमा सम्झना गर्दा हाम्रो मनस्थिति अझ बलिया हुन्छ। मृतकको आत्मा कहाँ बस्छ, श्राप पो दिन्छ कि भन्नु भन्दा पनि मृत्युशोकको अवधिमा नै पनि मृतकको सम्झनामा विरुवा लगाउने, दीप प्रज्ज्वलन गर्ने, मृतकका नाममा प्रेमभावका पत्र लेख्ने, कलाको सिर्जना गर्ने, मृतकका गहना या पहिरनहरू लगाउने, मृतकको मनपर्ने खाना बनाउने, मनमनै मृतकले गरेका असल कार्यबारे स्मरण गर्ने गर्दा पनि मृतकप्रति सम्मान र बाँचिरहेका प्रियजनहरुलाई पीडा भुलेर अगाडि बढ्न मद्दत नै पुर्याउँछ।
तर, जीवन अवधिभरको समयलाई सभ्य, सम्मान, सुसंस्कृत ढंगले अगाडि बढाउनुले बढी महत्त्व राख्छ। बाँचिरहेका मान्छेलाई आफन्त गुमाउनुको पीडा त छँदै छ, त्यसमाथि मृत्यु संस्कारमा पनि निकै दुःखजिलो र आर्थिक, सामाजिक बोझ थपिन्छन्। मृत्यु संस्कारलाई सहज बनाउने तर सबै तहका मानिस जीवन बाँच्ने कुरा चाँहि कसरी व्यवस्थित र सम्माजनक हुनसक्छ भन्ने सोच्नुपर्छ। हामी आगामी दिनमा केमा बढी लक्षित हुने भाग्यवाद, आत्मावाद या मानवतासहितको समानतावाद र समतावाद? मृत्यु संस्कारभित्रैबाट पनि यी प्रश्नका उत्तर खोजिनुपर्ने देखिन्छ।