कोरोनाबाट १४ को मृत्यु, तीन हजार १७५ जनामा सङ्क्रमण
कोभिड-१९ सङ्क्रमितको सङ्ख्या घट्दै गएको भए पनि मृत्यु हुनेको सङ्ख्या भने बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, १२ हजार ६०५ स्वाब परीक्षण गर्दा तीन हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ। बुधबार ११ हजार ५८२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ६३७ जनामा कोरोना देखिएको थियो।
आज सङ्क्रमण पुष्टि भएकामध्ये १० हजार २६ को पीसीआर परीक्षण गर्दा दुई हजार ७४२ जनामा र दुई हजार ५७९ को एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना देखिएको हो।
आज कोरोनाबाट १४ जनाको मृत्यु भएको छ। बुधबार १२ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ७७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा आठ हजार ७२३ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख ८७ हजार ४४३ पुगेको छ।