एक वर्षमा लगाइयो ३ करोडभन्दा बढी खोप
कोभिड-१९ विरुद्ध एक वर्षमा देशभर बुस्टर डोज सहित ३ करोडभन्दा बढी डोज खोप लगाइएको छ।
गत वर्ष १४ माघदेखि कोरोना विरुद्ध खोप लगाउन थालिएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो। त्यसपछि ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र दीर्घरोगीलाई खोप दिन थालिएको थियो।
अहिलेसम्म १२ वर्षभन्दा माथिका सबैलाई खोप दिन थालिएको छ। केही दिनभित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने सरकारको तयारी छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, अहिलेसम्म तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ। जसमध्ये एक करोड ६४ लाख ५८ हजार ४७५ जनालाई पहिलो डोज र एक करोड ३७ लाख ३४ हजार ३९० जनालाई पूर्ण खोप लगाइएको छ।
त्यस्तै, दुई लाख ८२ हजार ७२४ जनालाई बुस्टर डोज लगाइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। अहिले अग्रपङ्क्तिमा खटिने व्यक्ति तथा ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र दीर्घरोगीलाई बुस्टर डोज लगाउन थालिएको छ।
अहिलेसम्म चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको छ। जसमा कोभिशिल्ड, अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, मोडर्ना, फाइजर र भेरोसेल छन्।
यसमा सबैभन्दा बढी भेरोसेल एक करोड ९१ लाख २७५ डोज रहेको छ। त्यस्तै, कोभिशिल्ड र अस्ट्राजेनेका पनि एक करोड एक लाख १३ हजार ६० डोज आएको छ।
अहिलेसम्म लक्षित समूहमध्ये ६८.९ प्रतिशतलाई पूर्ण खोप र ८२.६ प्रतिशतलाई पहिलो डोज दिइएको छ। त्यस्तै, देशको कुल जनसङ्ख्याको ४५.२ प्रतिशतलाई पूर्ण खोप र ५४.२ प्रतिशतलाई पहिलो डोज दिइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।