काठमाडौं बाहिर पनि बढ्दै कोरोना सङ्क्रमण
कोरोनाभाइरसको सङ्क्रमण काठमाडौं उपत्यका बाहिर पनि बढ्दै गएको छ।
देशभर पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यका बाहिर रहेका छन्। केही दिनअघि देशभर पुष्टि भएकामध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका थिए।
शनिबार देशभर देखिएका चार हजार ९०४ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ८२० छन्। जसमध्ये काठमाडौंमा एक हजार ४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ रहेका छन्।
जबकि, दुई साताअघि १ माघमा देशभर पुष्टि भएका चार हजार ६३६ सङ्क्रमितमध्ये दुई हजार २१९ काठमाडौंमा थिए। त्यस्तै, ८ माघमा देशभर देखिएका १० हजार २५४ जनामध्ये पाँच हजार ३०६ काठमाडौं उपत्यकामा थिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या २० पुगेको छ। जबकि, दुई साताअघि १ माघमा काठमाडौं उपत्यकाका तीन सहित आठ जिल्लामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी थियो।
अहिले प्रदेश १ का मोरङ, सुनसरी र झापा, मधेशका धनुषा, सप्तरी र सिराहा, बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे र नुवाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी छ।
त्यस्तै, गण्डकीका कास्की, नवलपरासी (पूर्व) र तनहुँ, लुम्बिनीका रुपन्देही, बाँके र दाङ तथा सुदूरपश्चिमको कैलालीमा पनि सक्रिय सङ्क्रमित पाँच सय नाघेका छन्।
यसै गरी दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या पनि १६ पुगेको छ। दुई साताअघि १ माघमा सात जिल्लामा मात्रै दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित थिए।