ब्रह्मनालमा पुगेका बिरामीलाई बचाउने वैद्य
ब्रह्मनालमा पुगेका बिरामीलाई बचाएर घर पठाएका पशुपति आर्यघाट सेवा केन्द्रका वैद्य मृत्यु सबैभन्दा कष्टकर क्षण हुने बताउँछन्।
पशुपति आर्यघाटको ब्रह्मनालमा मृत्यु कुरिरहँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले दुई विदेशी पत्रकारलाई दिएको अन्तिम अन्तर्वार्तामा भनेका थिए, ‘मेरो निम्ति प्रार्थना गर्नुहोला।’
२०१६ सालमा बुबासँगै ब्रह्मनाल पुगेका १० वर्षीय सुवर्ण वैद्यले पनि महाकवि देवकोटाका लागि प्रार्थना गरेका थिए। त्यति वेला प्रार्थनाले त काम गरेन, अहिले उनको जडीबुटीले भने थोरै भए पनि काम गरिरहेको छ। अन्तिम अवस्थामा ब्रह्मनाल छेउको पशुपति आर्यघाट सेवा केन्द्र पुगेका बिरामीलाई उनले घर फर्काइरहेका छन्।
यसका एक उदाहरण हुन्, मकवानपुरको कुलेखानीका उमित लामा। १६ वर्षअघि पाँच वर्षको छँदा बिरामी भए। उनकी आमा विष्णुमाया लामाले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज भर्ना गरिन्। तर, अस्पतालले दुवै मिर्गौलाले काम गर्न छाडिसकेको जानकारी दियो। स्वास्थ्य झन् झन् बिग्रँदै गयो। “डाक्टरले उमित केही दिन मात्र बाँच्छ भनेका थिए,” विष्णुमाया सम्झिन्छिन्।
उनले छोरा सन्चो हुने आश मारिसकेकी थिइन्। कुरैकुरामा घरधनीले सुवर्ण वैद्यबारे सुनाइन्। त्यसपछि उनी उमितलाई लिएर पशुपति आर्यघाट सेवा केन्द्र पुगिन्। “आयुर्वेदिक औषधि खुवाएपछि सुधार भयो,” विष्णुमायाले सुनाइन्, “एक महीना राखेर उपचार गरेपछि निको भयो।”
एक वर्ष नियमित औषधि खाएपछि छोरा तन्दुरुस्त भएको उनी बताउँछिन्। अहिले उनी २१ वर्षका भए। पुष्पलाल मेमोरियल कलेज, चाबहिलमा कक्षा १२ मा अध्ययनरत छन्। “ममीहरूले यस्तो रोग लागेर बाँचेको भन्नुहुन्छु,” उमित भन्छन, “फेरि त्यस्तो रोग नलागोस्। मलाई बुबा (वैद्य) को औषधिले बचाएको हो।”
यस्तै, त्रिशूलीको बिग बजारका एकबहादुर शाक्यलाई २०६३ सालमा नेपाल मेडिकल कलेज, अत्तरखेलले दुवै मिर्गौला फेल भएको सुनायो। उनका छोरा राजु शाक्यका अनुसार, अस्पतालले अब धेरै नबाँच्ने भन्दै घर लैजान सल्लाह दियो। १५ वर्षअघिको घटना स्मरण गर्दै शाक्य भन्छन्, “त्यस वेला मैले बुबालाई घर हैन, सुर्वण वैद्यकहाँ लगें।”
उठबस गर्न समेत नसक्ने ५७ वर्षीय शाक्य वैद्यको औषधि खाएपछि महीना दिनमा हिंडडुल गर्न थाले। एक वर्ष स्वस्थ जीवन बिताए। वैद्यले आयुर्वेदिक औषधि ल्याउने ‘शाही औषधि पसल’ बन्द भएपछि तीन महीनासम्म औषधी उपलब्ध गराउन सकेनन्। “चौथो महीनाबाट गाह्रो हुन थाल्यो र २०६४ मा बुबा बित्नुभयो,” राजु भन्छन्।
तैपनि, उनी वैद्यप्रति कृतज्ञ छन्। “वैद्य बाको औषधि नछुटेको भए बुबालाई अझै देख्न सक्थ्यौं होला,” उनी भन्छन्, “अस्पतालले मर्छ भनेको बिरामीलाई वैद्यले बचाए।”
यस्तै, उपचार पाउने अर्की व्यक्ति हुन्, काठमाडौंको गोलढुङ्गाकी बद्रीकुमारी गौतम। उनलाई दमको रोग थियो। आठ वर्षअघि वीर अस्पतालमा उपचार गर्दा सन्चो भएन। त्यसपछि छोरा वासुदेव गौतमले पशुपति सेवा केन्द्रमा पुर्याए। एक हप्तामै स्वास्थ्य सुधार भएर उनी घर फर्किइन्। उनका छोरा वासुदेवले धन्यवादपत्रमा लेखेका छन्, “आयुर्वेदिक औषधि र सुर्वण वैद्यको उपचारले आमालाई ठीक भएकोमा गौतम परिवार उहाँको सेवाप्रति आभारी छ।”
कैयौंले यस्तै धन्यवादपत्र लेखेर वैद्यलाई दिएका छन्। ती सबै पत्र सम्हालेर राखेका वैद्य भन्छन्, “यी प्रतिक्रिया नै सेवा गर्ने ऊर्जाका स्रोत हुन्।”
उनले पशुपति आर्यघाट सेवा केन्द्र सञ्चालन गरेको २८ वर्ष भयो। यसअघि उनका बुबा मोहन वैद्यले चलाउँथे। ‘घाटे वैद्य’ का नामले परिचित मोहनको मृत्यु भएपछि सुवर्णले सेवा केन्द्र सञ्चालन गरिरहेका छन्।
घाटमा प्राण त्याग्न आउनेहरू राख्न बनाएको केन्द्रलाई उनले आयुर्वेद उपचार अभ्यास गर्ने थलोका रूपमा परिवर्तन गरे। “बुबाले दिएको जडीबुटीको ज्ञान र मेरो अध्ययन, खोजले कलेजो सम्बन्धी रोग, क्यान्सर, दम, जन्डिस लगायतको औषधि बनाएँ। त्यसले धेरैलाई सन्चो भयो,” उनी भन्छन्। अस्पतालले अन्तिम अवस्था भनेपछि यहाँ पुग्नेमध्ये ३० प्रतिशत निको भएको उनको तथ्याङ्क छ।
डेढ सय वर्षदेखिको अभ्यास
वि.स. १९४७ सालमा वीर अस्पताल स्थापना भयो। त्यसपछि अस्पताल खुल्दै गए। त्यसअघि भने वैद्यकै उपचारमा भर परिन्थ्यो। नेपालको पहिलो वैद्य भनेर चिनिने मिलन वैद्यका सन्तान हुन्, उनी। त्यही सीप बाजे र बुबा हुँदै आफूमा हस्तान्तरण भएको उनी सुनाउँछन्।
पुर्ख्यौली पेशालाई उनले २०५२ सालबाट संस्थागत रूप दिए। “घाटको किनारमा एउटा बेड राखेर सेवा शुरू गरें। अहिले ३५ बेड छन्,” वैद्य भन्छन्, “यो सबै उपचारपछि स्वास्थ्यलाभ भएका व्यक्तिले गरेको दानबाटै बनेको हो।”
प्रायः यहाँ अन्तिम अवस्थामा पुगेका बिरामी पुग्छन्। कोही यहीं अन्तिम सास फेर्छन् भने कोही घर फर्किन पाउँछन्। अन्तिम अवस्थाका बिरामीलाई वैद्य तीन वटा विधिले जाँच्छन्। कफ (फोक्सोसँग सम्बन्धित), पित्त तथा मिर्गौलासँग सम्बन्धित र वायु (आहार-विहार र शरीरको अवस्था) का आधारमा।
बिरामीको नाडी र छाती जाँचेर कसलाई कुन औषधि दिने छुट्याउँछन्। “उपचार नहुने स्थितिमा पुगेका बिरामीलाई आराम गर्नुस् भन्छु,” उनी भन्छन्, “ब्रह्मनालमा पुगेका व्यक्तिलाई उपचार गरेपछि १० वर्ष बाँचेका छन्। तर, सधैं यस्तो चामत्कारिक उपचार हुँदैन।”
सेवा केन्द्रमा आउने हरेक बिरामीको अवस्था हेरेर आयुर्वेदिक औषधि बनाउँछन्। त्यसमा सामान्यतः तुलसीको बीउ, नागेश्वर, अश्वगन्धा, पलाँस, सुकुमेल, अलैंची, जाइफल, सञ्जीवनी, पाखनवेद, सिवलीकान्त लगायत सयौं जडीबुटीको मिश्रण हुन्छ। विभिन्न परिवारका व्यक्तिका लागि भने उनको सेवा निःशुल्क हुन्छ।
सेवामा केन्द्रित भएकाले दैनिकी चलाउन मुश्किल हुन्छ। त्यसैले, जयबागेश्वरीमा ‘वैद्य क्लिनिक’ खोलेका छन्। कान्छा छोरा शैलेन्द्रले क्लिनिक हेर्छन्। त्यसैले आफूलाई घाटमा पुगेका बिरामीको सेवा गर्न सजिलो भएको उनी सुनाउँछन्। तीन दशकको अवधिमा केही चामत्कारिक घटना पनि भएका छन्। जसमध्ये ब्रह्मनालमा पुगेका व्यक्तिलाई निको बनाएको पनि एक हो।
ब्रह्मनालबाट फर्काएको त्यो घटना
यो २०५९ सालको घटना हो। सुनसरीको इनरुवाबाट उपचार गर्न आएका ८० वर्षीय भवनाथ भट्टराईलाई काठमाडौं मेडिकल कलेजले जन्डिस भएको बतायो। एक महीनासम्म उपचार गर्दा पनि सन्चो भएन। थप उपचार हुन नसक्ने भन्दै घर पठायो। अन्तिम अवस्थामा पुगेपछि उनको परिवारजनले ‘सुखद मरण’ का लागि भन्दै ब्रह्मनालमा ल्याए।
त्यो दिन वैद्य पनि ब्रह्मनालमाथि मुक्ति मण्डल (पैसा चढाउने ठाउँ) बाट तल हेरिरहेका थिए। ब्रह्मनालमा राखेको मान्छे जीवित जस्तै देखेपछि तल ओर्लिए। तत्कालै सेवा केन्द्रमा ल्याए। “सञ्जीवनी र सित्तप्राणेश्वर औषधि दिएँ,” १३ नम्बर बेडका ती बिरामीबारे वैद्य भन्छन्, “भोलिपल्टै आँखा खोले।” ती उनै भवनाथ थिए जसलाई अस्पतालले घर फर्काएको थियो। एक महीना १८ दिन सेवा केन्द्रको उपचारपछि उनी निको भएर घर फर्किए।
भवनाथले सुनसरी घर फर्किने वेला भनेका थिए, “वैद्यज्यू, तपाईंको एउटा फोटो दिनुस्। भगवान्सँगै तपाईंको पनि फोटो राखेर पूजा गर्छु।” उनी यो क्षण अझै भुल्न नसकेको बताउँछन्।
त्यसको १० वर्षपछि ९२ वर्षको उमेरमा भवनाथको मृत्यु भयो। आज पनि भवनाथका छोरीहरू वैद्यलाई भेट्न आइरहन्छन्।
मृत्युका साक्षी
आर्यघाट सेवा केन्द्र पुग्ने बिरामी अन्तिम अवस्थाकै हुन्छन्। अस्पतालबाट आश मारेपछि मात्रै आर्यघाट पुग्छन्। उनी तीन दशकदेखि आर्यघाटमा बसेर मृत्युलाई नजिकबाट छामिरहेका छन्। कतिपयको प्राण ससाना कुरामा अडिइराख्ने गरेको सुनाउँछन्। “कसैले अन्तिम क्षणमा छोराको बिहे, नातिको व्रतबन्ध कुरिरहेका हुन्छन्,” वैद्य भन्छन्, “कतिले मासु खाने, एक घुट रक्सी खाने, छोराछोरी आए कि आएनन् भनेर सोधिरहेका हुन्छन्। ती इच्छा पूरा हुनासाथ प्राण त्याग्छन्।”
कतिपयलाई वैद्य पनि अन्तिम समय आएको सुनाउँदै राम्रा कुरा सम्झिराख्न सुझाउँछन्। यही १६ माघमा कन्यावती आचार्यलाई लिएर उनकी बुहारी लक्ष्मी धिताल सेवा केन्द्र पुगिन्। उनलाई कडाखाले निमोनिया भएको थियो। अस्पतालमा उपचार सम्भव नभएपछि त्यहाँ पुगेकी थिइन्। वैद्यले स्वास्थ्य जाँच गरे र सुधार हुने सङ्केत देखेनन्। “घरपरिवार सम्झेर बस्न सल्लाह दिएँ,” वैद्य भन्छन्। त्यसको चौथो दिन उनको प्राण गयो।
केही बिरामी चामत्कारिक रूपमा बाँचे पनि सबैमा त्यस्तो हुँदैन। सकभर कोशिश गर्ने उनी सुनाउँछन्। “बिरामीलाई निको बनाएर घर पठाएको दिन मीठो निद्रा लाग्छ,” वैद्य भन्छन्।
सबै निको हुने आशले सेवा केन्द्र पुग्दैनन्। कतिपय ब्रह्मनालमा अन्तिम सास जानुपर्छ भन्ने मान्यताले पनि बिरामीलाई ल्याउँछन्। कोही केही क्षणमै प्राण त्याग्छन्, कोही केही दिन पनि रहन्छन्।
महाकवि देवकोटालाई ११ दिनसम्म राखिएको थियो। यही स्थानमा देवकोटाले अन्तिम सास लिएका थिए। त्यति वेला बुबासँगै देवकोटालाई हेर्न ब्रह्मनाल पुगेका वैद्य भन्छन्, “यो त ऐतिहासिक स्थल हो।”
अहिले सेवा केन्द्र रहेको भवन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले पुनर्निर्माण गराएका थिए। त्यसयता कसैले वास्ता नगरेको उनी बताउँछन्। “पशुपति विकास कोषको परिसरमा भए पनि सरकारले नदेखे झैं गर्छ,” वैद्य गुनासो गर्छन्, “अन्तिम सास लिन ब्रह्मनालमा पुग्ने व्यक्तिलाई बाँचुन्जेल सहज रूपमा राख्न, उनीहरूका आफन्त परिवारजनलाई सहज रूपमा बस्न मिल्ने गरी यसको मर्मतसम्भार र आवश्यक सुविधा बढाइदिए हुन्थ्यो।”
सेवा केन्द्रमा दुई कारणले मान्छे पुग्छन्। एउटा मृत्यु पर्खन र अर्को मृत्यु जितेर घर फर्कन। यी दुवैका साक्षी बनेका वैद्य भन्छन्, “मृत्यु सबैभन्दा कष्टकर क्षण हुन्छ।”