कलेजो प्रत्यारोपणमा चितवन मेडिकल कलेजकाे कमाल
शिक्षण अस्पताल काठमाडौंले तीन वर्षमा ६ जना र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले ६ वर्षमा ६ जनामा कलेजो प्रत्यारोपण गरेको छ। सीएमसीले भने एक वर्षमै ६ जनाको कलेजो प्रत्यारोपण गर्न सफल भएको हो।
जाजरकोटको कुशे गाउँपालिकाका ४७ वर्षीय भरतविक्रम शाहीले कलेजो प्रत्यारोपण गराएको सात महीना पुग्यो। श्रीमती कमलादेवीसँग ‘क्रस म्याच भेरिफिकेशन’ भएपछि गत साउनमा भरतको कलेजो प्रत्यारोपण गरिएको हो।
कलेजो प्रत्यारोपण गराएका उनीहरू दुवैको स्वास्थ्य सामान्य छ। उनीहरूका छोरा गणेशविक्रम शाहीका अनुसार, भरत र कमलादेवी दुवै आआफ्ना नियमित काममा फर्किसकेका छन्। नियमित फलोअप भइरहेको गणेश बताउँछन्।
शुरूमा गणेशले बुबाको उपचार काठमाडौंमा गर्न चाहेका थिए। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको पालो पाउन केही महीना कुर्नुपर्ने भयो। लामो समय प्रत्यारोपण नगर्दा स्वास्थ्य थप जटिल हुने निश्चित थियो। चिकित्सकहरूले पनि धेरै ढिलो भएमा कलेजो प्रत्यारोपण गर्न नमिल्ने अवस्थामा पुग्ने भनेर सम्झाइरहेका थिए।
त्यति वेला भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) मा भर्खर भर्खर कलेजो प्रत्यारोपण शुरू भएको थियो। त्यसअघि त्यहाँ अर्का एक जनाको कलेजो प्रत्यारोपण भएको थियो। गणेश भन्छन्, “एउटा कलेजोको सफल प्रत्यारोपण भइसकेकाले पनि बुबाको कलेजो प्रत्यारोपण त्यही गर्ने निर्णय गर्यौं।”
एक वर्षमा ६ जनामा प्रत्यारोपण
चितवन मेडिकल कलेजमा पछिल्लो पटक गत पुसमा धनगढी उपमहानगरपालिका-१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो। उनलाई ३२ वर्षका भाइ कृष्णले कलेजो दान दिएका थिए। सीएमसीले अहिलेसम्म ६ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ।
अहिले देशभरि जम्मा तीन वटा स्वास्थ्य संस्थामा कलेजो प्रत्यारोपण हुन्छ। काठमाडौं उपत्यका बाहिर भने कलेजो प्रत्यारोपण गर्ने सीएमसीले मात्रै हो। यहाँ पुस २०७७ बाट कलेजो प्रत्यारोपण गर्न थालिएको हो। कलेजो प्रत्यारोपण गरिएकामध्ये एक जनाको शल्यक्रियापछि मृत्यु भएको थियो।
सीएमसीका शल्य चिकित्सक डा. सञ्जयकुमार यादवका अनुसार, प्रत्यारोपण गराएका पाँच र कलेजो दाता ६ जनाको अवस्था सामान्य छ। डा. यादवले हिमालखबरसँग भने, “अहिले थप दुई जना प्रत्यारोपण गराउन जाँचका क्रममा छन्।”
नेपालमा अहिलेसम्म १८ जनाको कलेजो प्रत्यारोपण गरिएको छ। तीन वर्षमा शिक्षण अस्पताल महाराजगञ्जले ६ जना र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले ६ वर्षमा ६ जनामा कलेजो प्रत्यारोपण गरेको छ।
सीएमसी भने एक वर्षमै ६ जनाको कलेजो प्रत्यारोपण गर्न सफल भएको हो। चिकित्सकहरूका अनुसार, कलेजो प्रत्यारोपणका लागि दाताबाट कलेजो झिक्न करीब ८ घण्टा र बिरामीमा प्रत्यारोपण गर्न १० देखि १५ घण्टा समय लाग्ने गर्छ। दुवैको शल्यक्रिया सँगसँगै तर फरक फरक अप्रेशन थियटरमा गरिन्छ। त्यसका लागि चिकित्सक, एनेस्थेसियोलोजिस्ट, नर्स लगायतको १५ देखि २० जनाको टीम खट्नुपर्छ।
डा. यादव पर्याप्त पूर्वाधार, अस्पताल व्यवस्थापन पक्षको सहयोग र आवश्यक टिमको व्यवस्थाले कलेजो प्रत्यारोपण सम्भव भएको बताउँछन्। सीएमसीमा अहिलेसम्म गरिएको सबै प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका चिकित्सकको समेत सहभागिता छ। हरेक प्रत्यारोपणमा चिकित्सक सहित ६ जनाको टीम सहभागी भएको डा. यादवले बताए।
भारतको मेदान्तकै टीम
चिकित्सकको समूहले स्थापना गरेकाे भएर चिकित्सा शिक्षासँगै स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्य अनुसार नै कलेजमा कलेजो प्रत्यारोपणलाई प्राथमिकता दिएर सेवा शुरू गरिएको सीएमसीका प्रबन्धक निर्देशक डा. हरिशचन्द्र न्यौपाने बताउँछन्। मुटुको सर्जरी, क्यान्सरको उपचार र अङ्ग प्रत्यारोपण गर्नका लागि भारत जाने बाध्यता भएकाले त्यो बाध्यता हटाउन कलेजमा क्रमैसँग उपचार सुविधा विस्तार गरिएको उनको भनाइ छ।
डा. न्यौपानेले भारतको मेदान्त, एपोलो जस्ता अस्पतालमा जाँदा जटिलभन्दा जटिल रोगका सर्जरी गर्ने नेपाली चिकित्सक भेटेका थिए। त्यो वेला उनलाई स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सके त्यस्ता सर्जरी नेपालमै गर्न सकिने विचार पलायो। “अलिकति लगानी थपे धेरै नेपालीको भारत जाने अवस्था अन्त्य हुन्छ भने हामी आफै किन शुरू नगर्ने भनेर योजना बनाएँ,” डा. न्यौपाने सुनाउँछन्।
चितवन मेडिकल कलेजमा डा. यादव सहित १२ जनाको टीम प्रत्यारोपणमा खटिने गरेको छ। डा. यादवले भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणमा सात वर्ष काम गरिसकेका थिए। उनीसँगै मेदान्त अस्पतालमा खटिने टीम नै चितवन मेडिकल कलेजमा आएर प्रत्यारोपण शुरू गरेको हो। कलेजमा रहेका प्रत्यारोपण युनिटका अन्य सदस्यलाई मेदान्त अस्पतालमा लगेर तालीम दिइएको डा. न्यौपाने बताउँछन्।
मेदान्तमा जेजस्तो प्रविधि र उपकरणको प्रयोग हुने गरेको थियो सोही प्रकारका उपकरणसँगै दक्ष जनशक्ति पनि अस्पतालमा ल्याइएकाले छोटो समयमा धेरै जनाको उपचार गर्न सकिएको उनको भनाइ छ।
कमाइ, अवसर र अन्य सेवासुविधाको हिसाबले चितवनमा भन्दा मेदान्तमा काम गर्नु डा. यादवका लागि फाइदा थियो। त्यहाँ उनी महीनामै २५ देखि ३० वटा कलेजो प्रत्यारोपण गर्थे। सात वर्ष काम गरिसकेपछि डा. यादवलाई नेपालमै केही गर्न पाए हुन्थ्यो भन्ने विचार आइरहेको थियो।
त्यही वेला डा. न्यौपानेसँग भेट भएपछि नेपाल आउने बाटो खुलेको उनी बताउँछन्। “नेपालमै केही गरौं भन्ने सोचले यहाँसम्म ल्याइपुर्यायो,” उनी भन्छन्।
दाताको अभाव
चिकित्सकहरूका अनुसार, ७० देखि ८० प्रतिशतसम्म कलेजो खराब भएका व्यक्तिको स्वास्थ्य अवस्था हेरी कलेजो प्रत्यारोपण गर्न सकिन्छ। सामान्यतया मदिरा सेवन, पेटमा पानीको मात्रा बढी हुने जन्डिस भएका, मुखबाट रगतको बान्ता हुने बिरामीको कलेजो खराब हुने गरेको छ।
कलेजोका बिरामीको औपचारिक तथ्याङ्क नभए पनि चितवन मेडिकल कलेजको ओपीडीमा उपचारका लागि आउनेमध्ये दैनिक पाँचदेखि १० जनासम्म कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी हुने गरेको डा. यादव बताउँछन्।
नेपालमा अहिलेसम्म कलेजो प्रत्यारोपण गरिएका १६ जना मध्ये १५ जनामा जीवित दाताले दिएका कलेजो प्रत्यारोपण गरिएको छ। एक जनामा मात्र मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको थियो।
सीएमसीमा प्रत्यारोपण गराएकालाई छोरी, श्रीमती, दिदी र भाइ नाता पर्नेले कलेजो दान दिएका थिए। रगत समूह मिल्ने १८ देखि ४५ वर्षसम्मकाले कलेजो दान दिन सक्छन्। कलेजो प्रत्यारोपणका लागि उपयुक्त दाता नभेटिनु प्रमुख समस्या भएको डा. यादव बताउँछन्। कतिपय बिरामीले उपयुक्त दाता नभेट्दा कलेजो प्रत्यारोपण गर्न पाएका छैनन्।
दाताको समस्या हटाउन मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग लिएर प्रत्यारोपण गर्न सकिन्छ। उनका अनुसार, मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग दान दिनेबारे सचेतना आवश्यक छ। उनी भन्छन्, “मस्तिष्क मृत्यु भएकाको जलेर जाने अङ्गले धेरैको ज्यान बचाउन सकिन्छ, अङ्गदाताको समस्या केही हदसम्म समाधान हुन्छ।”
महङ्गो उपचार
चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपणका लागि १५ लाख रुपैयाँ शुल्क लिने गरेको छ। औषधि र अन्य खर्च गरी प्रत्यारोपणका लागि पाँचदेखि १० लाख रुपैयाँ बिरामीलाई थप खर्च लाग्ने गरेको छ। भारतमा गएर उपचार गराउँदाको भन्दा कमै शुल्क लाग्ने भए पनि सबै बिरामीले यति ठूलो रकम खर्च गरेर प्रत्यारोपण गराउन सक्दैनन्। कलेजो प्रत्यारोपणका लागि सरकारले कुनै सहुलियत व्यवस्था गरेको छैन।
कलेजो प्रत्यारोपणका लागि पनि अन्य दीर्घरोगमा जस्तै सरकारले बिरामीलाई आर्थिक सहयोग गर्नुपर्ने प्रबन्ध निर्देशक डा. न्यौपाने बताउँछन्। उनी भन्छन्, “मिर्गौला प्रत्यारोपणमा जस्तै कलेजो प्रत्यारोपणमा पनि सरकारले बिरामीलाई सहयोग गर्नुपर्छ।”