बाघ गणनाका लागि राखिएका १७ क्यामरा चोरी
बाघ गणनाका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा राखिएका १७ क्यामरा चोरी भएका छन्।
बाघ गणना गर्दा एक स्थानमा करीब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ।
दुवै निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रबिन कडरियाले बताए।
उनका अनुसार एक नम्बर ब्लकमा नौ , दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ। त्यस्तै, ६ वटा क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ। एउटा क्यामेराको मूल्य रु. ४० हजार पर्छ।
पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्छ। चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने कडरियाले जानकारी दिए।
निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी सिकारीले क्यामेरा चोरी गर्ने गरेको उनको भनाइ छ। अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत २९ मंसीरबाट बर्दिया र बाँकेका लागि बाघ गणना शुरू गरेको थियो। सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको प्रमुख संरक्षण अधिकृत शाहले बताए। (रासस)