कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु
कोरोनाभाइरसको सङ्क्रमणबाट एकै दिन १६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, शुक्रबार कोरोनाबाट १६ जनाको मृत्यु भएको हो। बिहीबार १४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको छ।
त्यस्तै, आज ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५२६ जनामा सङ्क्रमण पुष्टि भएको छ। बिहीबार ३ हजार १६५ जनामा सङ्क्रमण देखिएको थियो।
पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जना निको भएका छन्। केही दिनयता निको हुनेको सङ्ख्या बढ्दै गएको छ। जसले गर्दा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ। शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ हजार ४५७ पुगेको छ।