कारोबार र मूल्य व्यवस्थित गर्न भन्दै घरजग्गा दलाल कम्पनी संगठित
घरजग्गा कारोबार गर्ने दलाल कम्पनीहरुले छाता संगठन स्थापना गरेका छन् ।
‘नेपाल रियल स्टेट अर्गनाइजेशन (एन–रियो)’ नाममा स्थापित उक्त संस्थाले घरजग्गाका दलाल कम्पनीहरुलाई क्षमता विकासमा सघाउने, शहरी तथा शहरोन्मुख क्षेत्रको घरजग्गाको मूल्यलाई व्यवस्थिन र एकरुपतामा ल्याउने अध्यक्ष नरेस सिंहले जानकारी दिए ।
सरकारले गत वर्षको बजेटमार्फत् घरजग्गा कारोबारलाई व्यवस्थित गर्न दलाल कम्पनीहरु खोल्ने व्यवस्था अघि बढाएको थियो ।
व्यक्तिगत दलालहरुले घरजग्गा कारोबारको मध्येस्थता गर्दै आएकोमा त्यसले कालोधनलाई शुद्धिकरण गर्ने बाटो खोलेको र ठूलो मात्रामा राजश्व छली भएको भन्दै सरकारले ब्रोकर कम्पनी सञ्चालन गर्ने बाटो खोलेपछि दलाल कम्पनीहरु स्थापना हुन थालेका हुन् ।
तिनै दलाल कम्पनीहरुले अहिले पनि व्यक्तिगत दलालको प्रभाव निकै बलियो भएको र त्यसले गर्दा घरजग्गाको भाउ अस्वभाविक रुपमा बढेको भन्दै त्यसलाई नियन्त्रण र व्यवस्थित गर्न छाता संस्था स्थापना गरिएको बताएका छन् ।
पछिल्लो समय घरजग्गा कारोबारमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएको भन्दै त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मुल्य पत्ता लगाउन पनि नयाँ संस्था संचालनमा ल्याउनु परेको अध्यक्ष सिंह बताउँछन् ।
व्यक्तिगत दलालको मुखबोलीमा जग्गाको मूल्य निर्धारण हुने अवस्थाले काठमाडौं मात्र होइन भर्खरै विकास निर्माण शुरु भएका ठाउँमा समेत घरजग्गाको भाउ अस्वभाविक बढेको उनको भनाइ छ ।
बिक्रेतालाई पनि मर्का नपर्ने, खरीदकर्तालाई पनि सर्वसुलभ हुनेगरी मूल्य निर्धारण गर्न संस्थाले प्रयत्न गर्ने उनको दाबी छ ।
यसका लागि अर्गनाइजेशनले ‘मल्टी लिस्टिङ सिस्टम (एमएलएस)’ तयार गरेको छ ।
उक्त अनलाइन प्रणालीमा घरजग्गा दलाल कम्पनीहरुले बिक्रीका लागि राखिएको जग्गाको विवरण र यथार्थ मूल्य सम्बन्धी जानकारी प्रकाशन गर्ने छन् । यो एक ‘सपिङ साइट’ जस्तै हुने बताइएको छ ।
१६ जेठमा आयोजित उक्त संस्थाको उद्घाटन समारोहमा नेपाल सरकारका पूर्व सचिव तथा इन्ष्टिच्यूट फर अर्बन रिसर्च स्टडिज का अध्यक्ष किशोर थापाले उक्त संस्थाले घरजग्गा कारोबारमा ठूलो सुधार ल्याउने बताएका छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि दलालहरुको छातासंस्थाले घरजग्गा कारोबारलाई मर्यादित र व्यस्थित बनाउन सहयोग पुग्ने बताए ।
नेपाल ल्याण्ड एण्ड हाउजिङ डेभलपर्स एशोसिएसनका उपाध्यक्ष दिपक कुँबरले घरजग्गा कारोबारलाई सहजिकरण गर्न संस्थाले उल्लेख्य भूमिका निर्वाह गर्ने बताए ।
पछिल्लो समय राज्यले घरजग्गा कारोबारमा संकुचनकारी नीति अवलम्बन गरेको जानकारी दिँदै त्यसमा सुधार ल्याउन नीतिनिर्माण तहमा समेत लविङ गर्नुपर्ने उनको भनाइ छ ।
संस्थाका महासचिव विनोद सुवेदीले घरजग्गा कारोबार सम्बन्धी जनचेतना फैलाउन र विद्यमान अस्वस्थ्य प्रतिस्पर्धा रोक्दै अनलाइनबाटै कारोबार गर्ने प्रणालीको विकास गर्न संस्थाले प्रयास गर्ने बताएका छन् ।
पछिल्लो समय यातायात व्यवसायी, शैक्षिक संस्था, ब्याङ्क तथा वित्तीय संस्था, बीमादेखि तरकारी व्यवसायीसम्मले छाता संस्थाको नाममा मिलेमतो गर्ने र मूल्यश्रृङ्खलालाई प्रभावित पार्ने काम भइरहेको अवस्थामा घरजग्गा कारोबारमा जन्मिएको नयाँ संस्थाले त्यस्तो कार्टेलिङ प्रवृित्तलाई इन्कार गर्नसक्नुपर्ने जाकारहरुको सुझाव छ ।
मिलेमतो भएका भूमिको स्वामित्वलाई एकत्रित गर्ने जोखिम हुन्छ, जुन बढ्दै गएको असमानताको खाडल घटाउने सरकारको प्रयासमाथि नयाँ चुनौती बन्न सक्छ ।
सम्भावित विकृतिलाई रोक्न सरकारले घरजग्गा करोबारको प्रभावकारी नियमन गर्ने संयन्त्र तयार गर्नुपर्ने अर्थविद्हरु बताउँछन् ।