कोरोनाबाट १५ जनाको मृत्यु, ८ हजारमा सङ्क्रमण
कोरोनाभाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज २१ हजार ८०८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बुधबार २० हजार ३५९ जनाको स्वाब परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पुष्टि भएको थियो।
१५ हजार ७३६ को पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र ६ हजार ७२ को एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना देखिएको हो।
आज कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने बढेको छ। बुधबार पाँच जनाको मृत्यु भएको थियो भने आज १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६८७ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि आठ लाख ३७ हजार चार पुगेको छ। सक्रिय सङ्क्रमित पनि ९० हजार ५७६ पुगेका छन्।