राजाका जग्गा प्रजालाई बिक्री/बन्धकी
प्राचीन कालमा राजाप्रजा दुवैका निजी जमीन हुने गरेको र गर्जाे टार्नुपर्दा राजाहरूले तिनै जमीन प्रजालाई बिक्री वा बन्धकी राख्ने गरेको ऐतिहासिक लिखतहरूले देखाउँछन्।
निश्चित भूभागमाथि आधिपत्य भएको मान्छे नै राजा कहलाउने चलन प्राचीन कालदेखि छ। यसैले होला, इङ्ल्यान्डको कानूनका नामी ऐतिहासिक फ्रेड्रिक विलियम मैट्ल्यान्ड (विसं १९०७-१९६१)ले ‘सबै जग्गाजमीन राजाको अधिकारमा हुन्छ, खनजोत गर्ने अधिकार भएको मान्छे त मोही हो’ भन्ने निष्कर्ष निकालेको (द कन्स्टिट्युशनल् हिस्टोरि अफ् इङ्ल्यान्ड्, केम्ब्रिज, सन् १९११, २४ पृ.)। यो त इङ्ल्यान्डको कुरा भयो। संस्कृतभाषामा राजा बुझाउनेमध्ये धेरै शब्द भूमिसँग सम्बद्ध हुनाले हाम्रा तिर पनि राजा र भूमिको अन्योन्याश्रित सम्बन्ध भएको स्पष्ट छ।
उदाहरणका लागि संस्कृतका कोषमध्ये प्राचीन र सबभन्दा प्रसिद्ध अमरकोषकै कुरा गरौं। त्यहाँ दर्ता भएका राजा बुझाउने सातवटा शब्दमध्ये चारवटा अर्थात् पार्थिव, क्ष्माभृत्, भूप र महीक्षित् भूमिसँग सम्बद्ध छन् (२।८।१)। नेपालकै कुरा गर्ने हो भने पनि, लिच्छविकालका अभिलेखमा राजा बुझाउन प्रयोग भएका शब्दमध्ये अवनिपति, अवनिभुक्, क्षितिपति, क्षितिभुक्, क्षितीश, पार्थिव, पृथिवीश्वर, भूनाथ, भूप, भूपति, भूभुक्, भूमिप, भूमिपति, भूमिपाल, भूमिभुक्, महीपाल र मेदिनीनाथ गरी १७ वटा शब्द भूमिसँग सम्बद्ध छन्।
भूमिमा यसरी राजाको आधिपत्य रहेको देखिए पनि त्यो कमसेकम भारतवर्षमा सैद्धान्तिक थियो। जैमिनिको मीमांसासूत्र (६।७।३) र त्यस उपर पाँचौं शताब्दीका शबरले लेखेको भाष्यको हवाला दिँदै धर्मशास्त्रका नामुद ऐतिहासिक पाण्डुरङ्ग वामन काणे (विसं १९३७-२०२९)ले लेखेको कुराको यहाँ चर्चा गर्नु प्रासङ्गिक होला (हिस्टोरि अफ् धर्मशास्त्र, २ ठेली, २ भाग, २ संस्करण, पूनाः भाण्डाकर प्राच्यविद्या संशोधन मन्दिर, सन् १९७४, ८६५-८६६ पृ.)।
विश्वजित् यज्ञ गर्दा जजमानले आफ्नो सारा सम्पत्ति दान गर्नुपर्छ, तर आफ्नो राज्यको पूरै भूमि पनि सार्वभौम राजाले दान दिन सक्दैन, किनभने भूमि साझ हो। जमीनमा सार्वभौैम राजाको जति अधिकार हुन्छ, त्यति नै अधिकार अरू मानिसको पनि हुन्छ। जमीनमा उब्जने अन्नपातको रक्षा सार्वभौम राजाले गर्ने हुनाले उब्जनीको कुनै हिस्सा पाउने मात्र उसको अधिकार हो, जमीनमाथि उसको अधिकार होइन, इत्यादि कुरा मीमांसासूत्र र शाबरभाष्यबाट बुझिन्छ।
सत्रौं शताब्दीका नीलकण्ठले आफ्नो निबन्धग्रन्थ व्यवहारमयूखमा अंशबण्डाको विषयमा लेख्दा मीमांसासूत्रको माथिको प्रकरणको व्याख्या गरेका छन्। उनी के लेख्छन् भने, ‘यसै कारणले सार्वभौम राजाले आफ्नो सबै पृथ्वी र माण्डलिकले मण्डल दान दिनु हुँदैन भनी मीमांसासूत्रको छैटौं अध्यायमा लेखिएको हो।
सबै पृथ्वीमण्डलका गाउँ र खेतको स्वाम्य भौमिक अर्थात् ती-ती भूमिका स्वामीको मात्र हुन्छ, राजाको काम त तिरो उठाउनु मात्र हो’ (पाण्डुरङ्ग वामन काणेद्वारा सम्पादित व्यवहारमयूख, पूनाः भाण्डाकर प्राच्यविद्या संशोधन मन्दिर, सन् १९२६, ९१ पृ.)। आफ्नो राज्यभित्र पर्ने सम्पूर्ण भूमिमा राजाको अधिकार नहुने कुरा यताबाट स्पष्ट हुन्छ। कुनै जमीनको मिल्कियत राजाको, कुनै जमीनको चाहिं व्यक्तिविशेषको हुने कुरा पनि यसबाट स्पष्ट भएको छ। यसको ठिक विपरीत राज्यका सबै जमीनमा राजाकै अधिकार हुन्छ भन्ने विचार पनि वेलाबखत चलेको स्मृतिविशेषबाट बुझिन्छ।
‘पुराना कल्याणधन अर्थात् जमीनमा गाडेर राखिएका धनमाल र जमीनभित्रका धातु पत्ता लागेपछि तिनको आधा हिस्सा राजाले पाउनुपर्छ, किनकि राजा रक्षक भएकाले उनी जमीनका सबभन्दा ठूला अधिपति हुन्’ भनी मनुस्मृति (८।३९)मा लेखिएको छ।
‘जमीन वा दिनुपर्ने अरू कुरा दिएपछि पछिपछिका राजालाई पनि त्यो कुरा थाहा दिन राजाले लिखत बनाउनू’ भनी याज्ञवल्क्यस्मृति (१।३१८)मा लेखिएको कुराको व्याख्या गर्दा आफ्नो मिताक्षरामा ‘जमीन वा दिनुपर्ने अरू कुरा दिंदा भोगपतिको अधिकार हुँदैन भनी याज्ञवल्क्यस्मृतिको यस वाक्यद्वारा देखाइयो’ भनी तेह्रौं शताब्दीका विज्ञानेश्वरले लेखेको कुरा त्यस्तो विचारको अर्को उदाहरण हो।
इङ्ल्यान्डका सन्दर्भमा सारा जमीनको मिल्कियत राजाको हुने हुँदा त्यही अनुकूलको भूमिव्यवस्था ब्रिटिश भारतमा लागू गर्न खोजिएकाले मनुस्मृति र मिताक्षराबाट माथि उद्धरण गरिएका जस्ता वाक्य समाती ‘खेती गर्ने जग्गा भारतवर्षको कानूनमा साधारणतया राजाको सम्पत्ति मानिएको छ’ (भिन्सेन्ट अर्थर स्मिथ, अर्लि हिस्टोरि अफ् इन्डिअ, ४ संस्करण, अक्स्फोर्डः क्लारेन्डन प्रेस, १३७-१३८ पृ.) भनी पाश्चात्त्य ऐतिहासिकहरूले लेखे। अर्कातिर, भारतीय ऐतिहासिकहरूले चाहिं राजा सिद्धान्ततः भूमिपति भए पनि आआफ्नो निजी जग्गाजमीन राख्ने अधिकार दुनियाँदारको रहेको भनी उल्लेख गरे।
नेपालका विषयमा पाश्चात्त्य भाषामा पहिलो सिङ्गो किताब रच्ने विलियम कर्कप्याट्रिक (विसं १८११-१८६९)ले नेपालको भूमिव्यवस्थाका सन्दर्भमा ‘पहिलेदेखि नै सबै जमीनका पूरापूर मालिक राजा मानिन्छन्’ (यान् अकाउन्ट् अफ् द किङ्डम् अफ् नेपाउल्, लण्डनः विलियम मिलर, सन् १८११, ८६ पृ.) भनी लेखेका छन्। यही कुराको अनुसरण अरू पश्चिमा र नेपाली ऐतिहासिकहरूले पनि गरेकाले वस्तुस्थिति बुझाउने कोशिश स्वरूप यो लेख कोरिएको छ।
राजा-प्रजाका आआफ्ना जमीन
नेपालमा पाइने प्राचीन अभिलेखमध्ये विसं ५६३ को शिलापत्रमा कुँदिएको सनद भूस्वाम्यका विषयमा विचार गर्नु ज्यादै उपयोगी छ। त्यस सनदद्वारा लिच्छवि राजा वसन्तदेव (राज्यकाल विसं ५६३-५९०)ले जयपल्लिका भन्ने गाउँ आफ्नी बहिनी जयसुन्दरीलाई बकस दिएका छन्।
त्यस गाउँमा बसोबास गर्ने ब्राह्मण लगायत बासिन्दा र सम्बद्ध अड्डाखानाहरूलाई सम्बोधन गरी लेखिएको सनदमा कर उठाउने कुनै सरकारी कर्मचारी र सैनिक पनि आइन्दा त्यहाँ आउन नपाउने गरी बहिनीलाई बकस दिइएको र त्यस गाउँबाट उठ्नुपर्ने तिरो अबदेखि बहिनीलाई नै सोझै बुझाउन भनिएको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, नेपाल र एशियाली अनुसन्धान संस्थान, २०३०ः२२ संख्या)।
राजा वसन्तदेवले बकस दिएको त्यो गाउँ उनको निजी सम्पत्ति रहेको र त्यहाँ बसोबास गरी खेतीकिसानी गर्नेहरूको हैसियत जग्गा कमाउने मोहीको मात्र रहेको कुरा हिजोसम्म राजालाई तिरो बुझाई आएकाहरूले अबदेखि त्यही तिरो तल्सिङ फेरिएकाले राजाकी
बहिनीलाई बुझाउनुपर्ने नियम बनेकोबाट स्पष्ट हुन्छ।
अर्कातिर लिच्छविकालमा सर्वसाधारणले आफूखुशी जग्गा गुठी राखेका दृष्टान्त समेत प्रशस्तै पाइएकाले यसबाट जग्गाजमीन दुनियाँदारको निजी सम्पत्तिको रूपमा पनि रहन्थ्यो भन्ने छर्लङ्ग हुन्छ। जग्गाजमीन राजाको मिल्कियतको मात्र हुन्थ्यो भने दुनियाँदारले गुठी राख्न सक्थेनन्।
‘प्रजा मोटा भया दरबार बलियो रहन्छ’ भनी पृथ्वीनारायण शाह (विसं १७७९-१८३१, राज्यकाल विसं १७९९-१८३१)ले भन्नुभन्दा निकै अगाडिदेखि नै प्रजा मोटा र राजा चाहिं दुब्ला भएका अर्थात् राजालाई ऋण दिन सक्ने, राजासँग जग्गा किन्न सक्ने वा राजाको जग्गा बन्धकी लिन सक्ने प्रजाहरू थिए भन्ने कुरा तात्कालिक लिखतहरूबाट थाहा हुन्छ। नेवार मल्ल राजाहरू गर्जो पर्दा आफ्ना जग्गाजमीन प्रजालाई बिक्री गर्थे त नेवार राज्यभन्दा पश्चिमपट्टिका राजाहरू त्यस्तै अवस्थामा आफ्नो जग्गा बन्धकी दिन्थे।
राजाले जग्गा बन्धकी राखी दुनियाँदारसँग पैसा लिने प्रथा गत शताब्दीसम्म चलेको थियो। राजाले बन्धकी दिने भएकाले समस्तपदमा पूर्वपद ह्रस्व हुने सामान्य नियम अनुसार बनेको ‘रजबन्धकी’ शब्द नेपाली भाषामा पहिले पहिले चलेको थियो।
यही प्रथालाई विषयवस्तु बनाई खास गरी तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन (विसं १८१५-१८६२, राज्यकाल विसं १८२७-१८३९)ले आफ्नो जग्गा बन्धकी दिएको विषयमा टुकराज (विसं १९६६-२०६०) - पद्मराज (विसं १९७१-२०३९) मिश्रले लेखेको, रजबन्धकी नाउँले विसं १९९६ मा प्रकाशित, लेखकको भाषामा ‘देशी उपन्यास’ को सम्झ्ना यस प्रसङ्गमा हुन्छ।
रजबन्धकीको तुलनामा राजाले दुनियाँदारलाई जग्गाजमीन बिक्री गरेका लिखत थुप्रै पाइन्छन्। यसमा आश्चर्य के छ भने त्यस्ता सबै लिखत नेवार मल्ल राजाका मात्र छन्। धेरैजसो लिखतमा के कति कारणले जग्गा बिक्री गर्नुपरेको हो भन्ने पनि खुलाइने भएकाले तात्कालिक अर्थव्यवस्था मात्र नबुझ्ईि विविध पक्षको स्थिति पनि स्पष्ट हुन्छ। ठूलठूला कामकाजमा मात्र होइन, दिनका दिनको खर्च टार्न, तलब बाँड्न सुद्धा जग्गा बेचिएको उदाहरण पाइएको छ।
धार्मिक र साङ्ग्रामिक प्रयोजनका लागि मात्र नभई छिमेकी देशका राजा आउँदा उनको स्वागत-सत्कारका लागि कोठा उठाउन पनि जग्गा बेचेको देखिएको छ। अझ् हात्तीखेदा गर्न, कसैलाई बकस दिन, नाच नचाउन, घोडा पाल्न इत्यादि कामका लागि पनि मल्ल राजाहरू जग्गा बिक्री गर्थे भन्ने कुरा तात्कालिक लिखतहरूबाट थाहा पाइन्छ। मल्ल राजाहरूले जग्गा बिक्री गरी खर्च चलाएको विषयमा मैले एकाधपटक लेखिसकेको छु (उदाहरणका लागि, ‘नेवारराज्यमा ब्राह्मण-२ वटा थप पत्र’, पूर्णिमा, १२६ पूर्णाङ्क, २०६४, १०९-११३ पृ.)।
आफ्ना जग्गा दुनियाँदारलाई बन्धकी दिएर राजाका तर्फबाट लेखिएका त्यस्ता लिखत अरू राज्यका पनि होलान्, मेरो आँखामा भने लमजुङ, गोरखा, तनहुँ, पाल्पा, गुल्मी, प्यूठान र पर्वत गरी सात राज्यका लिखत परेका छन्।
मैले सम्झेसम्म रजबन्धकीको पहिलो दृष्टान्त लमजुङका राजा केहरिनारायण शाहको विसं १७४१ को लिखतमा पाइएको छ। ती राजाले खेत र घडेरी बन्धकी राखी एक जना उपाध्याय बाहुनसँग २४ सय रुपियाँ सापट लिएको कुरा त्यस लिखतमा छ (रामजी तेवारी आदि, ऐतिहासिक पत्रसंग्रह, २ भाग काठमाडौंः नेपाल सांस्कृतिक परिषद्, २०२१, १६-१७ पृ.)।
अर्को, गोरखाका राजा पृथ्वीपति शाह (निश्चित राज्यकाल विसं १७३४-१७७३)ले विसं १७५९ मा घडेरी सहितको खेत बन्धकी राखी एक जना बाहुनसँग आठ सय रुपियाँ सापट लिएको बेहोरा भएको लिखत हो। आठ सय रुपियाँमध्ये ६६० रुपियाँ १० वर्षपछि तिरेको कुरा उक्त लिखतको पछाडिपट्टि लेखिएको छ। त्यति ऋण १० वर्षपछि पनि पूरै चुक्ता गर्न नसकेकाले गोरखा राज्यको कमजोर अर्थस्थिति ल्किन्छ (दिनेशराज पन्त, गोरखाको इतिहास, ३ भाग, काठमाडौंः प्रकाशक आफैं, २०४५ः७२८-७२९ पृ.)।
हुन त गोरखाका राजाले प्रजासँग लेनदेन गरेको यो पहिलो उदाहरण होइन, किनभने पृथ्वीपतिका बाबु रुद्र शाह (निश्चित राज्यकाल विसं १७२३-१७३०)ले एक उपाध्याय बाहुनसँग १२० रुपियाँ कर्जा लिएको लिखत पाइएको छ। तर, त्यो कर्जा छोराले जस्तो जग्गा बन्धकी राखेको नभई ब्याज तिर्ने शर्तमा लिइएको थियो (ऐतिहासिक पत्रसंग्रह, २ भाग १०-११ पृ.)।
प्रजासँग सापटी
अरू राजाका दाँजोमा तनहुँका राजाहरूले जग्गा बन्धकी राखी पैसा सापट लिएका लिखत बढी पाइएका छन्। त्यस्ता १३ वटा लिखत पाइएकोमा त्रिविक्रम सेनका मात्र ६ वटा छन्।
विसं १८०० मा धौलाडी थरका एक जनालाई घडेरी समेतको खेत बन्धकी राखी ३६७ रुपियाँ (महेशराज पन्त, ‘तनहूँका राजा त्रिविक्रम सेनका दश अप्रकाशित पत्र’, पूर्णिमा, ५२ पूर्णाङ्क, २०३९, ४७-४८ पृ.), विसं १८०९ मा एक जना अचार्ज बाहुनलाई १८० मुरी खेत बन्धकी राखी ९०० रुपियाँ (उही, ४८ पृ.), विसं १८१५ मा एक जना पन्थ बाहुनलाई खेत बन्धकी राखी ९८१ रुपियाँ (उही, ४८ पृ.), विसं १८२० मा काजी हुने गुणानन्द पन्थलाई विसं १८१६ मा खेत बन्धकी राखी ७४३ रुपियाँ (उही, ४९ पृ.), विसं १८१७ मा एक जना पण्डित थरका बाहुनलाई १६० मुरी खेत बन्धकी राखी ६०१ रुपियाँ (उही, ४९ पृ.) र विसं १८२१ मा एक जना पोखरियालाई खेत बन्धकी राखी ३३० रुपियाँ पाँच दाम (उही, ५०-५१) राजा त्रिविक्रमले सापट लिएको बुिन्छ।
त्रिविक्रमका छोरा कामारिदत्तले विसं १८२७ मा तिनै गुणानन्दलाई एक हजार माटो खेत बन्धकी राखी ३६०१ रुपियाँ सापट दिएको लिखत छापिएको छ (महेशराज पन्त, ‘तनहूँका राजा कामारिदत्त सेनका दुइ अप्रकाशित पत्र’, पूर्णिमा, ५३ पूर्णाङ्क, २०३९, १० पृ.)।
कामारिदत्तका भाइ हरकुमारदत्तका त्यस्ता ६ वटा लिखत प्रकाशमा आएका छन्। एक जना अचार्ज बाहुनलाई विसं १८३१ मा डिही र लगापात समेतको १२० मुरी खेत ५०४ रुपियाँमा (महेशराज पन्त, ‘तनहुँका राजा हरकुमारदत्त सेनका सातवटा अप्रकाशित पत्र’, पूर्णिमा, ५४ पूर्णाङ्क, २०३९, १९-२० पृ.), एक जना नहर्कीलाई विसं १८३३ मा घडेरी १३१ रुपियाँमा (उही, २० पृ.), एक जना थपलिया बाहुनलाई विसं १८३५ मा ३० मुरी खेत ६० रुपियाँमा (उही, २० पृ.), एक जना नैसीलाई विसं १८३७ मा तीन मुरी खेत ५० रुपियाँमा (उही, २१ पृ.), एक जना उपाध्याय बाहुनलाई विसं १८३८ मा ८० मुरी खेत ४०० रुपियाँमा (उही, २१ पृ.), एक जना गोली थरका बाहुनलाई विसं १८३९ मा २० मुरी खेत ३२७ रुपियाँमा (उही, २१ पृ.) बन्धकी राखेका लिखत फेला परेका छन्।
पाल्पाका राजाहरूले जग्गा बन्धकी राखी पैसा सापट लिएका १० वटा लिखतमा मेरो आँखा परेको छ। तीमध्ये राजा द्वितीय मुकुन्द सेनका तीन वटा छन्। पहिलो विसं १८०८ को, दोस्रो विसं १८१९ को र पछिल्लो चाहिं विसं १८३९ को हो।
पहिलोबाट एक जना ढकाल बाहुनलाई जग्गा बन्धकी राखी १९३५ रुपियाँ (विष्णुप्रसाद घिमिरे, पाल्पा राज्यको इतिहास, १ भाग, चितवनः घिमिरे प्रकाशन, २०४५, १९१-१९२ पृ.), दोस्रोबाट एक जना बाहुनलाई खेत बन्धकी राखी ५२ रुपियाँ {पाल्पा माडीका भट्टराई (खजाञ्ची) परिवारको वंश-परिचय, २०६५, २१० पृ.} र पछिल्लोबाट बिसु भन्ने एक जनालाई ७०० माटो खेत बन्धकी राखी ४४०६ रुपियाँ (पाल्पा राज्यको इतिहास, १ भाग, २०२-२०३ पृ.) सापट लिएको बुझिन्छ। मुकुन्द सेनका छोरा महादत्तका पनि त्यस्ता तीन वटै लिखत भेटिएका छन्।
उनी युवराज छँदै विसं १८२९ मा एक जना अर्ज्याल बाहुनलाई डिही समेत ३० मुरी खेत बन्धकी राखी ४०० रुपियाँ (महेशराज पन्त, ‘विसं १८२९ देखि १८६४ भित्रका ७ वटा राजकीय पत्र’, पूर्णिमा, १४१ पूर्णाङ्क, २०७१, २५-२६ पृ.), खजाञ्ची चिन्तामणि भट्टराईलाई विसं १८३९ मा जग्गा बन्धकी राखी ४०१ रुपियाँ {पाल्पा माडीका भट्टराई (खजाञ्ची) परिवारको वंश-परिचय, २०२ पृ.} र एक जना उपाध्याय बाहुनलाई विसं १८४५ मा ५० मुरी खेत बन्धकी राखी २२३ रुपियाँ (उही, २१२ पृ.) लिएका लिखत पाइएका छन्। महादत्तका छोरा पृथ्वीपालका पनि त्यस्ता तीन वटै लिखत पाइएका छन्। तिनमा पहिलो विसं १८५१ को, दोस्रो विसं १८५४ को र पछिल्लो चाहिं विसं १८५८ को हो।
पहिलोबाट एक जना उपाध्याय बाहुनलाई डिही समेत ९० मुरी खेत ३३० रुपियाँमा (उही, २१४ पृ.), दोस्रोबाट अर्का उपाध्याय बाहुनलाई ३० मुरी खेत ६० रुपियाँमा (पाल्पा राज्यको इतिहास, १ भाग, २२३-२२४ पृ.) र पछिल्लोबाट एक जना गैरे थरका बाहुनलाई डिही र खर्क समेत ६० मुरी खेत ३५० रुपियाँमा (उही, २२८-२२९ पृ.) बन्धकी राखी सापट लिएको बुझिन्छ।
गोरखा राज्यमा पाल्पा विलय हुनुभन्दा अगाडिको कुरा हो। कुनै पाल्पाली राजाले ८०५ रुपियाँ लिई लगापात समेत १९० मुरी खेत भाइ समेतका गिरिधारी भट्टराईलाई बन्धकी दिएका रहेछन्। गोरखा राज्यका तर्फबाट विसं १८६२ मा जग्गा जाँच हुँदा बढी भएको जग्गा झिकी विसं १८७७ मा लालमोहर भएको थियो (महेशराज पन्त, ‘विसं १८७५ देखि १८८० भित्रका ८ वटा लालमोहर’, पूर्णिमा, १४४ पूर्णाङ्क, २०७४, २२६-२२७ पृ.)।
गुल्मी राज्यका राजाहरूले जग्गा बन्धकी राखी पैसा सापट लिएका ६ वटा लिखत मेरो सम्झ्नामा छन्। राजा सत्यधन शाहका त्यस्ता दुई वटा लिखत पाइएका छन्। पहिलो विसं १८०६ को र दोस्रो विसं १८०८ को हो। पहिलोबाट एक जना उपाध्याय बाहुनलाई ८० मुरी खेत ३२४ रुपियाँमा र दोस्रोबाट एक जना पाँडे बाहुनलाई ४० मुरी खेत १४० रुपियाँमा बन्धकी राखी सापट लिएको बुझिन्छ (टेकबहादुर श्रेष्ठ, ‘गुल्मी राज्यको राजनैतिक इतिहास र केही अप्रकाशित ऐतिहासिक सामग्री’, कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज्, ११ ठेली, १ अङ्क, २०४०, १०९ पृ.)।
राजा शिवनारायण शाहका पनि त्यस्ता दुई वटै लिखत भेट्टाइएका छन्। ती दुवै विसं १८४२ का हुन्। पहिलो र दोस्रो लिखतको मितिमा खालि १५ दिनको फरक छ। पहिलोबाट एक जना पाँडे बाहुनलाई खेत बन्धकी राखी १०० रुपियाँ (उही, १०९ पृ.) र दोस्रोबाट एक गोसाञीलाई खेत बन्धकी राखी ४४१ रुपियाँ सापट लिएको बुझिन्छ (दिनेशराज पन्त, ‘विसं १७५७ देखि १९८६ सम्मको नेपालको इतिहासमा प्रकाश पार्ने ७० वटा अप्रकाशित तात्कालिक सामग्री’, पूर्णिमा, ६५ पूर्णाङ्क, २०४२, २०-२१ पृ.)। बन्धकी राखिएको जग्गाको परिमाण दुवै लिखतमा नदिइए पनि दोस्रोमा चाहिं सबै प्रकारका कर र दण्ड बापत तिर्नुपर्ने रकम मिनाहा गरिएको कुरा परेको छ।
वन पैदावार पनि बन्धकी
गुल्मीका राजा शिवनारायण शाहले एक जना बाहुनलाई वनका पैदावार बन्धकी राखी ३०२ रुपियाँ सापट लिएकोमा छोरा राजा सिद्धिप्रताप शाहले पछि विसं १८५४ मा बन्धकी थामी गरेको लिखत पाइएको छ (कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज्, ११ ठेली, १ अङ्क, ११० पृ.)। गुल्मीका कुनै राजाले दुई जना पाँडे बाहुनलाई १२० मुरी खेत बन्धकी राखी ४६४ रुपियाँ सापट लिएका रहेछन्। गोरखा राज्यमा गुल्मी विलय भएपछि गोरखाको तर्फबाट विसं १८६२ मा जाँच हुँदा बढी भएको जग्गा झिकी त्यो रजबन्धकी थाम्न विसं १८८९ मा लालमोहर भएको थियो (उही, १११ पृ.)।
अहिले सम्झनामा आएका अरू त्यस्ता लिखतमध्ये चार वटा प्यूठान राज्यका हुन्। ती चारैवटा लिखत राजा मोतीचन्दका हुन्। पहिलो लिखत विसं १८३५ को हो। तुलाराम भन्नेका छोरालाई ४० मुरी खेत बन्धकी राखी राजाले २२० रुपियाँ सापट लिएको कुरा त्यस लिखतमा छ (ऐतिहासिक पत्रसंग्रह, २ भाग, ९१ पृ.)। दोस्रो विसं १८३६ को लिखत हो। त्यसमा गोसाञी गणेश गिरिलाई ४० मुरी खेत बन्धकी राखी राजाले दुई सय रुपियाँ सापट लिएको कुरा छ (दिनेशराज पन्त, ‘प्यूठानाका राजा मोतीचन्दका दुई अप्रकाशित पत्र’, पूर्णिमा, ७६ पूर्णाङ्क, २०४६, ५५ पृ.)।
तेस्रो र चौथो चाहिं विसं १८३७ का हुन्। एक जना खड्कालाई ५० मुरी खेत बन्धकी राखी राजाले दुई सय रुपियाँ सापट लिएको कुरा तेस्रो लिखतमा छ (ऐतिहासिक पत्रसंग्रह, २ भाग, ९१-९२ पृ.)। त्यसै गरी एक जना बाहुनलाई २५ मुरी खेत बन्धकी राखी राजाले १२५ रुपियाँ सापट लिएको कुरा चौथो लिखतमा छ (पूर्णिमा, ७६ पूर्णाङ्क, २०४६, ५५-५६ पृ.)।
प्यूठानी राजाले आफ्ना खेत बन्धकीमा राखी पैसा सापट लिएका चार वटा मात्र लिखत भेट्टाइएका भए पनि गोरखा राज्यमा प्यूठान विलय भएपछि त्यहाँका पुराना रजबन्धकी जग्गा थामी गरिदिएका २३ वटा लालमोहर छापिएको मैले पढेको छु। तिनमध्ये नौ वटामा विसं १८७७ मा (गितु गिरी, प्यूठान राज्यको इतिहास, २ संस्करण, बुटवल, विशाल पुस्तक सदन, २०६२, अभिलेख तथा पत्रखण्ड, ३३-४१ संख्या) र बाँकी १४ वटामा (उही, ४६-५९ संख्या) विसं १८८९ मा लालमोहर लागेको थियो।
पर्वत राज्य गोरखामा विलय हुनुभन्दा अगाडिको कुरा हो। पण्डित वीरशाली पन्तलाई २५ मुरी खेत बन्धकी राखी पर्वतका कुनै राजाले १०५ रुपियाँ सापट लिएका रहेछन्। गोरखा राज्यका तर्फबाट विसं १८५२ मा जग्गा जाँच हुँदा बढी भएको जग्गा झिकी विसंं १८७८ मा रजबन्धकी थाम्न लालमोहर भएको थियो (टेकबहादुर श्रेष्ठ, पर्वत राज्यको ऐतिहासिक रूपरेखा, काठमाडौंः नेपाल र एशियाली अनुसन्धान केन्द्र, २४१-२४२ पृ.)।
उल्लिखित प्रसङ्ग र लिखतहरूबाट राजा-प्रजा दुवै थरीका आआफ्ना जग्गाजमीन हुन्थे, सबै जग्गाजमीनमा राजाको आधिपत्य हुन्थेन भन्ने स्पष्ट हुन्छ।
(पुराविद् पन्त संशोधन-मण्डलका सदस्य हुन्। हिमालको २०७८ माघ अंकबाट।)