पश्चिमी वायुका कारण हावाहुरीसहित वर्षा हुने
पश्चिमी वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वमा बनेको न्यून चापीय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाले बताएकाे छ। सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भागको केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
सोमबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको छ ।