मधेशमा किसानका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन
मधेश प्रदेश सरकारले किसानका समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।
समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश सर्राफ रहेका छन्।
समितिले कृषि तथा पशुपन्छी विकास, किसानको मलखाद, बीउबिजन तथा सिंचाइ समस्या, बीमाको अवस्था, डुबान कटानको अवस्था बुझ्ने भएको छ।
त्यस्तै, कृषि यान्त्रिकीकरणको अवस्था र आगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेश प्रदेशको भू-उपयोग नीतिनिर्माण एवं मधेश सरकारले कृषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीतिनिर्माण गर्ने जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री साहले जानकारी दिए।
समितिलाई एक महीना समय दिइएको छ। त्यसअघि १५ दिनमा अन्तरिम प्रतिवेदन दिनेछ। त्यसबारे मन्त्रिपरिषद्मा छलफल हुने जनाइएको छ।
सीके राउत नेतृत्वको जनमत पार्टीले किसानका समस्यालाई लिएर आन्दोलन गर्दै आएको छ। आन्दोलन जारी रहेकै वेला सरकारले उच्चस्तरीय समिति गठन गरेको हो।