मधेशमा एक राज्यमन्त्री थपिए
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक राज्यमन्त्री थपेका छन्।
मुख्यमन्त्री राउतले आइतबार नेकपा (एकीकृत समाजवादी) बाट नागेन्द्र राय यादवलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
आइतबार बिहान एक कार्यक्रमबीच प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले नवनियुक्त राज्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। राज्यमन्त्री बनेका यादव रौतहट ३ ‘क’ बाट निर्वाचित भएका हुन्।
एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री बनाउने सहमति भएको थियो। जस अनुसार, राय राज्यमन्त्री बनेका हुन्।
यसअघि एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्रीमा शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रीमा प्रमोद यादव नियुक्त भइसकेका छन्।