कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै, एक सातामा ५५ जनाको मृत्यु
कोभिड-१९ को सङ्क्रमणबाट एक सातामा ५५ जना सङ्क्रमितको मृत्यु भएको छ। यो अघिल्लो साताको भन्दा दोब्बर हो।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तथ्याङ्क अनुसार, दुई साताअघि सबैभन्दा बढी सङ्क्रमितको मृत्यु हुँदा एकै दिनमा चार जनाको मृत्यु भएको थियो। त्यसको एक साताअघि यो सङ्ख्या दुईमा थियो।
८ माघमा मृतकको सङ्ख्या बढेर १६ पुगेको थियो। यो नै पछिल्लो साताको सबैभन्दा धेरै मृत्यु भएको तथ्याङ्क हो। आज १५ जनाको मृत्यु भएको छ।
जीवाणु वैज्ञानिकहरूका अनुसार, महामारीको भविष्यवाणी दुई साताको सङ्क्रमणको अवस्था हेरेर गरिन्छ। अर्थात् आजको सङक्रमितको आधारमा दुई सातापछिको मृत्यु कस्तो हुन्छ भनेर अनुमान गर्न सकिन्छ। जीवाणु वैज्ञानिक डा. सुदीप खड्काका अनुसार, ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलन थालेको दुई साता नाघेकाले मृत्यु पनि बढ्न थालेको हो। गत सातादेखि मृतकको सङ्ख्या बढ्दै गएको छ।
७ माघमा देशभर तीन जनाको मृत्यु हुँदा त्यसको भोलिपल्ट १३ जनाको मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार, ८ माघमा मृत्यु भएका १६ मध्ये नौ जना वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत दीर्घरोगी थिए। त्यस्तै, ९ माघमा चार जना, १० माघमा चार जना, ११ माघमा आठ जना, १२ माघमा पाँच र १३ माघमा १५ जनाको मृत्यु भएको छ।
डा. खड्काका अनुसार, सङ्क्रमण समुदायमा फैलिन थालेको शुरूआती चरणमा चलायमान (प्रायः युवा) समूहबाट कम चलायमान (वृद्ध) तर ज्यादा जोखिम रहेको समूहमा फैलिन थाल्छ।
त्रिवि शिक्षण अस्पतालको आईसीयूमा कार्यरत क्रिटिकल केयर फिजिसियन डा. हेमराज पनेरू आईसीयूमा भर्ना भएका अधिकांश बिरामी दीर्घरोग भएर उपचार गराइरहेका छन्। उनका अनुसार, यो लहरमा दीर्घरोग भएका र वृद्धवृद्धा आईसीयूमा छन्। “अहिले आईसीयूमा भएका अन्य दीर्घरोगका उपचार गराइरहेकाहरू छन्, त्यसैले दीर्घरोगीको ख्याल गर्नुपर्छ।”
डा. खड्का अहिले नेपालमा गम्भीर लक्षणका बिरामी र मृत्युदर बढ्ने समय भएको बताउँछन्। उनका अनुसार, अहिले सङ्क्रमित भएकामध्ये धेरै वृद्धवृद्धा तथा दीर्घरोगीको मात्रै मृत्यु हुँदा पनि त्यो सङ्ख्या ठूलो हुन जान्छ। उनी भन्छन्, “ओमिक्रोन भेरियन्टले युवालाई गम्भीर नबनाउने, श्वासप्रश्वासमा समस्या नदेखिने भनिए पनि वृद्धवृद्धा र दीर्घरोगीलाई सङ्क्रमणबाट बचाउन सकिएन भने त्यो सङ्ख्या ठूलो हुन जान्छ।”