प्रसिद्ध गायिका लता मंगेशकरको निधन
प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।
गायिका लताको आज बिहान ८:१२ मा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रेस ट्रस्ट अफ इन्डियाले उनकी बहिनी उषा मंगेशकरलाई उद्धृत गर्दै लताको निधन भएको जनाएको छ।
केही दिनअघि उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको थियो। त्यसपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको थियो। ब्रीच अस्पतालमा उपचारका क्रममै उनको निधन भएको हो।
उनको २८ सेप्टेम्बर १९२९ मा भारतको मध्यप्रदेशमा जन्म भएको थियो। उनका बुबा पण्डित दिनानाथ मंगेशकर मराठी सङ्गीतकार थिए।
सानैदेखि सङ्गीत क्षेत्रमा प्रवेश गरेकी लताले ३६ भाषामा गीत गाएकी छन्। उनले ३० हजारभन्दा बढी गीत गाएकी छन्। लताले नेपाली गीत पनि गाएकी थिइन्।