अनुवाद अड्चन
संस्थागत अग्रसरता नहुँदा र खारिएका अनुवादकको कमीका कारण एकातिर नेपाली कृतिको पर्याप्त अनुवाद हुन सकेको छैन, अर्कातिर अन्तर्राष्ट्रिय मञ्चमा देखिने गरी बलियो उपस्थिति छैन।
दक्षिणएशियाका पुस्तकप्रेमीको ध्यान तान्न सफल भारतको ‘जयपुर साहित्य महोत्सव’ मा बाह्र वर्षदेखि श्रोताका रूपमा सहभागी हुँदै आएका लेखक बुद्धिसागर यस पटक वक्ताको भूमिकामा हुनेछन्। उनीसँगै मञ्चमा हुनेछन् दार्जीलिङका नेपालीभाषी लेखक छुदेन काविमो।
डेढ दशक पुरानो प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवमा यी दुई लेखकलाई यस्तो अवसर अङ्ग्रेजीमा अनूदित उनीहरूका कृतिले जुराइदिएका हुन्। माइकल हटले अनुवाद गरेको बुद्धिसागरको कर्नाली ब्लुज भारतको पेनगुइनले प्रकाशन गरेको हो। त्यस्तै, काविमोको फातसुङ गान्तोकको रचना बुक्स र बेलायतको बेलिस्टर प्रेसबाट प्रकाशन भएको हो, जसको अनुवाद अजित बरालले गरेका हुन्।
“अङ्ग्रेजी अनुवादले गर्दा नै ठूलो क्षेत्रका श्रोतामाझ पुग्ने अवसर मिल्यो, विश्वविद्यालयमा पाठ्यपुस्तक पनि तोकिए।”
जयपुरमा आफ्नो कृतिको अङ्ग्रेजी अनुवाद सहित उपस्थित हुने कुराले बुद्धिसागर उत्साहित छन्। उनी भन्छन्, “नेपाली पाठकलाई भनेर लेखिएका कृति विदेशी पाठकसम्म पनि पुग्नुले नेपाली साहित्यको नयाँ सम्भावनाको ढोका खोल्नेछ।”
छुदेन पनि उस्तै हौसिएका छन्। भन्छन्, “अङ्ग्रेजी अनुवादले गर्दा नै ठूलो क्षेत्रका श्रोतामाझ पुग्ने अवसर मिल्यो, विश्वविद्यालयमा पाठ्यपुस्तक पनि तोकिए।”
अङ्ग्रेजीमा सबै भाषाका प्रायः विधाका कृति अनुवाद हुने गरेका छन्। “विश्वको सम्पर्क भाषा नै अङ्ग्रेजी भइसकेको छ, तसर्थ वैश्विक अस्तित्व कायम गर्न पनि अङ्ग्रेजीमा अनुवाद जरुरी देखिन्छ,” अङ्ग्रेजी साहित्यका अध्यापक रमेश लम्साल भन्छन्।
विश्व साहित्यले विविध खालका लेखन खोजिरहेको हुँदा नेपाली कृतिहरू विदेशीको नजरमा पर्न थालेको प्रकाशन संस्था फाइनप्रिन्टका सहसंस्थापक समेत रहेका अनुवादक बरालको ठम्याइ छ। “पश्चिमा तथा भारतीय प्रकाशन गृहले अन्य संस्कृति र समुदायका उम्दा कृति खोज्ने क्रम तीव्र बनाएको देखिन्छ,” उनी भन्छन्, “हामीले भने अन्तर्राष्ट्रिय बजार र पाठक पाउन पनि अनुवाद गर्नुपर्ने अवस्था छ।”
नेपाली साहित्यले थप फड्को मार्न अङ्ग्रेजी अनुवाद अत्यावश्यक रहेको लेखक तथा अनुवादक प्रवीण अधिकारी बताउँछन्। “त्यसैले पनि प्रकाशन गृहहरू अनुवादमा अग्रसर भएका हुन्,” उनी भन्छन्, “अबका दिनमा मातृभाषाका साहित्यलाई पनि नेपालीमा अनुवाद गर्नुपर्ने चुनौती छ।”
“अबका दिनमा मातृभाषाका साहित्यलाई पनि नेपालीमा अनुवाद गर्नुपर्ने चुनौती छ।”
अनुवादको विगत
१२३ भाषा बोलिने नेपालमा नेपाली भाषाको साहित्य लेखन संस्कृत कृतिहरूको अनुवादबाट शुरू भएको हो। करीब तीन करोड जनसङ्ख्याको कामकाजी तथा सम्पर्क भाषा रहेकाले पनि धेरै कृति नेपालीमै छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अनुवाद विषय प्राध्यापनरत बलराम अधिकारीका अनुसार, नेपाली साहित्य अनुवादको थालनी महाकवि लक्ष्मीप्रसाद देवकोटाले २०१६ सालमै गरेका हुन्। “आफ्नो सम्पादकत्वमा निस्केको इन्द्रेणी पत्रिकामा महाकविले आफ्ना तथा अन्य कविका रचनालाई अङ्ग्रेजीमा अनुवाद गरेका थिए,” उनले भने, “इतिहास लामो भए पनि नेपाली साहित्यको अनुवाद समृद्ध र निरन्तर भएन।”
२०४६ यता भने यस्तो अनुवाद कार्य द्रुत रूपमा हुन थालेको अधिकारी बताउँछन्। “पछिल्ला दिन अधिकांश अनुवाद अङ्ग्रेजी भाषाबाट नेपालीमा हुने गरेको देखिन्छ। मातृभाषाबाट नेपालीमा र नेपालीबाट अङ्ग्रेजी लगायत भाषामा पनि अनुवाद हुने गरेको छ,” उनी भन्छन्।
विश्वमञ्चमा नेपाली अनूदित साहित्यको पकड बनाउन भने अझ धेरै काम गर्नुपर्ने अधिकारीको बुझाइ छ। “पहिलो कुरा त यसलाई संस्थागत गर्नुपर्छ,” उनी भन्छन्, “यो विषय पढाउन थालिएको भर्खर १५ वर्ष मात्र भयो। अनुवादमा सैद्धान्तिक पढाइभन्दा पनि व्यावहारिक ज्ञान महत्त्वपूर्ण हुन्छ।”
शिक्षा क्षेत्रमा अनुसन्धानरत लोकरञ्जन पराजुली २०४६ सालपछि ह्वात्तै बढेका निजी शिक्षालयले अङ्ग्रेजीप्रेमी पुस्ता हुर्काउन प्रेरित गरेको ठान्छन्। “प्रजातन्त्र पुनर्बहालीपछि शिक्षामा निजी क्षेत्रको लगानी र लगावसँगै अङ्ग्रेजी माध्यममा पढ्ने-पढाउने क्रम बढ्दै जाँदा अङ्ग्रेजीमैत्री पुस्ता हुर्कन थालेको हो,” उनी भन्छन्, “यसमा प्रविधि र इन्टरनेट विस्तारको पनि योगदान रह्यो।”
“हालसम्म ३५ जति उपन्यास र २५ जति कथा सङ्ग्रह नेपालीबाट अङ्ग्रेजीमा अनुवाद भएका छन्”
आख्यान अगाडि
नेपाली साहित्य अनुवादमा आख्यानले मुख्य स्थान ओगटेको छ। यद्यपि, आख्यान लेखनको झण्डै ९० वर्षे इतिहासमा अनूदित कृतिको सङ्ख्या खासै धेरै होइन। “हालसम्म ३५ जति उपन्यास र २५ जति कथा सङ्ग्रह नेपालीबाट अङ्ग्रेजीमा अनुवाद भएका छन्,” अनुवादक समेत रहेका बलराम अधिकारी भन्छन्। यी कृतिका अनुवादमा नेपाली तथा विदेशीको योगदान छ। बढीजसो प्रतिष्ठित पुरस्कार पाएका तथा चर्चित आख्यान अनुवाद हुने गरेका छन्।
अबको पाँच वर्षमा अङ्ग्रेजी अनूदित कृति उल्लेख्य सङ्ख्यामा उपलब्ध हुने अनुमान पनि अधिकारी गर्छन्। “सबैजसो अनुवादक कुनै न कुनै कृतिमा व्यस्त हुनुहुन्छ,” उनी भन्छन्, “अनुवाद कर्म नै वैकल्पिक पेशा बनिरहँदा अनूदित कृतिको सङ्ख्या बढ्छ नै।”
सीमा र समस्या
अनुवादको गुणस्तरबारे भने वेलाबखत प्रश्न उठ्दै आएको छ। प्रकाशन संस्था हिमाल बुक्सका वसन्त थापा नेपाली अनुवादको स्तर राम्रो नभएको बताउँछन्। अनुवादक समाज नेपालका संस्थापक समेत रहेका उनी गुणस्तरका लागि कृति लेखिएको र अनुवाद गर्न लागिएको भाषा दुवैमा अनुवादकको पकड हुनुपर्नेमा जोड दिन्छन्।
“लेखन बरु सजिलो होला, अनुवाद छैन,” थापा भन्छन्, “अनुवाद भनेको भाषान्तरण मात्र होइन। मूल कृतिमा लेखकले व्यक्त गरेको भाव र विचारको पनि रूपान्तरण हो। हामीकहाँ त्यस्तो अनुवाद गर्न सक्ने व्यक्ति ज्यादै कम छन्।”
झण्डै चार दशकदेखि अनुवादमा समेत कलम चलाउँदै आएका लेखक खगेन्द्र संग्रौलाको तर्क छ, “मूल कृतिमा हुने उखान, टुक्का, मुहाबरा जस्ता भाषिक तत्त्वलाई लक्षित भाषामा रूपान्तरण गर्न नसकिए अनुवाद उँट बन्न पुग्छ।”
“नेपाली साहित्यको अनुवाद पर्याप्त छैन, अलि अलि अनुवाद गरेका भरमा अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाउन सकिँदैन।”
प्रकाशक बराल एक जनाले गरेको अनुवाद दोस्रो-तेस्रो व्यक्तिसम्मले जाँच गरे बल्ल राम्रो कृति तयार हुने बताउँछन्। “तर नेपालमा यसरी अनुवाद हुन सकेको छैन,” उनले भने।
अनुवादक महेश पौड्यालका बुझाइमा नेपालमा तालीम र संस्थागत पहलभन्दा लहडमा अनुवाद हुने गरेको छ। “हामी जति पनि अनुवादक छौं, सबैजसो तालीमप्राप्त होइनौं,” उनी भन्छन्, “सैद्धान्तिक ज्ञानभन्दा पनि रहरले गर्दागर्दै सिक्दै छौं।”
कृष्ण धरावासीको राधा, नीलम कार्की निहारिकाको योगमाया जस्ता पुस्तक अनुवाद गरेका पौड्याल आफूहरूसँग अङ्ग्रेजी भाषाको किताबी ज्ञान मात्र रहेको र रैथाने लवज, उखानहरूसँग भिज्न नसक्दा अनुवादमा सीमितता भएको ठान्छन्। यसमा प्रकाशक थापा पनि सहमत छन्। भन्छन्, “नेपाली साहित्यको अनुवाद पर्याप्त छैन, अलि अलि अनुवाद गरेका भरमा अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाउन सकिँदैन।”
प्रकाशक बराल यो स्थितिलाई नेपालको आयातमुखी परिदृश्य साहित्यमा पनि प्रतिविम्बित भएको रूपमा व्याख्या गर्छन्। “हाम्रो अनुवाद उता जानेभन्दा पनि उताको अनुवाद यता आउने क्रम बढी छ,” उनी भन्छन्।
अन्तर्राष्ट्रिय बजारमा नेपाली साहित्यको पकड मजबूत बनाउन सरकारी तवरबाटै काम हुनुपर्ने ७५ वर्ष पुरानो प्रकाशन संस्था रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठ बताउँछन्। “अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लेखकको उपस्थिति बनाउन प्रकाशकहरूबाट मात्रै सम्भव छैन,” उनी भन्छन्, “राम्रो अनुवादलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रकाशन गृह मार्फत लगिए बजार पाउन सकिन्छ।”
लेखक संग्रौला भने विगतमा अनुवाद कर्म दयनीय रहेकोमा अहिले व्यावसायिक रूप लिन थालेको बताउँछन्। “अहिले स्तरीय अनुवादकको पनि माग बढ्दै गएको छ, जुन खुशीको कुरा हो,” उनी भन्छन्। अनुवादक बलराम अधिकारीका अनुभवमा पनि १५ वर्षअघि अनुवाद कर्म स्वयंसेवाका रूपमा थियो। “तर अहिले वैकल्पिक पेशा बन्न सक्ने गरी काम आइरहेको छ,” सुकरातका पाइला लगायत उपन्यास अनुवाद गरेका उनी भन्छन्।
अनुवादक प्रवीण चाहिं विकासे कामको अनुवादमा रामै्र पैसा भए पनि साहित्यतर्फ त्यस्तो नरहेको बताउँछन्। “प्रकाशकहरूले अनुवादकलाई पनि निश्चित प्रतिशत लेखकस्व दिए यो दीर्घकालमा गुजाराको माध्यम बन्ला,” उनले भन्छन्, “अहिलेको अभ्यासले त साहित्य अनुवाद फस्टाउँदैन।”
“नेपाली भाषाका कृतिलाई अनुवादद्वारा भित्र्त्याउने अन्य राष्ट्रिय भाषामा तामाङ, थारू, मगर, लिम्बू, भोजपुरी पनि पर्छन्।”
नेपालीबाट अन्य भाषामा धेरै
विगतमा अन्य भाषाबाट नेपालीमा कृति अनुवाद हुने गरेका थिए भने हाल नेपालीबाट पनि अन्य भाषामा हुँदै छन्। नेपालीबाट सबैभन्दा बढी अनुवाद नेपालभाषा अनि त्यसपछि मैथिली र अवधीमा भएको पाइन्छ। “नेपालीबाट हिन्दी, उर्दू, बंगाली भाषामा पनि अनुवाद भएका छन्, तर सङ्ख्या न्यून छ,” बलराम अधिकारी भन्छन्, “नेपाली भाषाका कृतिलाई अनुवादद्वारा भित्र्त्याउने अन्य राष्ट्रिय भाषामा तामाङ, थारू, मगर, लिम्बू, भोजपुरी पनि पर्छन्।”
‘अनुवाद ग्रन्थसूची’ अनुसार १८५५ देखि २०५८ सालसम्म अन्य भाषाबाट नेपालीमा करीब ६११ कृतिको अनुवाद भएको देखिन्छ। तर, नेपालीबाट अन्य भाषामा १३२ वटा जति मात्र अनुवाद भएका छन्।
नेपाल प्रज्ञा-प्रतिष्ठानको पहलमा नेपालीतर्फ आत्मकथा तथा जीवनी, इतिहास र संस्कृति, उपन्यास, कथा÷लोककथा, कविता, नाटक, निबन्ध, बाल साहित्य र साहित्यशास्त्रका केही कृति अनुवाद भएका छन्। त्यस्तै, नेपालीबाट नाटक, कविता र कथाका कृति अन्य भाषामा लगिएका छन् जसमा कथाकै बाहुल्य छ।
संस्थागत पहल आवश्यक
अहिलेका अनुवाद व्यक्तिगत प्रयासमा भइरहेकाले तिनले राष्ट्रिय साहित्यको प्रतिनिधित्व नहुने पौड्याल बताउँछन्। “त्यसका लागि प्रज्ञा-प्रतिष्ठान लगायत निकाय अग्रसर हुनुपर्छ,” उनी भन्छन्, “विशेष गरी नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्न योजनाबद्ध कार्यक्रम चलाइनुपर्छ।”
‘नेपालमा अनुवादको इतिहास’ शीर्षकमा शोध गरेका बलराम अधिकारीका अनुसार, प्रतिष्ठानले स्थापना कालदेखि २०५९ सालसम्मको ४५ वर्षमा एक दर्जन कृति नेपालीमा अनुवाद गरेको छ। त्यस्तै, अर्को सरकारी निकाय साझा प्रकाशनबाट सोही अवधिमा अन्य भाषाबाट नेपालीमा १३ र नेपालीबाट अङ्ग्रेजीमा जम्मा दुई गरी १५ वटा कृति अनुवाद भएको देखिन्छ।
(हिमालको २०७८ माघ अंकबाट।)