क्रिप्टोकरेन्सीको कारोबारमा नलाग्न राष्ट्र ब्यांकको आह्वान
नेपाल राष्ट्र ब्यांकले क्रिप्टोकरेन्सीको कारोबारमा नलाग्न सर्वसाधारणलाई आह्वान गरेको छ।
क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी दिन मंगलबार गर्भनरको कार्यालयले सूचना जारी गरी सचेत गराएको हो। छोटो समयमा उच्च प्रतिफल आउने प्रलोभनमा परेर यसको कारोबारमा लाग्न नहुने राष्ट्र ब्यांकले जनाएको छ।
यससँगै ब्यांकले स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको पाइएको जनाएको छ। यसले कानूनी कारबाही हुनसक्ने तर्फ ब्यांकले सचेत गराएको छ।
सूचनामा ‘छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानूनी झन्झट आउन सक्ने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन’ आह्वान गरिएको छ।