ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त
ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई बेलायतका लागि राजदूत नियुक्त गरेकी हुन्। सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा श्री ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।’
११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि राजदूत सिफारिश गरेको थियो। उनीसँगै भारतका लागि शङ्कर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिश गरिएको थियो।
शर्मा र खत्रीको नाममा पनि संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ।