कसरी जोगाउने चौनी सिमसार?
सङ्कटापन्न मुजुर-प्वाँखे कछुवा सहितका जीवजन्तुको वासस्थान रहेको सिमसार मासेर होटल, रिसोर्ट र वनभोजस्थल बनाउन थालिएको छ।
युनेस्कोले २ फेब्रुअरी १९७१ मा इरानको क्यास्पियन समुद्री किनारमा रहेको रामसार शहरमा संसारभरको सिमसार क्षेत्रको संरक्षण र दिगो उपयोग गर्न एक अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो। उक्त महासन्धिमा हस्ताक्षर गर्ने राष्ट्रले सन् १९९७ यता २ फेब्रुअरीमा अन्तर्राष्ट्रिय सिमसार दिवस मनाउने गरेका छन्। यसलाई रामसार दिवस पनि भनिन्छ।
उक्त भेलाले संसारभरका अन्तर्राष्ट्रिय महत्त्व भएका सिमसार क्षेत्रलाई निश्चित मापदण्ड सहित रामसार सूचीमा राख्ने तय गरेको थियो। यस अनुसार पृथक् किसिमको प्राकृतिक सिमसार क्षेत्र जसमा मूलतः लोपोन्मुख, सङ्कटापन्न र अति सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको वासस्थान भए त्यसलाई रामसारमा सूचीकृत गर्न सकिन्छ। तर, यति मात्र रामसार सूचीमा पर्ने आधार होइन।
रामसारमा सूचीकृत हुन सम्बद्ध सिमसार क्षेत्रमा पानीमा आहारा खोज्ने करीब २० हजार पक्षी नियमित रूपमा हुनुपर्ने जनाइएको छ। यस्तै, यसको सातौं प्रावधानमा सिमसारमा स्थानीय स्तरमा पाइने माछाका प्रजाति हुनुपर्ने उल्लेख छ। त्यसै गरी नवौं प्रावधानमा चरा बाहेकको अन्य कुनै प्रजातिको कम्तीमा एक प्रतिशत नियमित रूपमा उल्लिखित सिमसार क्षेत्रमा आश्रित हुनुपर्नेछ।
नेपालमा अहिलेसम्म रामसारमा सूचीकृत १० वटा सिमसार क्षेत्र छन्। सबैभन्दा पहिले सूचीकृत भएको कोशीटप्पु वन्यजन्तु आरक्ष हो, सन् १९८७ मा। सबैभन्दा पछि पोखरा उपत्यकाका ठूला तालहरू फेब्रुअरी २०१६ मा सूचीकृत भए। केही वर्षअघि वन तथा वातावरण मन्त्रालयले नेशनल रामसार स्ट्राटेजी एन्ड एक्सनप्लान, नेपाल (२०१८-२०२४) जारी गरेको छ। यो कार्ययोजनामा सिमसार क्षेत्रको विविध आयामबारे चर्चा छ।
यसले सिमसार प्रवर्द्धन गर्ने तौरतरीका लिपिबद्ध गरेको छ। तर, हाम्रा कतिपय सिमसार क्षेत्र दिनानुदिन खस्किंदै गएका छन्। सिमसारहरू पुरिंदै छन्। कति त पुरिएर नामोनिशानै नामेट भएका छन्। अर्कातिर केही सिमसारलाई जानाजान पर्यटकीय स्थलका रूपमा अप्राकृतिक बनाउने काम गरिएको छ। यसले त्यहाँको जैविक विविधता त सकिन्छ नै, नेपाल सरकारले जारी गरेको नीतिमै चुनौती दिंदै छ।
चौनी सिमसार
झापाको सुदूर दक्षिण-पश्चिम भेगमा गौरीगन्ज गाउँपालिका छ। यो गौरीगन्जले १०१.३५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। पालिकाको पूर्वमा झापा गाउँपालिका, पश्चिममा मोरङ जिल्लाको रतुवामाई नगरपालिका, उत्तरमा झापाकै गौरादह नगरपालिका, कमल गाउँपालिका, शिवशताक्षी नगरपालिका र दक्षिणतर्फ भारत पर्छ।
अघिल्लो जनगणना २०६८ मा यो पालिकाभित्र राजवंशी, ताजपुरिया र सन्थाल भाषा बोल्नेको सङ्ख्या क्रमशः आठ हजार २३३, तीन हजार २६२ र तीन हजार सात थियो। त्यस्तै, मैथिली र नेपाली भाषा बोल्नेहरू क्रमशः सात हजार ४६३ र सात हजार ८९ जना थिए। यसले त्यहाँ गैरपहाडी मूलका बासिन्दाको जनघनत्व अत्यधिक छ भन्ने दर्शाउँछ।
सोही नगरपालिकाको वडा नम्बर २ मा पहिले करीब ३.५ वर्ग हेक्टरमा चौनी भनिने सिमसार थियो। यसलाई जगुदह पनि भनिन्थ्यो। अहिले त्यो सिमसार पुरिएर गाईबस्तु चरन क्षेत्र भएको छ। बर्खामा बचे/खुचेका खाल्डाखुल्डीमा पानी भरिन्छ। वर्षात्मा बाटो पुर्दा बनेका खाल्डामा पानी भरिन्छ।
पहिले चौनी सिमसार दुर्लभ वन्यजन्तुको वासस्थान थियो। त्यो पोखरीमा विश्वमै सङ्कटापन्न अवस्थामा रहेको कछुवा पाइन्थ्यो। स्नातकाेत्तर क्याम्पस, विराटनगरका उपप्राध्यापक मिलन खरेलले २००९ मा त्यहाँ निल्स्सोनिया हुरुम भनिने कछुवा फेला पारेका थिए। यसलाई आईयूसीएनले सङ्कटापन्नमा सूचीकृत गरेको छ। यसको सङ्ख्या प्रति वर्ष घट्दै गएको छ।
निल्स्सोनिया हुरुम अति सुन्दर कछुवा प्रजाति हो। यसको खपटा मुजुरको प्वाँखको जस्तो रङको हुन्छ। त्यसैले यसलाई मुजुर प्वाँखे कछुवा पनि भनिन्छ। यो प्रजाति नेपाल सहित भारत, बाङ्लादेश, पाकिस्तान र म्यानमारमा मात्रै पाइन्छ। यसको अत्यधिक व्यापार हुने भएकाले चोरी शिकारी समेत तीव्र छ। यसले शङ्खेकिरा, माछा, लामखुट्टेको लार्भा, चेपागाँडा आदि खान्छ। खपटा ६० सेन्टिमिटरसम्म लामो र वजन १५-२० केजीसम्म हुने यो कछुवा सात-आठ वर्षसम्म बाँच्छ।
खरेलले आफ्नो शोधमा चौनी सिमसारमा आश्रित ३९ प्रजातिका चरा सूचीकृत गरेका छन्। त्यहाँ नौ घुमन्ते र बाँकी ३० स्थानीय प्रजाति भेटिएका थिए। यस सिमसार क्षेत्रमा आईयूसीएनको रातो सूची अनुसार अन्तर्राष्ट्रिय रूपमा लोपोन्मुख श्रेणीमा परेको भुँडीफोर गरुड (लेसर एज्टेन्ड) उल्लेख्य सङ्ख्यामा आउने-जाने गर्छ।
खरेलले एशियन ओपेनविल भनिने चरा पनि त्यहाँ देखेका थिए जुन आईयूसीएनको रातो सूचीमा छ। यस्तै, वन्यजन्तु अध्येता अस्मित सुब्बाले दुई वर्षअघि त्यो ठाउँको नजिकै फल्वस विसलिङ डक देखेका थिए। त्यो आईयूसीएनको रातो सूचीमा परेको फिरन्ते पानीहाँस हो जुन नेपालमा कुनै कुनै वर्ष मात्र आएको तथ्याङ्क छ।
चौनी पोखरीलाई व्यवस्थापन गर्ने भनेर एक वर्षअघि भौतिक पूर्वाधार मन्त्रालयको तीन करोड ५० लाख र गाउँपालिकाको एक करोड ५० लाख गरेर जम्मा पाँच करोड विनियोजन भएको छ। दुई वर्षको समयावधि तोकिएको बजेट केन्द्रीय सरकारको पर्यटन मन्त्रालयको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत रकम विनियोजन गरेको बुझिन्छ।
चौनी पोखरी पुरिएर करीब करीब मासिएको अवस्थामा छ। अहिले सरकार त्यो जग्गामा मनोरञ्जनात्मक पर्यटकीय स्थल बनाउन लागेको छ। त्यति रकममा त्यो ठाउँमा खनेर पहिलेभन्दा अझ राम्रो सिमसार बनाउन सकिन्छ। आसपासका क्षेत्रमा कतै मुजुर प्वाँखे कछुवा बचेको भए त्यसलाई संरक्षण गर्न सकिन्छ। पहिलेकै जस्तो सिमसार बनाए त्यहाँ फल्वस विसलिङ डक र भुँडीफोर गरुड नियमित रूपमा आउन सक्छन्।
उक्त ठाउँको पश्चिममा कमला र पूर्वमा कन्काई नदी छन्। यसको पूर्व-दक्षिणमा करीब १८ किलोमिटर भारतीय सीमा पर्छ। भारतीय क्षेत्रमा ठूलो भुँडीफोर गरुड पाइन्छ। त्यो चरा नेपालमा नदेखिएको दशकौं भइसकेको छ। सिमसार बने त्यो चरा त्यहाँ आउन सक्छन्। तर, सरकार यस्तो ठाउँमा वनभोजस्थल, रिसोर्ट, होटल बनाउन र व्यावसायिक मत्स्यपालन गर्न लागेको देखिन्छ।
परियाेजनाले सिमसारको खिल्ली उडाइँदै
सरीसृप अध्येता कालुराम खम्बूले चौनी सिमसारलाई पूर्वी नेपालको मौलिक जैविक विविधताको खानीका रूपमा बुझेका थिए। उनको जग्गाजमीन पनि पहिले त्यहीं थियो। उनले यसको संरक्षण कसरी गर्ने भनेर सन् २००५ मा परियोजना पनि तयार गरेका थिए। खम्बूले बताए अनुसार यो सिमसार संरक्षणका लागि केही रकम उस वेला नै जुटेको हो। तर, अहिलेको स्थिति हेर्दा त्यो पोखरी कमाइखाने भाँडो भएको छ।
खम्बूको बुझाइमा कोरोबारी चौनी सिमसार क्षेत्रको विकास निम्ति विनियोजित पाँच करोड बजेट त्यसलाई प्राकृतिक स्वरूपमा फर्काउन नभई जैविक विविधता विनाशमा केन्द्रित छ। उक्त परियोजनाको उद्देश्य र गर्न लागेका कामबारे स्थानीयलाई जानकारी दिई पोखरीका नाममा गरिएको सम्पूर्ण खर्च सार्वजनिक हुनुपर्ने हो। तर, स्थानीय बासिन्दा यसबारे लगभग बेखबर जस्तै छन्।
“परियोजना सञ्चालक तथा सम्बद्ध सरकारी वा गैरसरकारी निकायले सिमसारभित्र रहेका मौलिक स्रोतको अन्वेषण, जीवजन्तु-वनस्पतिको संरक्षण गर्न आवश्यक छ,” खम्बू भन्छन्।