परिचय नखुलाई साढे दुई करोड दान
बौद्ध धर्मको ‘एक हातले गरेको दान, अर्को हातले थाहा नपाओस्’ भन्ने मान्यतालाई आत्मसात् गर्दै मलेशियाली नागरिकले गरेको सहयोगबाट एक हजार वर्ष पुरानो पाँचमाने जीर्णोद्धार गरिंदै छ।
झण्डै एक हजार वर्षअघि काठमाडौंबाट पश्चिम नेपालतिर जान जितपुरफेदी (अहिलेको तारकेश्वर नगरपालिका-३) एक मात्रै मूल बाटो थियो। त्यहाँबाट नुवाकोट, त्रिशूली, गोरखा, पोखरा, धादिङ लगायत स्थानतिर पैदल नै जानुपर्थ्यो ।
यही बाटो स्वदेशी तथा विदेशी व्यापारी र पर्यटकको लावालस्कर लाग्थ्यो, रसुवाको केरुङ हुँदै तिब्बतसम्म पुग्न। जितपुरफेदीको नामले चिनिने यो गाउँको उत्तरतिर अग्लो पहाडमा छ, तारकेश्वर महादेवस्थान। जहाँ जनैपूर्णिमा र श्रीपञ्चमीका दिन पूजापाठ हुन्छ, भक्तजनको घुइँचो नै लाग्छ।
यही पहाडको फेदीमा बौद्ध धर्मावलम्बीको अर्को पवित्रस्थल पनि छ, पाँचमाने। यो भने झण्डै एक हजार वर्षअघि निर्माण गरिएको हो।
बुद्धको उपमा पाएका अतिश दीपङ्कर केरुङको बाटो तिब्बत जाने क्रममा सन् १०४० मा जितपुरफेदी पुगेका थिए। त्यहाँ केही समय बिताउँदा उनले पाँच वटा माने (बुद्धको थुम्का) स्थापना गरेको इतिहास छ।
अहिले त्यही पाँचमानेको जीर्णोद्धार गरिंदै छ। पाँचमाने अर्थात् पञ्चमणि जीर्णोद्धार समाजका अध्यक्ष खड्गबहादुर लामा ऐतिहासिक स्थल भएकाले जीर्णोद्धार गर्न थालिएको बताउँछन्। यो दीपङ्करको चिह्न भएको उनको भनाइ छ।
जीर्णोद्धारका लागि १० वर्षअघि निर्मलरत्न तुलाधरको अगुवाइमा अभियान शुरू भएको थियो। तुलाधरको नेतृत्वमा २०७२ सालमा सामान्य जीर्णोद्धार गरिएको लामा बताउँछन्। “त्यस वेला सहयोग जुटाउन सकिएन र भूकम्पले पनि काम रोकियोे,” उनी भन्छन्।
तत्कालीन अध्यक्ष तुलाधरको अगुवाइमा पुरातत्त्व विभागको टोलीले पनि पाँचमानेको उत्खनन गरेको थियो। त्यति वेला एउटा अम्खोरा र थाली भेटिएको अध्यक्ष लामा बताउँछन्। “त्यो अम्खोरा र थाली पुरातत्त्वकै संरक्षणमा राखिएको छ,” उनी भन्छन्, “भगवान दीपङ्कर बसेको ठाउँ हो, पाँचमाने। जीर्णोद्धारपछि अम्खोरा र थाली पनि यहीं ल्याउँछौं।”
भूकम्पसँगै आर्थिक अभावले रोकिएको जीर्णोद्धार फेरि प्रारम्भ भएको छ। अहिले भने आफ्नो परिचय खुलाउन नचाहने विदेशी रिम्पोछेले सहयोग गरेका छन्। “दुई करोड ५० लाख नगदै सहयोग गरेका छन्,” अध्यक्ष लामा भन्छन्।
यो सहयोगको पछाडि पनि रोचक प्रसङ्ग छ। मलेशियाली रिम्पोछे जब ध्यानमा मग्न भए, त्यति वेला उनलाई पूर्व जन्ममा नेपाल आएको बोध भयो। पूर्व जन्ममा नेपाल आउँदा काठमाडौंमा पाँचमाने बनाएको सम्झिए। त्यसपछि २०७३ सालमा नेपाल आएर पाँचमाने पुगेको अध्यक्ष लामा बताउँछन्। “रिम्पोछेले ध्यानमग्न हुँदा प्राप्त गरेको पूर्व जन्मको जानकारीका आधारमा पाँचमाने जीर्णोद्धारमा सहयोग गर्नुभएको हो,” अध्यक्ष लामा भन्छन्, “आम मान्छेले त्यसलाई रिम्पोछेले सपना देखेको भन्ने गरेका छन्।”
रिम्पोछेले आफ्नो परिचय भने गोप्य राखिदिन आग्रह गरेका छन्। “बौद्ध धर्ममा ‘एक हातले गरेको दान, अर्को हातले थाहा नपाओस्’ भन्ने मान्यता हुन्छ,” अध्यक्ष लामा भन्छन्, “त्यसैले पाँचमाने जीर्णोद्धारमा सहयोग गरेका व्यक्तिले परिचय खुलाउन नचाहेका होलान्। यति भनौं उनी मलेशियाली रिम्पोछे हुन्। त्योभन्दा बढी दाताबारे खुलाउन मिल्दैन।” सरकारी निकायमा आवश्यक परेको वेलामा भने खुलाइने उनको भनाइ छ।
दाताले आफ्नो प्रचार नगरेरै दान गर्नमा आनन्द मानेको समाजका संरक्षक मदनकृष्ण श्रेष्ठ बताउँछन्। “परिचय लुकाएर दान गर्दा नै उनलाई आनन्द मिल्छ भने ठीकै छ,” कलाकार श्रेष्ठ भन्छन्, “उनको व्यक्तिगत स्वतन्त्रतालाई पनि सम्मान गर्नुपर्छ।”
कलाकार श्रेष्ठ आफ्नो जन्मे-हुर्केको ठाउँ भएकाले पनि पाँचमानेसँग जोडिएका छन्। दीपङ्कर तिब्बत जाने वेला बसेको ठाउँ भएको सुनाउँदै श्रेष्ठ भन्छन्, “पाँचमानेलाई बौद्ध धर्मसँगै पर्यटकीय गन्तव्य बनाउनुपर्छ।”
को हुन दीपङ्कर?
बुद्धको उपमा पाएका दीपङ्करलाई ‘आई अफ एशिया’ पनि भनिन्छ। उनी बौद्ध धर्मका प्रचारक एवं दार्शनिक थिए। प्राचीन भारतको विक्रमपुर (हाल बाङ्लादेशमा पर्ने) मा सन् ९८० मा जन्मिएका थिए। पाल-वंशका राजा कल्याणश्री र रानी श्रीप्रभावतीका माइला सन्तानका रूपमा जन्मेका उनलाई राजकुमार चन्द्रगर्भका नामले चिनिन्थ्यो।
उनी ११ वर्षको उमेरमा भारतको बिहारस्थित नालन्दा महाविहारमा अध्ययन गर्न पुगेका थिए। त्यहाँबाट आचार्य गरेपछि इन्डोनेशियाको समाक्रा (सुर्वणद्विप) मा १२ वर्षसम्म तन्त्रविद्या अध्ययन गरेका थिए। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका अनुसार, उनी महापण्डितको अध्ययन गरिरहेका वेला पश्चिम तिब्बतका राजाको निमन्त्रणामा तिब्बत जाने क्रममा नेपाल आएका थिए।
श्रेष्ठको प्रकाशोन्मुख पुस्तक नेपाल बाङ्लादेशको बौद्ध सम्बन्ध लेखनका क्रममा दीपङ्करबारे यो तथ्य भेटिएको उनले सुनाए। “उनी एक वर्ष नेपालमै रहे, यहाँँको भाषा पनि सिके, अनि जितपुरमा पाँचमाने बनाएर तिब्बत लागेका रहेछन्,” उनी भन्छन्।
दीपङ्करको नेपाल भ्रमणबारे खोजबिन गरेका पाँचमाने जीर्णोद्धार समाजका संरक्षक रहेन्द्रप्रसाद प्रधानले प्रोम स्टोङ-पाले (दीपङ्करको प्रमुख तिब्बती शिष्य) ले लेखेका यात्रा-विवरणमा अर्को तथ्य फेला पारेको बताउँछन्। उनले दीपङ्करको व्यक्ति चित्रणमा लेखेका छन्, ‘नेपालस्थित स्वयम्भूको दर्शन समेतका लागि बीसौं जना शिष्यका साथमा १०४० तिर नेपाल आएर १०४२ मा तिब्बत पुगी तिब्बतमा रहेका संस्कृतमा लेखिएका थुप्रै ग्रन्थको तिब्बती भाषामा अनुवाद गरे।’
तिब्बत जाने क्रममा जितपुरफेदीमा पाँच वटा चैत्य (पञ्चमणिः चार वटा साना कालो र एउटा ठूलो सेतो चैत्य) को निर्माण गरेका थिए। पाँचमाने त्यही स्थान हो, जहाँ तिब्बतबाट आउने विद्वान् लामाको स्वागत गरिन्थ्यो।
पाँचमाने डाँडाको फेदमा रहेकाले यो गाउँलाई नेवार समुदायले ‘न्यागःमणि’ फेदी भन्ने गरेको समाजका अध्यक्ष लामा बताउँछन्। ‘न्यागःमणि’ अर्थात ‘न्यागः’ भनेको ‘पाँच’ र ‘मणि’ भनेको ‘माने’ भन्ने अर्थ हुन्छ। यसैलाई पाँचमानेफेदी भन्ने गरिएको छ।
परराष्ट्रविद् श्रेष्ठका अनुसार, दीपङ्कर ठमेलको भगवान् बहालमा ६ महीना बसेका थिए। उनी जितपुरफेदीमा पाँचमाने बनाएर तिब्बत गएका थिए। नेपालमा बस्दा उनले अन्य स्थानमा पनि विहार बनाएको पाइएको श्रेष्ठ बताउँछन्। नेपालमै रहँदा प्रज्ञा पारमिता-पिण्डार्थ-प्रदीप, चर्या सङ्ग्रह, प्रदीप तथा बोधिपथ प्रदीप जस्ता ग्रन्थको रचना पनि गरेका थिए।
जितपुरफेदीमा स्तूप बनाएर भाकल गरी तिब्बत प्रस्थान गरेकाले शक्तिपीठका रूपमा लिने गरिएको समाजका अध्यक्ष लामा बताउँछन्। “पाँचमाने ‘क्ष्कशाल घाङ’ अर्थात् प्रत्यक्ष दर्शन गर्ने डाँँडा हो। यहाँबाट बौद्ध र स्वयम्भूको प्रत्यक्ष दर्शन गर्न सकिने भएकाले तिब्बती लामाहरू यहीं पूजा गरेर तिब्बत फर्कन्थे भन्ने धार्मिक पुस्तकहरूमा लेखिएको छ,” लामा भन्छन्।
कस्तो बन्दै छ पाँचमाने स्तूप?
दीपङ्करले बनाएका पाँच वटा स्तूप कहिलेसम्म सञ्चालनमा रहे भन्ने यकिन छैन। तर, एक दशकअघि समाजसेवी तुलाधर यसको महत्त्व बुझेर जीर्णोद्धारमा जुटेपछि मात्रै चर्चा हुन थालेको हो। त्यति वेला तीन वटा थुम्का बनाएपछि भूकम्पले काम रोकियो।
दुई वर्षअघि मलेशियाली रिम्पोछेले सहयोग गरेपछि फेरि जीर्णोद्धारको काम शुरू भएको हो। अब दीपङ्करले बनाएको पाँचमानेसँगै अन्य संरचना पनि निर्माण हुने भएका छन्। पाँचमाने समाजको भवनको १९ पुसमा कलाकार श्रेष्ठले शिलान्यास गरिसकेका छन्।
बौद्ध ग्रन्थहरू अनुसार, पुण्य स्थानमा काय (मूर्ति), वक (शास्त्र) र चित्त (स्तूप) हुनुपर्छ। त्यसैले पाँचमानेमा मूर्ति राखिने र पाठ पनि गरिने अध्यक्ष लामाले बताए। त्यससँगै भवनमा ध्यानकेन्द्र, गुफा बस्ने स्थान र पाहुना कक्ष पनि हुनेछन्।
पाँचवटा स्तूपमध्ये पहिलो र दोस्रो कालो रङका हुनेछन्। त्यस्तै, बीचको सेतो तथा चौथो र पाँचौं कालो रङका हुनेछन्। बीचको स्तूप १५ फिट अग्लो र बाँकी चार वटा १० फिट अग्ला हुनेछन्। स्तूप तयार हुन डेढ वर्ष लाग्ने अध्यक्ष लामाले बताए।
सेतो स्तूप तयार भएपछि सोकसिङ (श्रीखण्डको लामो काठमा भगवान् जगाएर मन्त्र राख्ने स्थान) गरिनेछ। “अनि पाँचमानेले प्राण पाउनेछ,” त्यस दिनको प्रतीक्षामा रहेको बताउँदै अध्यक्ष लामा भन्छन्, “पाँचमाने पुगेपछि आनन्द प्राप्त हुन्छ। भगवान् बुद्धको आशीर्वाद प्राप्त हुन्छ।”
त्यो पाँचमाने, यो पाँचमाने
मदनकृष्ण श्रेष्ठ, कलाकार
मेरो घरबाट पाँचमाने प्रष्ट देखिन्छ। १५ वर्षको हुँदासम्म माने भएकै डाँडामा खेल्थ्यौं। तर, त्यस वेला पाँचमानेको महत्त्व थाहै थिएन।
रसुवाको केरुङ, धुन्चे, नुवाकोटको त्रिशूली र गोरखातिरबाट दाल, चामल, फलफूल, भेडा, च्याङ्ग्रा, पदमचाल, पाँचऔले जस्ता औषधि बेच्न व्यापारी तथा सर्वसाधारण जितपुरफेदी आउँथे। हाम्रै घरआँगन भएर तिब्बत जानेहरू पनि त्यहीं डाँडामा भेला हुन्थे। बटुवा र भरियाले बाटो नै भरिन्थ्यो।
राति ढुङ्गा गाडेर बनाएको चुलोमा ढिंडो पकाएर खान्थे। उनीहरूले ढिंडो खाएको देख्दा हामी थुक निल्थ्यौं।
मेरो बाल्यकाल जितपुरफेदी अहिलेको तारकेश्वर नगरपालिकामै बित्यो। त्यति वेला मात्रै होइन, अहिले पनि जितपुरफेदी रमणीय छ।
काठमाडौंबाट त्रिशूली जाने मोटरबाटो बनेपछि भने चहलपहल घट्दै गयो। पहिले भने पाँचमाने डाँडाको वरिपरि निकै बाक्लो बस्ती थियो। काठमाडौंबाट पोखरा जाने पृथ्वी राजमार्ग बनेपछि त जितपुरफेदी हुँदै हिंड्ने बटुवा घटे।
तारकेश्वर महादेवको थान पनि अहिले बन्दै गरेको पाँचमानेको छेउमै छ। मैले ‘महको म’ लेख्दै गर्दा यो बौद्ध धर्मावलम्बीको तीर्थ नै रहेको जानकारी पाएँ। जितपुरको महत्त्व खोज्ने क्रममा हिरण्यलाल श्रेष्ठले इतिहास केलाउन सहयोग गर्नुभयो।
त्यही महत्त्व बुझेर निर्मलरत्न तुलाधर यसको संरक्षणमा जुटे। उनले अभियान नै शुरू गरेका थिए। तर, आर्थिक कठिनाइले काम रोकियो। यहीबीच उनको निधन भयो।
अहिले फेरि मलेशियाली रिम्पोछेको सहयोगमा जीर्णोद्धार हुँदै छ। आनन्द र मनै हर्ने सुन्दरता त छँदै थियो, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको स्थल भएकाले जगेर्ना गर्न लागिएको थाहा पाउँदा त मक्ख छु।