नेप्सेको सीईओमा कृष्णबहादुर कार्की
शेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को १७ माघको बैठकले कार्कीलाई नेप्सेको सीईओको जिम्मेवारी दिएको हो। कार्कीले सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । यसअघि उनी बूढीगण्डकी जलविद्युत् परियोजनाका संयोजक थिए।
सर्वोत्तम सिमेन्टको शेयर पदीय मर्यादा विपरीत किनेर विवादित बनेपछि चन्द्रसिंह साउदले ८ भदौमा सीईओबाट राजीनामा दिएका थिए। त्यसयता यो पद रिक्त थियो।
नेप्से सीईओ पदको अन्तिम प्रतिस्पर्धामा कार्की सहित डा. केशव श्रेष्ठ र रमेश भण्डारी थिए। भण्डारी र श्रेष्ठलाई उछिनेर कार्की नेप्सेको सीईओ बन्न सफल भएका हुन्।
गत कात्तिकमा अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्य रहने गरी नेप्सेको सीईओ छनोटका लागि सिफारिश समिति गठन गरिएको थियो। समितिले माग गरे बमोजिम ११ जनाले आवेदन दिएका थिए। तीमध्ये पाँच जना सर्टलिस्टमा परेका थिए।