छाङ्गरु तिङ्करमा नाकामा सुरक्षाकर्मी पुग्दा नेपालीलाई राज्यको आभाष
नेपाल, भारत र चीनको त्रिदेशीय नाका व्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत नेपाल प्रहरीलाई शुक्रबार सो नाकाको सीतापुल प्रहरीचौकीमा पुर्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराको नेतृत्वमा १४ सुरक्षाकर्मी सीतापुल पुर्याइएको प्रहरीले बताएको छ ।
नेपालतिर सडक नहुँदा माथि उक्लिन नसकेका प्रहरीलाई हेलिकप्टरमार्फत छाङ्गरुको सीतापुल पुर्याइएको छ । सीतापुलमा केही दिन बसेपछि आधा प्रहरी तिङ्कर चौकीमा सर्ने नायब उपरीक्षक शाहीले बताए ।
नेपालतिर हतियारसहित चौकी सार्न बाटोघाटो थिएन । स्थानीयवासीले भारतीय बाटो भएर बसाइँ सरे पनि प्रहरीका लागि हतियार लिन समस्या थियो ।
सर्वसाधारणले छाङ्गरु तिङ्कर जान नेपाल र भारत दुवैतर्फबाट बहुयात्रा अनुमति बनाउनुपर्छ । सोही माध्यमबाट उनीहरू भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका थिए ।
“स्थानीय भारतीय मार्ग भएर गाउँ गइसकेको अवस्थामा सुरक्षाकर्मी माथि लैजान हेलिकप्टरबाहेकको विकल्प थिएन”, प्रहरी नायब उपरीक्षक शाहीले भने ।
प्रहरीले हातहतियारसहितमाथि जाने अवस्था नभएपछि यही १ जेठमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारले पहिलो पटक व्यासको त्रिदेशीय क्षेत्र छाङ्गरु तिङ्करका लागि हेलिकप्टर पठाएको हो ।
नेपालतिरको बाटो गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा बनाए पनि महाकाली नदीको डुबानमा परेपछि बाटो अवरुद्ध छ । भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विस्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको स्थानीयवासीको भनाइ छ ।
ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्णरूपमा अवरुद्ध छ । बाटो नहुँदा प्रहरीले आफ्नो रासन भारतीय बाटो भएर सीतापुल पुर्याइएको हो । प्रहरीले हेलिकप्टरमार्फत हतियार, सञ्चार सेटलगायत प्रहरी जवान पुर्याएको हो । राज्यको उपस्थितिका नाममा प्रहरी मात्रै यो क्षेत्रमा हुने गरेको छ ।
यस्तै हेलिकप्टरमार्फत छाङ्गरु तिङ्करको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, प्रहरी नायब उपरीक्षक शाही, सशस्त्र प्रहरी नायब उपरीक्षक भीमचन्द, राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुँवर, दुर्गादल गुल्मका निमित्त गुल्मपति खड्कध्वज कार्की लगायतले यस क्षेत्रको अनुगमन गरेका छन् ।
हेलिकप्टरमार्फत त्यस क्षेत्रको भूगोल प्रहरी बस्ने ठाउँ लगायतको बारेमा सामान्य जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी बहादुर विष्टले बताए। हेलिकप्टरमार्फत पहिलो पटक सुरक्षाकर्मी पुगेपछि स्थानीयमा समेत राज्यको उपस्थित भयो भन्ने आभास पाइएको उनले जानकारी दिए ।
व्यास क्षेत्र उच्च भू–भागमा अवस्थित भएका कारण ६ महीना मात्रै स्थानीयवासीको बसोवास हुन्छ । यहाँका स्थानीय खलंगा झरेसँगै सीतापुल प्रहरीचौकी व्यासको दुम्लिङ झर्ने गर्छ ।
यहाँ चार\पाँच फिट हिउँ जम्ने गर्छ । प्रहरीले केही दिनअघि हतियारबिनाका प्रहरी दुम्लिङबाट सीतापुल पठाएको थियो । विगतमा यस क्षेत्रमा राज्यको उपस्थित नहुँदा चोरी शिकारी, आखेटोपहार ओसारपसार तथा नेपालतिरको जङ्गल भारतीय पक्षले फँडानी गर्ने गरेका घटना बेला बेलामा आउने गरेका थिए ।
–नरेन्द्रसिंह कार्की