‘सङ्गीतकी सरस्वती’ को अवसान
प्रत्यक्ष लतालाई नभेटे पनि सङ्गीतकी सरस्वती मानेर तस्वीरमा पूजा गर्थ्यौं, तर अब त झन् तस्वीरमै पूजा गर्नुपर्ने भयो।
आज श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ। मैले सङ्गीत क्षेत्रमा सरस्वतीको रूप मानेकी गायिका लता मंगेशकरको आजकै दिन निधनको खबर सुन्नुपर्यो।
मैले जब सङ्गीत सुन्न थालें, त्यही वेलादेखि लताका गीत सुनेको हुँ। मेरी आमा इन्दिरा श्रेष्ठ घरमा लताकै गीत गुन्गुनाउनुहुन्थ्यो। बुबा जयनारायण श्रेष्ठले त घरको एउटा कोठा नै गीत-सङ्गीतका लागि छुट्याउनुभएको थियो। उहाँ सङ्गीतप्रेमी भएकाले हाम्रो घरमै राग-रागिनी, मुजराको माहोल जम्थ्यो।
त्यस वेला म बुबाको काखमा बसेर लताका गीत सुन्थें। अरू वेला बुबा आफैं पनि लताकै गीत गुन्गुनाउनुहुन्थ्यो। एक किसिमले हाम्रो घरमा लता र मोहम्मद रफी परिचित थिए।
केही समयपछि हाम्रै घरमा धरान सांस्कृतिक संस्थान खुल्यो। त्यसले धरानको कला क्षेत्रमा ठूलो योगदान पुर्यायो।
घरको त्यही माहोलले पनि मलाई गायनमा लाग्न प्रेरणा मिलेको थियो। मैले गाउन शुरू गर्दा मेरो स्वर केटीको जस्तो थियो। महिला स्वरमा गाउनुपर्दा म लताकै गीतहरू गाउँथें। ‘लगजा गले’, ‘ओ सजना बरखा बहार आयी’ जस्ता गीत अझै पनि मेरो मनमा बसेका छन्।
सानैदेखि लताका गीत सुनेर हुर्किएँ। गीत गाउन थालेपछि पनि उहाँकै गायनशैली पछ्याएँ। त्यसैले मैले लतालाई आत्मैदेखि नै गुरू मानेको थिएँ।
म १४-१५ वर्षको उमेरमा बम्बै गएको थिएँ। उहाँको गीत रेकर्ड भइरहेको वेला स्टुडियोमा पुगेको थिएँ। स्टुडियोभित्र गाइरहेकी लतालाई बाहिरबाटै देखें, तर प्रत्यक्ष भेट्न पाइनँ। कुनै वेला भेट होला भन्ने आशा थियो, तर अब त्यो आशा पनि बाँकी रहेन।
त्यसपछि बेलायतको रोयल अल्बर्ट हलमा लताको भव्य साङ्गीतिक कार्यक्रम भयो। मैले टेलिभिजनमा हेरें। त्यस वेला गाएका गीतको पछि क्यासेट पनि निस्कियो। ती क्यासेट किनेर सुनें। निकै आनन्द लाग्यो।
सङ्गीत विद्यामा लता सरस्वतीको रूप हुनुहुन्थ्यो। उहाँलाई सरस्वती पुत्री भने पनि हुन्छ। उहाँले गाएका गीत कुनै पनि नराम्रा लाग्दैनन्। जति सुन्यो, त्यति सुनिरहूँ लागिरहन्छ। उहाँले गाएका गीत नै सङ्गीत सिक्ने र सुन्नेका लागि काफी छन्।
लताका गीत सरस्वती वाणी जस्ता लाग्छन्। आज सरस्वती पूजाकै दिन उहाँको निधनको खबरले स्तब्ध छु। लताको निधनले समग्र सङ्गीत क्षेत्रलाई नै ठूलो क्षति पुगेको छ।
प्रत्यक्ष लतालाई नभेटे पनि सङ्गीतकी सरस्वती मानेर तस्वीरमा पूजा गर्थ्यौं, तर अब त झन् तस्वीरमै पूजा गर्नुपर्ने भयो। भौतिक शरीर नभए पनि उहाँले गाएका हजारौं गीत गुन्जिरहनेछन्।
(गायक श्रेष्ठसँग गोपाल दाहालले गरेको कुराकानीमा आधारित।)