१६ हजार स्वाब परीक्षण गर्दा ५२९२ जनामा कोरोना
कोभिड-१९ को परीक्षण बढाउँदा आज सङ्क्रमितको सङ्ख्या पनि बढेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, देशभर १६ हजार ८८ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार २९२ जनामा कोरोना देखिएको छ। आइतबार १३ हजार १४५ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ५४० जनामा सङ्क्रमण देखिएको थियो।
कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये १० हजार ३६८ को पीसीआर परीक्षण गर्दा तीन हजार ४७२ जनामा र पाँच हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ८२० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७४३ पुगेको छ।
आज निको हुनेको सङ्ख्या भने केही बढेको छ। देशभर आठ हजार १९१ जना निको भएका छन्। आइतबार ६ हजार ३५९ जना निको भएका थिए।