लोसपा छोडेर तमलोपाको नेतृत्व गर्दै वृषेशचन्द्र लाल
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता वृषेशचन्द्र लालले पार्टी छाेडेर तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को नेतृत्व गर्ने भएका छन्। यसका लागि उनले तयारी थालेका छन्।
लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रदेश र जिल्ला नेतृत्व चयनमा एकलौटी गरेको भन्दै असन्तुष्ट नेताहरूले नेता लालको नेतृत्वमा तमलोपालाई अगाडि बढाउन लागेका हुन्। यसका लागि उनी केही दिनमै लोसपा छोड्ने तयारीमा रहेको लाल निकट एक नेताले बताए।
नेपाली कांग्रेस छोडेर मधेशको राजनीतिमा आएपछि ठाकुरले तमलोपा गठन गरेका थिए। तमलोपा अन्य मधेश केन्द्रित दलसँग मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो।
त्यसपछि उपेन्द्र यादवसँग एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो। त्यसबाट अलग भएर ठाकुरले लोसपाको नेतृत्व गरेका छन्।
त्यति वेला सुभाष कर्ण (रविशंकर लाल) ले तमलोपा दर्ता गरेका थिए। नेता लालका नातेदार कर्ण अहिले पनि लोसपाको विद्यार्थी संगठनमा छन्। तमलोपा ब्युँताउनुमा लालको पनि भूमिका थियो। अहिले तमलोपाले गाउँ-गाउँमा संगठन विस्तार गरिरहेको छ।
अब लोसपा अध्यक्ष ठाकुरसँग असन्तुष्ट रहेका लालसँग डा. विजयकुमार सिंह लगायतका नेताहरू तमलोपामा जाने तयारीमा जुटेका हुन्। “छिटै लोसपा छोडेर तमलोपामा आउनुहुन्छ,” एक नेताले हिमालखबरसँग भने।
लोसपा नेता लालले तमलोपा गठनमा आफ्नो भूमिका रहेको स्वीकार गरे। उनले भने, “तमलोपा गठन हुँदा मेरो सहयोग थियो।”
लोसपा छाड्न लागेको विषयमा भने उनले केही बोल्न चाहेनन्। नेता लालले हिमालखबरसँग सङ्क्षिप्त प्रतिक्रिया दिंदै भने, “मधेशमा क्षेत्रीय दलको आवश्यकता छ।” नेता लाल राष्ट्रिय सभाका पूर्व सदस्य हुन्।
नेता लाल मात्रै होइन, अन्य नेता पनि लोसपा अध्यक्ष ठाकुरसँग सन्तुष्ट छैनन्। मधेशका जिल्लामा नेतृत्व चयनको विषयलाई लिएर विवाद बढेको हो। ठाकुरले आफ्ना नातेदार र नजिकका मान्छेलाई नेतृत्व दिएको असन्तुष्ट नेता तथा कार्यकर्ताको आरोप छ।
अहिले अध्यक्ष ठाकुर र वरिष्ठ नेता शरद्सिंह भण्डारी एकातिर छन् भने राजेन्द्र महतो र अनिल झा अर्कातिर छन्। ठाकुर र महतोबीच विवाद हुँदा लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न नसकेको एक नेताले बताए।
पार्टी सिद्धान्तबाट विमुख बन्दै गइरहेको असन्तुष्ट नेताहरूको गुनासो छ। मधेशका मुद्दाबाट लोसपा विचलित हुँदै गएको उनीहरूको आरोप छ।
लोसपाका वरिष्ठ नेता भण्डारीले महाधिवेशन नभएकाले विवाद देखिएको बताए। पार्टी महाधिवेशनतर्फ गए लगत्तै सबै विवाद सकिने उनको भनाइ छ। “पार्टी सिद्धान्तको आधारमा चल्न थालेपछि विगतमा प्रभावमा पारेर अवसर लिनेहरू विचलित भएका हुन्। उनीहरू अनाहकमा विवाद सिर्जना गरिरहेका छन्,” भण्डारीले भने, “बिस्तारै महाधिवेशन हुन्छ, सबै विवाद समाधान हुन्छ।”