बागमतीका दुई संसदीय समितिमा चुनाव हुँदै, एमाले सांसदको मात्रै उम्मेदवारी
बागमती प्रदेश सभाका दुई समितिको नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ। यसमा नेकपा (एमाले) का सांसदको मात्रै उम्मेदवारी परेको छ।
प्रदेश सभाका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति चयनका लागि आज निर्वाचन तोकिएको छ। सभापतिका लागि सत्तापक्षका सांसदले उम्मेदवारी दिएका छैनन्। निर्वाचनको विषयमा सत्तारूढ गठबन्धनमा छलफल नभएकाले उम्मेदवारी नदिएको जनाइएको छ।
आइतबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो। तोकिएको समयमा अर्थ समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा समितिमा केशवप्रसाद पोखरेलको उम्मेदवारी परेको छ।
अर्थ समितिमा २० जना सदस्य छन्। सभापति सुरेश नेपाल प्रदेश सरकारको मन्त्री नियुक्त भएपछि यो समिति वैशाखबाट सभापतिविहीन छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य छन्। शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल पनि मन्त्री भएका छन्। यो समिति पनि नेतृत्वविहीन रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बताए।
अर्थ समितिको सभापति पदको निर्वाचन सोमबार मध्याह्न १२ बजेका लागि तय गरिएको छ। शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ।