चिसो बढेसँगै भारतबाट विद्युत् आयात बढ्यो
विद्युत् माग बढेसँगै आन्तरिक विद्युत्गृहहरूको उत्पादन क्षमता खस्किएपछि भारतबाट विद्युत् आयात बढेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, अहिले देशभित्रको विद्युत् मागको कम्तीमा एक चौथाइ हिस्सा भारतबाट आएको बिजुलीले थेग्छ। विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार, १६ माघ साँझ विद्युत् खपत उच्च माग एक हजार ७१० मेगावाट पुगेको थियो।
काठमाडौंमा मात्रै उच्चतम विद्युत् माग ४६२ मेगावाट पुग्यो। त्यसयता पनि हरेक दिन देशभरिको उच्च माग एक हजार ६५० देखि एक हजार ७०० मेगावाट बीचमा छ। बुधबारको उच्चतम विद्युत् माग एक हजार ६६२ मेगावाट थियो।
नेपालमा हिउँदमा विद्युत्को माग उच्च हुन्छ। गत वर्षको हिउँदमा विद्युत्को उच्च माग एक हजार ४७५ मेगावाट पुगेको थियो। गत वर्षको तुलनामा यो वर्ष विद्युत्को उच्चतम माग झण्डै १६ प्रतिशतले बढेको हो। जाडो बढेसँगै विद्युत्को माग पनि बढ्ने गरेको छ।
देशभित्रका विद्युत् उत्पादनगृहहरूको जडित क्षमता करीब दुई हजार मेगावाट छ। तर, अधिकांश आयोजना नदी प्रवाहमा आधारित भएकाले तिनको उत्पादन क्षमता घटेर करीब एक हजार दुई सय मेगावाट हाराहारीमा ओर्लिएको छ।
प्रवक्ता भट्टराईका अनुसार, उच्चतम माग भएका वेला विद्युत् प्राधिकरणका आयोजनाबाट ४९० मेगावाट विद्युत् उत्पादन भइरहेको छ। त्यसै गरी माथिल्लो तामाकोशी, चिलिमे सहितका सहायक कम्पनीबाट ४०४ मेगावाट र निजी ऊर्जा उत्पादन गृहबाट ३३७ मेगावाट हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ। निजी क्षेत्रको विद्युत् उत्पादन क्षमता ८०० मेगावाट नाघिसके पनि हिउँदमा त्यसको आधाभन्दा पनि कम उत्पादन हुन्छ।
बुधबार भारतबाट ४०६ मेगावाट विद्युत् आयात भएको थियो। यो हिउँदमा भारतबाट सात सय मेगावाटसम्म विद्युत् आयात हुन सक्ने अनुमान छ।
हिउँदमा चिसोका कारण विद्युत् माग बढ्ने तर खोलामा पानीको बहाव घटेर उत्पादन घट्ने कारण विद्युत्को माग अनुसारको आपूर्ति सन्तुलन मिलाउन अप्ठ्यारो पर्छ। उदाहरणका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले वर्षायाममा ४५६ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता भए पनि अहिले २४ घण्टै चलाउँदा त्यसको उत्पादन क्षमता करीब ९० मेगावाट हाराहारी मात्रै रहेको भट्टराईले बताए। त्यसैले, तामाकोशीमा कम माग भएका वेला पानी जम्मा गरेर साँझ-बिहान बढी माग भएका वेला ४५६ मेगावाट नै विद्युत् उत्पादन गरिन्छ।
असारपछि मंसीरसम्म देशभित्रका आयोजनाबाट उत्पादन हुने विद्युत्ले आन्तरिक माग थेगे पनि बाँकी समयमा भारतबाट विद्युत् आयात गर्नुपर्छ। प्राधिकरणले गत पुसबाट आयात हुने विद्युत्को परिमाण बढाउँदै लगेको छ। भारतबाट विद्युत् आयातको क्रम जेठसम्मै चल्छ। असारपछि भने देशभित्र उत्पादन हुने विद्युत् खपत नभएर खेर जान थाल्छ।