मन्त्री रेणु यादव विरुद्ध प्रहरीमा उजुरी
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ।
कांग्रेस नेता एवं सप्तरीको तिलाठी कोइलाडी-५ का रञ्जित कर्णले हुलाक मार्फत प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। सप्तरी जिल्ला प्रहरी कार्यालयले उजुरी नलिएपछि हुलाक मार्फत रौतहटमा उजुरी दिएको उनले बताए।
५ माघमा रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन्। ७ चैत २०६३ मा गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो।
त्यही विषयलाई लिएर कर्णले उनी विरुद्ध प्रहरीमा उजुरी दिएका हुन्। साम्प्रदायिक द्वन्द्व फैलाउने दिएको उजुरीमा उल्लेख छ।
यससँगै कर्णले जिल्ला प्रशासन कार्यालय, सप्तरी मार्फत प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा मन्त्री यादवलाई कारबाही गर्न माग गरिएको छ।