तीन नदीमा भेटियो ओत, यसरी जोगाउन सकिन्छ
नदी तथा पानीमा बस्ने ओत अझै पनि नेपालमा रहेको पुष्टि भएको छ, तर नदीजन्य पदार्थका लागि उत्खनन तीव्र पारिंदा यसको अस्तित्व सङ्कटमा परेको छ।
संरक्षणकर्मीले रुकुम, जाजरकोट र काभ्रेमा कालो ओत (यूरेशियन ओटर) पाएको छ। केही दिनअघि ‘अटर स्पेसलिस्ट बुलेटिन’ मा यसबारे विस्तृत वैज्ञानिक लेख प्रकाशित भएपछि संरक्षणकर्मी उत्साहित भएका छन्।
ओतको खोजी गर्ने काममा लागेका संरक्षणकर्मी मोहनविक्रम श्रेष्ठले काभ्रेको रोशी खोलाको तिरमा पहिलो पटक ओतको कङ्काल भेटेको थिए। त्यस्तै, उनकै टोलीका सदस्य गोविन्द सिंह जून २०२१ मा जाजरकोटको बारकोट गाउँपालिकाको बारकोट खोलामा जिउँदो ओत क्यामेरा ट्र्यापमा पार्न सफल भएका थिए।
त्यस्तै, ओतको खोजीमा संलग्न रुकुमको टोलीले सानी भेरी खोलामा एउटा घाइते ओत फेला पारेको थियो। रुकुमका स्थानीय मदन खड्काले भेट्टाएको घाइते ओतलाई उपचारपछि प्राकृतिक वासस्थानमै छोडिएको थियो। ती सबै ठाउँमा पाइएको ओतको कङ्काल, दिशा, तस्वीरहरूको वैज्ञानिक अध्ययनमा देश-विदेशका वैज्ञानिकहरूको संलग्नता थियो।
नेपालको तराई क्षेत्रमा खैरो ओत (स्मूथ कोटेड ओटर) पाइए पनि पहाडी क्षेत्रमा भने हालसम्म अध्ययन नभएकाले नेपालमा कालो ओत थियो कि थिएन यकिन छैन। स्थानीयहरूले गाउँठाउँमा विगतमा ओत सजिलै पाइने बताए पनि पछिल्लो समय भने सजिलै देख्न र पाइन छोडेका बताउँदै आएका छन्।
“विगतका अध्ययनमा नेपालमा ओत पाइने मात्र उल्लेख थियो, तर कति सङ्ख्यामा कुन कुन ओत पाइन्छन् भन्ने उल्लेख थिएन,” श्रेष्ठले भने, “जनश्रुति र बूढापाकाले ओत बारे बताए पनि नयाँ पुस्ता भने जानकार छैनन्, त्यही भएर हामीले सम्भावित ठाउँमा खोज गरेका हौं र अध्ययनले हामीलाई उत्साहित बनाएको छ। यसको संरक्षणका लागि सचेतना अभियान नै चलाउनुपर्ने देखिन्छ।”
वासस्थान विनाश
नेपालको हिमाली खोला र पहाडी खोला तथा तालतलैया ओतको वासस्थान हुन्। खोलाका नदीजन्य पदार्थको जथाभावी उत्खनन हुँदा यसको वासस्थान विनाश भएको हो। “नदी तथा पानीका स्रोतमा भएको प्रदूषणले पानीमा रहेका प्राणीलाई मार परेको देखिन्छ,” श्रेष्ठ भन्छन्, “त्यसमाथि यसको छालाको अवैध ओसारपसारका कारणले पनि ओत सङ्कटमा परेको देखिन्छ।”
सन् १९८९ को दशकदेखि २०१७ सम्म सात सय ५५ वटा ओतका छाला बरामद भएको देखिन्छ। तर, ती छाला नेपालमै मारिएका ओतका हुन् कि भारतबाट चोरी शिकारी भएर आएका हुन् भन्नेमा द्विविधा छ। किनभने, नेपालमा पाइने तीन प्रजातिका ओत भारतमा पनि पाइन्छन्।
रुकुम, जाजरकोट तथा बझाङका स्थानीयहरूले विगतमा जुम्लीहरू ओत खोज्न आउँथे भन्ने सुनाउने गरेको श्रेष्ठ बताउँछन्। विगतमा नेपालबाट यस्ता वन्यजन्तु तिब्बततिर लैजाने गरिएको थियो। तिब्बतको परम्परागत औषधिमा अनेकौं वन्यजन्तुको उपयोग हुने गरेको हुँदा तिब्बती क्षेत्रमा नेपालबाट वन्यजन्तु तस्करी हुने गरेको थियो। ओत बापत तिब्बतबाट भेडा, च्याङ्ग्रा ल्याउने गरेको जुम्लातिरका बूढापाकाले सुनाएको श्रेष्ठ बताउँछन्। नेपालका खोलानाला तथा तालतलैया ओतको वासस्थान भएकाले तिब्बतीहरूले ओतलाई राम्रै मूल्यमा साटफेर गर्ने गरेको बुझिन्छ।
“नेपालमा २०२९ सालमा वन्यजन्तु चोरी शिकारी ऐन आएपछि वन्यजन्तु चोरी शिकारी कम भएको हो। त्यसअघि हुने गरेको समग्र वन्यजन्तु चोरी शिकारीमा ओत पनि अछूतो नरहेको बुझिन्छ,” श्रेष्ठ भन्छन्।
नेपालमा वन्यजन्तुको व्यवस्थित अध्ययन हुन थालेको हाराहारी चार दशक भयो। हाम्रीकहाँ पर्याप्त अनुसन्धान नै भएका छैनन्। “नेपालका अझ कति ठाउँमा ओत हुन सक्छन्, त्यसबारे अध्ययन हुन सकेको छैन,” श्रेष्ठ भन्छन्।
के हो ओत?
ओत पानीमा बस्ने सुन्दर प्राणी हो। माछा, भ्यागुता, गँगटा जस्ता ससाना जीव यसका आहारा हुन्। मुख्य आहारा माछा भए पनि यसले भ्यागुता, चरा लगायत प्राणी पनि खाने गरेको छ।
सन् १८२० देखि १८४३ सम्म नेपालमा बसेका बेलायती दूत ब्रायन हज्सनले नेपालमा धेरै प्रजातिका प्राणीको अभिलेखीकरण गरेका थिए। उनको प्राणी अभिलेखीकरणमा ओत पनि परेको थियो।
हज्सनपछिका प्राणीशास्त्रीहरूले नेपालमा कालो र खैरो गरी दुई प्रकारको ओत मात्र पाइएको उल्लेख गरेका छन्। “नेपालमा पाइने भनिएको तेस्रो प्रजाति सानो ओत त हजसन बाहेक अरूले देखेका छैनन्,” साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनका सागर दाहाल बताउँछन्।
विश्वमा १३ प्रजातिका ओत पाइन्छन्। नेपालमा भने तीन प्रजातिका ओत पाइन्छन्। नेपालमा पाइने ओतमा कालो (यूरेशियन ओटर), खैरो ओत (स्मूथ कोटेड ओटर), र सानो ओत (एशियन स्मल ओटर) गरेर तीन प्रकारका ओत पाइन्छन्। खैरो ओत शुक्लाफाँटा, बाँके, कोशी, बर्दिया, चितवन लगायत क्षेत्रमा पाइएको अभिलेख छ।
“नेपालमा ६ हजार खोलानाला छन् भनिन्छ। तिनमा आधाउधी त ठूला खोला छन्, त्यही भएर नेपालमा ओत पाइने सम्भावना धेरै छ,” श्रेष्ठ भन्छन्।
ओतबारे नेपालमा विगतमा अध्ययन गर्नेमा प्राध्यापकहरू पारसमणि आचार्य र सुनीललाल राजभण्डारीको टोली हो। आचार्यको समूहले चितवन राष्ट्रिय निकुञ्ज, कर्णाली र शुक्लाफाँटा क्षेत्रमा अध्ययन गरेको थियो। प्रा. आचार्य र जुद्धबहादुर गुरुङले २०४६ सालताका कास्की जिल्लाको रूपा र बेगनास ताल क्षेत्रमा गरेको अध्ययनमा कालो ओत पाइएको थियो। तर, सोही क्षेत्रमा १७ वर्षपछि त्रिवि वनविज्ञान विभागका अध्यापकहरू ज्योति भण्डारी र धु्रव जिसीको समूहले गरको अध्ययनमा भने ओत भेटिएन।
गत वर्षको भदौमा कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा अनुसन्धाता रमा मिश्रले जडान गरेको क्यामेरा ट्र्यापमा ओत कैद भएको थियो। उनले ‘फिसिङ क्याट’ का लागि राखिएको क्यामेरामा ओत रेकर्ड भएको हो। आरक्ष क्षेत्रको दक्षिणी भेगमा राखिएको क्यामरामा खैरो ओत (स्मूथ कोटेड ओटर) कैद भएको थियो।
कसरी मासियो ओत?
तराई र पहाडी क्षेत्रमा समेत पाइने ओत बढ्दो प्रदूषण, वासस्थानमा मानवीय हस्तक्षेप र वातावरणीय परिवर्तन जस्ता कारणले हराउँदै गएको हो।
“कुनै स्थानमा ओत देखिनु भनेको उक्त क्षेत्रको पानी तथा पोखरी स्वच्छ र जीवन्त छ भन्ने चिह्न हो,” दाहाल भन्छन्। खैरो ओत नारायणी, कर्णाली, बबई नदी, शुक्लाफाँटा सिमसार क्षेत्र तथा कैलालीका नदी क्षेत्रमा भेटिएको छ।
“विगतमा जाजरकोटको नलगाढ नदीको तिरमा पाइन्थ्यो भन्थे। अहिले खोलाको दुवै किनारमा एक्जाभेटर लगाएर बाटो बनाउँदा यो प्राणीको वासस्थान विनाश भयो,” संरक्षणकर्मी सञ्जन थापा भन्छन्, “मकालु–वरुण क्षेत्रमै पाँच वटा जलविद्युत् आयोजना बनिरहेका छन्। नदी किनारैकिनार बाटो बन्न थालेपछि साना प्राणीको वासस्थान विनाश भएको छ।”
भोजपुरको भुल्केमा स्थानीयहरूले ओतको मासु खाने गरेको बताउँछन् ५८ वर्षीय चूडामणि भट्टराई। हाल तराई झरेका भट्टराई ४० वर्षअघि आफू पहाडमा हुँदा मान्छेहरूले ओत मार्ने गरेको बताउँछन्। “पानी हुने ठाउँतिर पाइन्थ्यो, मान्छेहरू मारेर खान्थे,” उनी भन्छन्। ३८ वर्षदेखि इटहरीमा बसोबास गरेका उनले तराई क्षेत्रमा भने आफूले ओत नदेखेको बताए।
नारायणी नदी क्षेत्रमा सन् २००८ मा ओत भएको सङ्केत भेटिएका थिए, तर सन् २०१२ मा अध्ययन गर्दा त्यस्तो कुनै सङ्केत देखिएन। “पहिला भेटिएको ठाउँमा पर्यावरणीय परिवर्तनका कारण ‘कुर’ नै नाश भइसकेका हुनाले पाउन सकिएन। नयाँ ठाउँमा भने ओत पाइन सक्छन्। हालको उपलब्धिले पनि सकारात्मक सन्देश दिएको छ,” थापा भन्छन्।
नेपाल ओटर नेटवर्कले नेपालको सातै वटा प्रदेशको प्रतिनिधित्व हुने गरी सम्भावित ठाउँमा ओतको खोजीलाई जारी राखेको छ। देशको पूर्वी क्षेत्रको प्रदेश १ मा ओतको खोजीमा थापा तथा दिव्यराज दाहालको टोली सक्रिय छ। “माई खोला आसपास ओतको दिशा देखिए पनि क्यामेरा ट्र्यापमा भने भेटिएको छैन,” थापा भन्छन्, “आशा गरौं, भेटिन्छ होला।”
मधेश प्रदेशका लागि सुजिता ढकाल र रोहितराज झाको टोली सक्रिय छ। उनीहरूको टोलीले तराइका तालतलैया, त्रियुगा, कोशी नदी लगायतमा ओतको खोजी गर्नेछ। त्यस्तै, बागमती प्रदेशमा प्रा. पारसमणि आचार्य र डा. दिनेश न्यौपाने, पूर्णमान श्रेष्ठको टोली सक्रिय छ। बागमती प्रदेशमा तादी र लिखु खोला ओत सम्भावित स्थानका रूपमा चुनिएका छन्। गण्डकी प्रदेशमा सुवर्णराज घिमिरे, ध्रुवविजय जिसीको टोली सक्रिय छ।
नेपाल ओटर नेटवर्कमा आबद्ध संरक्षणकर्मीहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि ओतको खोजीमा छन्। लुम्बिनीमा ज्योति भण्डारीको अगुवाइमा बडिगाड खोलालाई ओत सम्भावित स्थान मानिएको छ भने कर्णालीमा सर्जन ग्वाछाको टोलीले ओत खोजी गर्ने तयारी गरिरहेको छ। त्यस्तै, मोहनविक्रम श्रेष्ठकै नेतृत्वमा सुदूरपश्चिमको पश्चिम सेती खोलामा पनि ओत खोजी भइरहेको छ।
“हेर्दा झण्डै झण्डै उस्तै देखिने हुँदा मानिसहरूमा ओत र निर बिरालोमा द्विविधा हुने गरेको छ”
ओतबारे अनभिज्ञता
नेपालमा आम मानिसलाई आफ्नो गाउँठाउँमा भएको प्राणीबारे थाहा हुन्छ। आफ्नो गाउँठाउँमा नभएको प्राणीबारे आम मानिस अनभिज्ञ हुन्छन्। तर, ओतबारे भने धेरै संरक्षणकर्मी पनि अनभिज्ञ छन्। नेपालका सबै संरक्षित क्षेत्रमा कार्यरत व्यक्तिसँग गरिएको सर्वेक्षणमा अधिकांशले ओतबारे अनभिज्ञता प्रकट गरेका थिए।
“हामीले केहीअघि गरेको अध्ययनमा संरक्षित क्षेत्रका ७० प्रतिशत व्यक्तिलाई ओतबारे थाहा रहेनछ,” दाहालले भने, “यो थाहा पाउँदा म आफैं पनि छक्क परें। यसले के देखिन्छ भने संरक्षणकर्मीबीच नै ओतबारे जानकारी अपुग रहेछ। त्यही भएर ओत संरक्षणको पहिलो चरणमा प्रजाति र संरक्षण शिक्षा आवश्यक देखिएको छ।”
फाउन्डेशनले ओतबारे तीन हजार थान जानकारी पुस्तिका सबै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, विद्यालय तथा सम्बन्धित अन्य निकायलाई गत वर्ष वितरण गरेको थियो। सो वितरण गर्नुको उद्देश्य ओतको चित्र सहितको सूचना र ओत देखिएमा जानकारी टिपेर पठाउने संयन्त्र विकास गर्ने लक्ष्य थियो।
धेरै मानिस निर बिरालो र ओतमा झुक्किने गरेको संरक्षणकर्मी बताउँछन्। “हेर्दा झण्डै झण्डै उस्तै देखिने हुँदा मानिसहरूमा ओत र निर बिरालोमा द्विविधा हुने गरेको छ,” संरक्षणकर्मी हरि बस्नेत भन्छन्, “निर बिरालो पानीमा आश्रित प्राणी होइन भने ओत त पूर्णतः पानीमै आश्रित प्राणी हो। यसको मुख्य आहारा माछा हो र यसले प्रायः सुक्खा ढुङ्गामा दिसा गर्छ।” उनले आफू ओतको खोजीमा रुकुमकोटमा जाँदा मान्छेहरूले ओतको छाला भनेर देखाएको छाला निर बिरालोको भएको बताए।
“नदी प्रदूषित हुँदा, सिमसार मासिंदा पनि ओत हराउँदै गए। भुस्याहा कुकुर तथा चोरी शिकार ओत हराउनुका अन्य कारण हुन्।”
ओत संरक्षणका चुनौती
नदीबाट बालुवा तथा ढुङ्गा उत्खनन, सिमसार दोहन, माछा मार्न ठूला जाल तथा बल्छीको प्रयोग लगायत कारणले ओतको वासस्थान विनाश हुँदा ओत संरक्षणका लागि चुनौती बन्दै गएको छ। खोला किनार बाटो बनाउने तथा ठूला जलविद्युत् आयोजनाका कामले गर्दा पनि नदीजन्य प्राणीलाई परेको असरले ओत पनि मारमा परेको छ।
आईयूसीएनको सूचीमा सङ्कटापन्न वर्गमा राखिएको ओत संवेदनशील प्राणी हो। सङ्कटापन्न जङ्गली वासस्थान तथा जीवजन्तुका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटीस) अनुसूचीको पहिलो अनुसूचीमा राखिएको छ। तीन वर्षअघि प्रकाशित तथ्याङ्कमा विगत २० वर्षमा बरामद भएका जनावरको छालामा केही छाला कालो ओतको पनि थियो।
संरक्षण कार्ययोजना
आईयूसीएन अन्तर्गतको हिमालयन ओटर नेटवर्कमा आबद्ध ओटर स्पेसलिस्ट ग्रुपको पहलमा गत वर्ष ओत संरक्षण कार्ययोजना बनेको थियो। सो कार्ययोजनाले नेपालका कुन कुन ठाउँमा ओत हुन सक्छन् भन्ने अध्ययनमा केन्द्रित हुने लक्ष्य राखेको थियो। सोही अध्ययनका आधारमा खोज हुँदा हाल नेपालका तीन ठाउँमा ओत रहेको पत्ता लागेको श्रेष्ठ बताउँछन्। उनका अनुसार, नेपालका पश्चिम सेती, सानी भेरी, उत्तर गङ्गा क्षेत्रमा ओत भएको अध्ययनले पुष्टि गरेका छन्।
आईयूसीएन ओटर स्पेसलिस्ट गु्रपको हिमालय क्षेत्रकी संयोजक मेलिसा स्याभेजका अनुसार, नेपाल तथा एशियाका ओत पाइने अन्य मुलुकमा वासस्थान विनाशले यो प्राणी सङ्कटमा परेको हो। “नदी प्रदूषित हुँदा, सिमसार मासिँदा पनि ओत हराउँदै गए,” मेलिसा भन्छिन्, “भुस्याहा कुकुर तथा चोरी शिकार ओत हराउनुका अन्य कारण हुन्।”
संरक्षण गरिएको मुलुकमा ओतको सङ्ख्या उल्लेख्य रूपमा बढेको र संरक्षण प्रभावकारी भएको उनी बताउँछिन्।