९० हजारमध्ये ८८ हजार कोरोना सङ्क्रमित घरमै
कोभिड-१९ को तेस्रो लहरमा अधिकांश सक्रिय सङ्क्रमित घरमै रहेका छन् भने दुई प्रतिशत मात्रै अस्पताल भर्ना भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बिहीबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ छ। जसमध्ये ८८ हजार २४८ जनामा घरमा आइसोलेशनमा बसेका छन्।
अहिलेसम्म एक हजार ८१९ जना मात्रै अस्पताल भर्ना भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। यो भनेको सक्रिय सङ्क्रमितको २.०२ प्रतिशत मात्रै हो।
अस्पताल भर्ना भएकामध्ये पनि गम्भीर बिरामीको सङ्ख्या न्यून रहेको छ। अस्पताल भर्ना भएका एक हजार ८१९ जनामध्ये २५१ जनालाई आईसीयूमा र ४८ जना भेन्टिलेटरमा उपचाररत छन्।
अहिलेसम्म देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ६३ हजार ६ जना छन्। उनीहरूमध्ये एक हजार १०२ जना अस्पताल भर्ना भएका छन्। जसमध्ये १७५ जना आईसीयूमा र ४१ जना भेन्टिलेटरमा उपचाररत छन्।
त्यस्तै, प्रदेश १ मा रहेका सक्रिय सङ्क्रमितमध्ये नौ हजार ३७५ जना घरमै छन् भने ८१ जना अस्पताल भर्ना भएका छन्। उनीहरूमध्ये २७ जनालाई आईसीयूमा र पाँच जनालाई भेन्टिलेटरमा राखिएको छ।
तेस्रो नम्बरमा रहेको गण्डकीमा पाँच हजार ७५५ जना सङ्क्रमित घरमै छन् भने ९१ जना अस्पताल भर्ना भएका छन्। १६ जना सङ्क्रमितलाई आईसीयूमा र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
लुम्बिनीमा चार हजार ८८४ जना घरमै छन् भने २०३ जना अस्पताल भर्ना भएका छन्। उनीहरूमध्ये २० जनालाई आईसीयूमा र एक जनालाई भेन्टिलेटरमा राखिएको छ।
मधेश प्रदेशमा तीन हजार २९० जना घरमै आइसोलेशनमा बसेका छन् भने आठ जना मात्रै अस्पताल भर्ना भएका छन्। अस्पताल भर्ना भएका आठै जनालाई आईसीयूमा राखिएको छ।
यस्तै, सुदूरपश्चिममा दुई हजार ४९२ जना सङ्क्रमित घरमा बसेका छन् भने ३०८ जना अस्पताल भर्ना भएका छन्। उनीहरूमध्ये एक जनालाई मात्रै आईसीयूमा राख्नुपरेको छ।
सबैभन्दा कम सङ्क्रमित रहेको कर्णालीमा ५४८ जना घरमै आइसोलेशनमा छन् भने २६ जना अस्पताल भर्ना भएका छन्। जसमा चार जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ।
अहिलेसम्म देशभर पीसीआर परीक्षणका क्रममा नौ लाख ३३ हजार ४५१ जनामा र एन्टिजेन परीक्षणका क्रममा एक लाख २० हजार ६३७ जनामा कोरोना देखिएको छ। उनीहरूमध्ये आठ लाख ३१ हजार ७१२ जना निको भइसकेका छन् भने ११ हजार ६७२ जनाको मृत्यु भएको छ।