नौ लाख नाघ्यो कोरोनाबाट निको हुनेको सङ्ख्या
देशभर कोरोनाभाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या नौ लाख नाघेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, अहिलेसम्म १० लाख ९९ हजार ३०३ जनामा कोरोना देखिएको छ। जसमध्ये पीसीआर परीक्षण गर्दा नौ लाख ६५ हजार २२२ जनामा र एन्टिजेन परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना देखिएको हो।
अहिलेसम्म सङ्क्रमित भएकामध्ये नौ लाख ६३९ जना निको भएका छन्। शनिबार चार हजार ७७१ जना निको भएका छन्।
केही दिनयता नयाँ थपिएका सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ। तैपनि, ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित छन्।
देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये झण्डै ५० प्रतिशत काठमाडौं उपत्यकामा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा २५ हजार ९९५ जना सक्रिय सङ्क्रमित छन्। जसमध्ये काठमाडौंमा १३ हजार ८६, ललितपुरमा नौ हजार ३२६ र भक्तपुरमा तीन हजार ५८३ सक्रिय सङ्क्रमित छन्।
त्यस्तै, १४ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन्। दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला पनि १८ पुगेका छन्।
हिमाली जिल्ला मनाङ भने सङ्क्रमणमुक्त भएको छ। मनाङमा कोरोना सङ्क्रणा भएका सबै जना निको भएका छन्।
त्यस्तै, शनिबार पाँच लाख ८८ हजार ४४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। योसँगै पहिलो डोज लगाउनेको सङ्ख्या एक करोड ७७ लाख ४० हजार ७३५ पुगेको छ।
अहिलेसम्म एक करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण खोप लगाएका छन्। योसँगै एक लाख तीन हजार ४०८ जनाले बुस्टर डोज पनि लगाएका छन्।