मोरङ हत्याकाण्ड: डेढ करोड कमिशनका लागि पार्टनरको हत्या!
आफ्नै व्यावसायिक पार्टनरलाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, मोरङले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले सिरहा नगरपालिका-२१ घर भई काठमाडौंको बल्खु बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ का अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरेको हो।
मोरङको धनपालथानस्थित उखुबारीमा १३ र १४ माघमा राजेन्द्रकुमार श्रेष्ठ र शम्भुकुमार चौधरीको शव भेटिएको थियो। ललितपुरको गोदावारी नगरपालिका-१२ ठेचोमा हत्या गरी गाडिएको अवस्थामा मोहन लिम्बूको शव फेला परेको थियो।
तीनै जनाको डोरी र गम्छाले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ। शवलाई कुहाउन नूनको समेत प्रयोग गरेको थियो। राजेन्द्रको ५ पुसमा, चौधरीको ७ पुस र लिम्बूको २८ मंसीरमा हत्या भएको प्रहरीले जनाएको छ।
बिहीबार साँझ ललितपुरको धापाखेलमा उत्खननपछि शव भेटिएका मोहन र हत्या आरोपी अनिलबीच दुई अर्ब ५० करोड रुपैयाँको करार सम्झौता भएको पाइएको छ। प्रहरी स्रोतका अनुसार, अनिल र मृतक मोहनबीच हाइड्रो तथा सिमेन्ट उद्योगमा लगानी गर्ने भन्दै दुई अर्ब ५० करोडको करारनामा बनाएको पाइएको हो।
उनीहरूले तीन प्रतिशत कमिशन पाउने शर्तमा झापामा ५० करोडमा जग्गा किनेका थिए। त्यसबाट आउने डेढ करोड कमिशन खान हत्याकाण्ड रचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी उपरीक्षक जर्नादन जिसीले भने, “घटनामा आफ्नै पार्टनरको हत्या गरी व्यवसाय एकलौटी बनाउने उद्देश्य देखिएको छ।”
प्रहरी उपरीक्षक जिसीका अनुसार, तीन आरोपीमध्ये अनिल मुख्य योजनाकार हुन्।