सुदूरपश्चिममा ३५० मेगावाट सौर्य ऊर्जा उत्पादनको अध्ययन गरिने
लगानी बोर्डले ३५० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनको सम्भावना अध्ययनका लागि अनुमति दिएको छ।
मंगलबार बसेको बोर्डको ४९औं बैठकले रु. २३ अर्ब लागतको यो परियोजनाको सम्भाव्यता अध्ययनका लागि सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिएको हो। यो कम्पनीले डोटीको दिपायल सिलगढी नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकामा क्रमशः १२५ र २२५ मेगावाटको सौर्य ऊर्जा उत्पादनका लागि अध्ययन गर्ने प्रस्ताव गरेको छ।
त्यसैगरी, बोर्डको बैठकले भारतीय लगानीको कम्पनी डाबर नेपाल प्रालिको क्षमता अभिवृद्धि र उत्पादन विविधिकरणका लागि रु. ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार लगानी स्वीकृति गरेको छ। बोर्डको स्वीकृतिपछि भारतीय कम्पनी डाबरलाई नेपालमा थप लगानीको बाटो खुलेको छ।
बैठकले निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण (बुट) मोडलबाट तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभीएन लिमिटेडले पेश गरेको प्रारम्भिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।