मन्त्रालय फुटाएसँगै प्रदेश १ मा थपिए आठ मन्त्री
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार आठ मन्त्री थपेका छन्।
आइतबार मुख्यमन्त्री राईको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले आठ मन्त्री नियुक्त गरेका हुन्। यससँगै प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।
नयाँ थपिएका मन्त्रीमा रामकुमार राईलाई खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, राजन राईलाई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा (लिम्बू) लाई पर्यटन तथा संस्कृति मन्त्रालय, झलकबहादुर मगरलाई कृषि मन्त्रालय, शेखरचन्द्र थापालाई वन, वातावरण तथा भू-संरक्षण, ओमप्रकाश सराबागीलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, प्रतापप्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार र उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो। जसमा इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना, हिमाल कार्कीलाई सडक पूर्वाधार तथा शहरी विकास, केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून, जयराम यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो। त्यस्तै, विष्णु तुम्बाहाम्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
सत्तारूढ गठबन्धनका सबै दललाई भागबण्डा मिलाउन मन्त्रालयल पनि फुटाइएको हो। यसअघि सात मन्त्रालय रहेकोमा अब १२ मन्त्रालय पुगेका छन्।
आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख खापुङले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।