लताले ‘बाँचुन्जेलीलाई’ गाउँदा भनेकी थिइन्- धेरै वर्षपछि नेपाली गीत गाउँदा खुशी लागेको छ
प्रसिद्ध गायिका लता मंगेशकरले १० वर्षअघि नेपाली गीत गाउँदा खुशी लागेको बताएकी थिइन्।
गायिका लताको आइतबार बिहान ८ः१२ बजे मुम्बईमा निधन भएको छ। कोभिड–१९ सङ्क्रमण भएपछि अस्पताल भर्ना भएकी उनको उपचारका क्रममै निधन भएको हो।
उनले २०६८ सालमा नेपाली गीत ‘बाँचुन्जेलीलाई’ गाएकी थिइन्। झण्डै चार दशकको अन्तरालमा उनले नेपाली गीत गाएकी थिइन्। त्यसअघि उनले मबीबीशाहले लेखेका दुई वटा नेपाली गीत गाएकी थिइन्।
आनन्द अधिकारीले लेखेको यो गीत उनले गायक रामकृष्ण ढकालसँगै गाएकी थिइन्। यसमा शिखर सन्तोषले सङ्गीत दिएका थिए।
गाउने क्रममा उनले खुशी प्रकट गरेकी थिइन्। “यो गीत मलाई राम्रो लागेको छ। राम्रोसँग लेखिएको पनि छ,” त्यति वेला लताले प्रतिक्रिया दिंदै भनेकी थिइन्, “रामकृष्ण पनि राम्रोसँग गाउँछन्। उनको आवाज र गाउने स्टाइल पनि धेरै राम्रो छ।”
त्यति वेला लताले पुराना गीत गाएको पनि स्मरण गरेकी थिइन्। “धेरै पहिले पनि नेपाली गीत गाएकी थिएँ। ती गीत नेपालका महाराजा (मबीबीशाह) ले लेखेका थिए,” उनले भनेकी थिइन्, “त्यसको धेरै वर्षपछि यो गीत गाउँदै छु, खुशी लागेको छ।”
यो गीतका लागि उनले गायक ढकाललाई शुभकामना दिएकी थिइन्। उनले भनेकी थिइन्, “रामकृष्णलाई मेरो शुभकामना छ। भगवान्सँग प्रार्थना गर्छु, यो गीत धेरै चलोस्।”