दाहालको द्वैध चरित्रः नेपालमा प्रतिवाद, एमसीसीसँग प्रतिबद्धता
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलकै नेताले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे द्वैध चरित्र देखाएको भन्दै कडा आपत्ति जनाए।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा एमसीसीलाई २९ सेप्टेम्बर २०२१ मा पठाएको पत्र सार्वजनिक भएकै दिन आयोजित बैठकमा एमालेले यसको विरोध गरेको हो।
“जनताका बीचमा एउटा कुरा गर्ने र अन्तर्राष्ट्रिय समुदायको बीचमा अर्को कुरा गर्ने द्वैध चरित्र परराष्ट्र नीतिको मामिलामा उपयुक्त होइन भन्ने कुरा बैठकमा जोडदार रूपमा प्रस्तुत गर्यौं,” बालुवाटारमा भएको छलफलबारे जानकारी दिंदै एमाले महासचिव शंकर पोखरेलले भने, “प्रचण्डजीले मैले पत्र लेखेको होइन भनेर प्रतिवाद गरेकै छैन भनेर जवाफ दिने कोशिश त गर्नुभयो, तर सत्ता गठबन्धन यो विषयमा अनिर्णीत छ भन्ने त जगजाहेरै छ।”
१८ कात्तिकमा स्कटल्यान्डको ग्लास्गोबाट कोप-२६ मा सहभागिता जनाएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले दाहाल र आफूले एमसीसीलाई संयुक्त पत्र लेखेको खुलासा गरेका थिए।
त्यसको भोलिपल्ट १९ कात्तिकमा खुमलटारमा देउसीभैलो खेल्न पुगेका टोलीलाई सम्बोधन गर्ने क्रममा दाहालले एमसीसीलाई पत्राचार गरेको भन्ने देउवाको भनाइको खण्डन गरेका थिए।
६ बुँदे संयुक्त पत्र सार्वजनिक भएपछि भने दाहालले द्वैध चरित्र देखाएको भन्दै त्यसको आलोचना भएको हो। एमाले सचिव योगेश भट्टराईले यो कार्य सार्वभौम नागरिकप्रतिको घोर अपमान भएको दाबी गरेका छन्।
“प्रधानमन्त्री र गठबन्धनका अर्का नेता पुष्पकमल दाहालले एमसीसीका बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्वभौम नागरिकप्रतिको घोर अपमान हो,” एमाले सचिव भट्टराईले ट्वीटरमा लेखेका छन्, “सूचनाको हक संवैधानिक अधिकार हो, सरकारले यो अधिकारलाई कुण्ठित गरी आफ्नो अलोकतान्त्रिक चरित्र देखाएको छ।”
माओवादी केन्द्रका अध्यक्ष दाहालले भने एमसीसीलाई लेखेको पत्रको विषयमा भइरहेका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
“...राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रूपमा उछाल्नुको कुनै अर्थ छैन,” दाहालको सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं, यो परियोजना परिमार्जन विना पारित गर्नु हुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ।”
१८ जेठ २०७४ मा एमसीसी सम्झौताका लागि नेपाल र अमेरिकाले द्विपक्षीय वार्ता टोली गठन गर्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री र माओवादी नेता कृष्णबहादुर महरा अर्थ मन्त्री थिए।
त्यति मात्रै होइन, माओवादीकै सरकारका वेलामा नेपाल एमसीसीको ‘थ्रोसहोल्ड कार्यक्रम’ मा छनोट भएको हो। माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री तथा वर्षमान पुन अर्थ मन्त्री भएका वेला ५ माघ २०६८ मा नेपाल ‘थ्रेसहोल्ड कार्यक्रम’ मा छनोट भएको हो।
उनका पूर्व सहकर्मी बाबुराम भट्टराईले समेत माओवादी अध्यक्ष दाहाललाई बाहिर–बाहिर माओवादी भित्र–भित्र खाओवादी भन्ने टिप्पणी गरेका छन्।
“भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात! भित्र खाओवाद बाहिर माओवाद!” भट्टराईले ट्वीटरमा लेखेका छन्, “नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। जुन ढंगले गिजोलिँदै छ, त्यसको परिणाम गम्भीर हुनसक्छ, अति भए खति हुन्छ है!”
२९ भदौ २०७४ मा माओवादी सहितको सरकारले नै अमेरिकासँग एमसीसी कम्प्याक्टमा हस्ताक्षर गरेको हो। कार्यकर्ताको बीचमा भने दाहालले आफूलाई एमसीसीको कडा विरोधीको रुपमा उभ्याउने गरेका छन्।