‘एभरेस्ट: सी टु समिट’ का निर्देशकलाई आईएएमएफ अवार्ड
पर्वतारोहण सम्बन्धी चर्चित फिल्म एभरेस्ट: सी टु समिटका निर्देशक माइकल डिलोनलाई इन्टरनेशनल एलाइन्स फर माउन्टेन फिल्म (आईएएमएफ) ले २०२२ को ग्रान्ड प्राइज दिने घोषणा गरेको छ।
अस्ट्रेलियन निर्देशक डिलोनले ५० वर्षभन्दा बढी समय पर्वतारोहण सम्बन्धी फिल्म निर्माण खर्चिएका छन्। उनले फिल्म निर्माणमा पहिलो सगरमाथा आरोही सर एडमन्ड हिलारीसँग २५ वर्ष सहकार्य गरेका थिए।
त्यस्तै, अस्ट्रेलियन आरोहण दलले गरेको सगरमाथा आरोहणको विषयमा फिल्म बनाएका थिए। उनले सन् १९९२ बनाएको फिल्म एभरेस्ट: सी टु समिटले विश्वभर आठ पुरस्कार जितेको थियो। अहिलेसम्म बनेका उत्कृष्ट साहसिक फिल्ममध्ये यो पनि एक मानिन्छ।
गत वर्ष यो अवार्ड ड्यारिस जुलुस्कीले पाएका थिए। त्यसअघि गेहर्ड बाउर, लोथर ब्रान्डल, पाभोल बाराबास, कर्ट डिम्बर्गर, अर्मानो ओल्मी र वेनर हर्जोगले यो पुरस्कार पाइसकेका छन्।
सन् २००० मा स्थापित आईएएमएफले हिमाली क्षेत्र सम्बन्धी निर्माण भएका फिल्मको उत्पादन, प्रवर्द्धन र संरक्षणमा काम गर्दै आएको छ।
सन् २००० मा स्थापित इन्टरनेशनल अलायन्स फर माउन्टेन फिल्मको मुख्य कार्यलय इटालीको टुरिनमा छ। आइएएमएफमा २० देशका २८ सदस्य छन्। नेपालको काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिबल (किम्फ) त्यसमध्ये एक हो।
आइएएमएफले माउन्टेन फिल्ममा उत्कृष्ट योगदान पुर्याउने छायांकनकर्तालाई एलायन्सले हरेक वर्ष ग्रान्ड प्रिक्स अवार्ड प्रदान गर्छ। डिलन अस्ट्रेलियाका एक व्यावसायिक वृत्तचित्र फिल्म निर्माता हुन्, जसले आफ्नो लामो व्यावसायिक करियरमा धेरै फिल्म बनाएका छन्।
उनका फिल्म किम्फमा समेत प्रर्दशन भएका छन्। डिलन सन् २०१९ मा नेपाल आएका थिए। सन् २०१९ मा काठमाडौंमा उनको फिल्म ‘एभरेस्टः सी टु समिट’को प्रदर्शन भएको थियो। यो फिल्म सर एडमन्ड हिलारीको समुन्द्री तहदेखि सगरमाथासम्मको यात्राबारे छ। सन् २०१९ हिलारीको शतवार्षिकीको अवसरमा यो फिल्म किम्फमा प्रदर्शन गरिएको थियो।