घरजग्गा क्षेत्रका कारण नेपालमा अमेरिकाको जस्तै वित्तीय सङ्कट निम्तिन सक्ने चेतावनी
ब्यांकका सञ्चालकहरूको संस्था ब्यांक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) ले आयात र अनुत्पादक क्षेत्रमा जाने कर्जालाई कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ।
ब्यांकिङ क्षेत्रमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावको विषयमा अध्ययन गर्न सीबीफिनले बनाएको समितिले आयातमा थप कडाइ सहित घरजग्गा, शेयर लगायतका अनुत्पादक क्षेत्रको कर्जालाई कडाइ गर्नुपर्ने सुझाव दिएको छ। सीबीफिनले सार्वजनिक गरेको प्रतिवेदनमा तरलता अभाव हुनुका कारण सहित समाधानका उपायहरू सुझाइएको छ।
नबिल ब्यांक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो। संघले नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनले उच्च आयात र असन्तुलित अर्थतन्त्रलाई तरलता अभाव हुनुको मुख्य कारण मानेको छ। त्यसै गरी २०७२ सालमा एकै पटक चार गुणाले ब्यांक तथा वित्तीय संस्थाको पूँजी वृद्धि गर्ने नेपाल राष्ट्र ब्यांकको नीतिका कारण ब्यांकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गर्दा पनि तरलता व्यवस्थापनमा चाप परेको निष्कर्ष निकालेको छ। यसो हुनुमा ब्यांक तथा वित्तीय संस्थाले बाटो बिराएको तथा नियमनकारी निकाय राष्ट्र ब्यांकले समेत समयमै सचेत गराउन र सही बाटोमा ल्याउन चुकेको प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदनमा ब्यांक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जालाई सुरक्षित गर्नका लागि घरजग्गा धितो लिइएको र विगत करीब १२/१३ वर्षको अवधिमा घरजग्गाको मूल्य १०-१२ गुणाले बढिसकेको उल्लेख छ। अध्ययनले घरजग्गाको क्षेत्रमा समस्या आएमा नेपालमा पनि अमेरिकाले भोगे जस्तै वित्तीय सङ्कट निम्तिन सक्ने भन्दै राष्ट्र ब्यांकलाई सचेत गराएको छ।
प्रतिवेदनमा अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै यसतर्फ विचार गर्न सुझाइएको छ। प्रतिवेदनमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जाले सकारात्मक प्रभाव पार्न नसकेको भन्दै यो कर्जा रियलइस्टेट क्षेत्रमा प्रयोग भएको हुन सक्ने आशंका गरेको छ।
त्यसै गरी कृषि कर्जामा ब्याज अनुदानको सुविधा पहुँचवालाले लिएको हुन सक्ने भन्दै यसमा अध्ययन गरिनुपर्ने प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले तरलता अभाव नियन्त्रणका लागि नेपाल राष्ट्र ब्यांक, अर्थ मन्त्रालय तथा ब्यांक तथा वित्तीय संस्थाहरूलाई विभिन्न सुझाव पनि दिएको छ।