अद्भुत अल्माडोभार
अल्माडोभार कथाका घुम्तीहरूलाई पात्रको मनोभावनासँग कसरी जोड्ने र त्यसबाट तेस्रो अर्थ खोज्न दर्शकलाई कसरी उद्वेलित गर्ने भन्ने कलाका उस्ताद मानिन्छन्।
१२ देश, १२ निर्देशक : संसारभर एकैपटक लाखौं दर्शकलाई एउटै कुरा भन्न सक्ने, एउटै भावनामा बाँध्न सक्ने, हँसाउन-रुवाउन सक्ने अद्भुत क्षमता भएको कला हो- सिनेमा। जुनसुकै सिनेमा तब मात्र त्यो स्तरमा पुग्न सक्छ, जब त्यो अब्बल निर्देशकको हातमा पर्छ। माकुराले जाल बुने जस्तो पात्र, घटना र कथा बुनेर दर्शकलाई अर्कै संसारमा पुर्याइदिन्छन्, निर्देशकहरू।
वर्तमान विश्वमा सक्रिय १२ फरक देशका १२ चलचित्र निर्देशकबारे यो स्तम्भमा चर्चा गरिनेछ। बाह्रै जनाले फरक भाषा र शैलीको प्रतिनिधित्व गर्छन्। कसैले धेरै फिल्म बनाएका छन् त कोही थोरै फिल्म बनाएर पनि पारखीका मनमा बस्न सफल छन्। केही निर्देशक यस्ता छन्, जसबारे खासै चर्चा हुँदैन, तर ‘सिनेफाइल’ हरू यिनको कलामा मुग्ध हुन्छन्। आजको शृंखलामा निर्देशक पेड्रो अल्माडोभारबारे चर्चा गरिनेछ।
‘फिल्म राम्रा र नराम्रा हुँदैनन्, निर्देशक राम्रा र नराम्रा हुन्छन्,’ विख्यात फिल्ममेकर फ्राँस्वा त्रुफोको यो भनाइबाट सिनेमाका लागि निर्देशक जति महत्त्वपूर्ण कोही हुँदैन भन्ने बुझिन्छ। अर्थात्, कुनै पनि फिल्मलाई बेकारको वा महान् कस्तो बनाउने, त्यो निर्देशकको सोच, कला र कौशलमा निर्भर हुन्छ।
एकथरी फिल्ममेकर र समीक्षकहरू पटकथालाई फिल्मको मेरुदण्ड मान्छन्। फिल्मलाई एउटा स्थूल संरचनाका रूपमा हेर्दा यो सही पनि हो। जसरी कुनै घर कति बलियो छ भनेर बुझ्न त्यसका पिलरलाई हेरिन्छ, त्यसरी नै संरचनाका हिसाबले पटकथालाई फिल्मको पिलर मान्न सकिन्छ। के सिनेमा पनि घर जस्तै संरचना हो त?
सिनेमामा प्रयोग मन पराउने निर्देशकहरूले यस्ता मान्यतालाई तोड्दै आएका छन्। कथा र पटकथाको परम्परागत बुनोट, कथ्य संरचनाको शास्त्रसँग अमिल्दो गरी फिल्म बनाउनेहरू पनि छन्। यिनको संसारमा न कुनै स्क्रिप्ट हुन्छ न ‘ड्रामाटिक इलेमेन्ट’।
अघिल्लो अङ्कमा ताइवानका त्यस्तै फिल्ममेकर साइमिन लियाङको चर्चा गरिएको थियो। यस पटक छानिएका फिल्ममेकर भने पटकथा, ड्रामा र मेलोड्रामाका लागि समेत चर्चित छन्। उनी हुन्- ७२ वर्षीय पेड्रो अल्माडोभार। दुई पटक ओस्कर जितेका उनले अन्य ठूला चलचित्र महोत्सवमा पनि महत्त्वपूर्ण अवार्ड जितेका छन्। क्यानको जुरी प्रमुख पनि भइसकेका छन्।
पछिल्लो फिल्म प्यारलल मदर्स (२०२१) रिलिज भएपछि अल्माडोभारको चर्चा फेरि चुलिएको छ। हालै प्रसिद्ध पत्रिका न्यूयोर्क टाइम्सले आफ्नो अन्तर्राष्ट्रिय संस्करणमा यिनीबारे पहिलो पृष्ठमा फिचर प्रकाशित गर्यो, ‘पेड्रो अल्माडोभार अझै फिल्म बनाउँदै छन्’ भनेर।
पत्रिकाले उनका लागि पूरै एक पृष्ठ समर्पित गरेको छ। यसमा उनको चलचित्र निर्माणको विषय र शैली अनि जीवनबारे चर्चा गरिएको छ। त्यसै अङ्कको अर्को पृष्ठमा प्यारलल मदर्स को समीक्षा पनि प्रकाशित छ। भनिरहनु नपर्ला, न्यूयोर्क टाइम्सले यति महत्त्व सबै फिल्ममेकरलाई दिंदैन।
अल्माडोभार खास शैली भएका फिल्ममेकर हुन्। कथाका घुम्तीहरूलाई पात्रको मनोभावनासँग कसरी जोड्ने र त्यसबाट तेस्रो अर्थ खोज्न दर्शकलाई कसरी उद्वेलित गर्ने भन्ने कलामा उनी उस्ताद मानिन्छन्। सन् १९९९ को ओस्करमा विदेशी भाषाको फिल्मको अन्तिम प्रतिस्पर्धामा पहिलो पटक नेपालबाट गएको फिल्म क्याराभान पुग्दा यिनै स्पेनी अल्माडोभारको फिल्म अल अबाउट माई मदरले अवार्ड जितेको थियो।
सन् १९७४ देखि फिल्म बनाउन थालेका अल्माडोभारको ‘फिल्मोग्राफी’ निकै लामो छ। जेनरल फ्र्यांकोको झण्डै चार दशकको तानाशाही ढलेर लोकतन्त्रको पथमा अग्रसर भएको स्पेनलाई सिनेमा र संस्कृति मार्फत विश्वभर अलग परिचय दिलाउन अल्माडोभारको पनि योगदान छ। उनलाई अक्सफोर्ड लगायत प्रसिद्ध शिक्षण संस्थाहरूले सिनेमा-कलामा पुर्याएको योगदानका लागि मानार्थ विद्यावारिधि प्रदान गरेका छन्।
~~~ ~~~ ~~~
म यो लेखमा उनका तीनवटा फिल्मको अलि बढी चर्चा गर्नेछु- टक टु हर, पेन एन्ड ग्लोरी र प्यारलल मदर्स।
लामो समयदेखि कोमामा रहिरहेकी एक युवतीबारे एक दिन पत्ता लाग्छ कि दुई महीनादेखि यिनको महीनावारी रोकिएको छ। अस्पतालका लागि यो डरलाग्दो सूचना हुन्छ। छानबिन हुँदा कोमामै रहेको अवस्थामा उनको बलात्कार भएको खुल्छ।
अझै खोज्दै जाँदा पत्ता लाग्छ, जुन युवकले नर्सका रूपमा उनको हेरविचार गरिरहेको थियो उसले यी युवतीलाई पहिलेदेखि नै चिन्थ्यो र उनीप्रति आकर्षित थियो।
यी पात्रहरूको कथा के थियो? र, यसको अन्त्य कसरी हुन्छ? थाहा पाउन अल्माडोभारको टक टु हर हेर्नुपर्छ।
फिल्ममा दुई महिला कोमामा छन् र उनीहरूको हेरविचार गर्न दुई पुरुष खटिएका छन्, जसमध्ये एकलाई लाग्छ- बोल्न नसके पनि यी महिलाले कुरा सुन्न सक्छन्, त्यसैले यिनीहरूसँग कुरा गर्नुपर्छ।
मनका सबै कुरा यिनलाई सुनाउनुपर्छ। बलात्कार जस्तो कुरालाई भावनात्मकता, प्रेम र एक्लोपनाको अतिरञ्जना दिइएको भन्दै यो फिल्म र अल्माडोभारको आलोचना पनि हुने गरेको छ।
प्रेम, वासना र मानिसको भित्री मन चियाउने विषयलाई यो फिल्मले फरक तरीकाले प्रस्तुत गर्छ। के प्रेमका नाममा मानिसलाई जे गर्न पनि छूट हुन्छ? कसैप्रतिको आसक्तिले मानिसलाई कहाँसम्म पुर्याउन सक्छ? र, जीवनमा एउटा मानिसका सामु के कस्तो परिस्थिति आइपर्न सक्छ? यस्ता विषयमा यो फिल्मले सोचमग्न बनाउँछ।
~~~ ~~~ ~~~
अर्को फिल्म प्यारलल मदर्स बच्चा जन्माउने तयारीमा रहेका दुई महिलाको प्रसूति-कक्षमा हुने कुराकानीबाट अघि बढ्ने कथा हो। ४० वर्षीया फोटोग्राफर र १८ वर्ष पनि नपुगेकी किशोरी एउटै अस्पतालमा एकै समय प्रसूतिका लागि पुगेका छन्। यी दुवै एकल आमा बन्ने तयारीमा छन्।
फोटोग्राफरका प्रेमी विवाहित छन् र उनी यो बच्चा जन्माउने कुराको खिलाफमा छन्। किशोरीको बच्चा बलात्कारबाट रहन गएको छ। यी दुई आमाको कथालाई अल्माडोभारले ‘टर्न एन्ड ट्विस्ट’ दिएका छन्।
फिल्मको गुदीमा यी दुईको सम्बन्ध, यिनको मानसिक र भावनात्मक सङ्घर्ष छ। यसलाई आवरणमा भने जनरल फ्र्यांको र स्पेनी गृहयुद्धको सम्झनाले बेरिएको छ।
अल्माडोभार आफैं फ्र्यांकोको शासन भोगेका व्यक्ति हुन्। १९७५ मा फ्र्यांकोको मृत्यु भएर स्पेन लोकतान्त्रिक व्यवस्थातिर लागेपछि हुर्के/बढेको कलाकार पुस्ताका प्रतिनिधि पनि हुन् अल्माडोभार। फ्र्यांकोमुक्त नयाँ स्पेनमा उनी एकै चोटि शहरमा घुलमिल भएका थिए। गाउँमै जागीर खाएर बसोस् भन्ने मातापिताको चाहना विरुद्ध उनी गाउँबाट हिंडेका थिए। उनकै शब्दमा ‘भागेका’।
मड्रिडको नयाँ संसारमा घुलमिल भएर फिल्म बनाउन थाल्दासम्म पनि उनले स्पेनको सरकारी दूरसञ्चार कम्पनीको जागीर छोडेका थिएनन्। १९८८ मा उनको फिल्म वुमन इन द भर्स अफ नर्भस ब्रेकडाउन ओस्करमा मनोनीत भएपछि बल्ल उनले १२ वर्ष पुरानो जागीर छोडेका थिए।
तर, अल्माडोभारले तानाशाह फ्र्यांको र गृहयुद्धको प्रसङ्ग फिल्ममा उठाएका थिएनन्। यसपालि भने उनले यो विषयलाई छोएका छन्। न्यूयोर्करका अनुसार, २००६ को अन्तर्वार्तामा उनले आफूले फ्र्यांकोको अस्तित्वलाई अहिलेसम्म अस्वीकार गरेको बताएका थिए।
फ्र्यांकोको शासनको आफूमाथि कुनै प्रभाव नै नभए जसरी फिल्ममा उनको समय उल्लेख नगरेको तर अब त्यो समयतिर फर्केर हेर्ने अल्माडोभारले बताएका थिए। २०१८ मा उनले फ्र्यांकोको समयमा बेपत्ता पारिएकाहरूबारे बनेको डकुमेन्ट्री दी साइलेन्स अफ अदर्सको निर्माण गरेका थिए।
अल्माडोभारका धेरै फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेकी कलाकार पेनेलोप क्रुजले प्यारलल मदर्समा फोटोग्राफर महिलाको भूमिका निर्वाह गरेकी छन्। क्रुजबारे अल्माडोभारले भनेका पनि छन्, ‘म उनमा आमाकै छवि पाउँछु। त्यसैले मैले मेरा सबै फिल्ममा उनलाई आमाकै भूमिकामा कास्ट गरेको छु।’ यस्ती अभिनेत्रीलाई उनले आमाकै विषयमा बनाउने फिल्ममा प्रस्तुत नगर्ने कुरै भएन।
फिल्ममा फोटोग्राफर बनेकी यिनका बूढा हजुरबा गृहयुद्धमा मारिएका थिए। गैरन्यायिक हत्यापछि उनको शव गाउँदेखि बाहिरको एउटा खुला चौरमा सामूहिक चिहानमा गाडिएको थियो। उनी त्यो चिहानको उत्खनन गराउन चाहन्छिन्।
आफ्ना बूढा हजुरबा र यसरी नै गाडिएका अरूलाई सम्मानजनक अन्त्येष्टि दिलाउन चाहन्छिन्। कथाको डोरोलाई यो धागोमा बुन्दै अल्माडोभार अघि बढ्छन्। फोटोग्राफरले शव उत्खननका लागि एक ‘फरेन्सिक एन्थ्रोपोलोजिस्ट’ खोज्छिन्, जससँगको सम्बन्धबाट कथा अघि बढ्छ।
फिल्ममा इतिहास र भविष्यलाई जोडिएको छ। हरेक व्यक्तिले आफ्नो जीनमा आफ्नो इतिहास बोकेर आएको हुन्छ भनिन्छ। फिल्ममा एकातिर नयाँ जन्म भइरहेको छ भने अर्कातिर अलपत्र छोडिएका मृत पुर्खाहरूको खोजी पनि भइरहेको छ। एकातिर बच्चाहरूको हेरविचारको विषय छ भने अर्कातिर पुर्खाहरूलाई सम्मान दिने प्रयास छ।
यी दुई कामका बीचमा अहिलेको पुस्ताका सोच र क्रियाकलापलाई फिल्मले परख गर्छ। अहिलेकै पुस्ताका पनि दुई भिन्न सोच र जीवनशैलीका आमा यसमा छन्। मानव जीवनका दुःख र पीडा मात्र होइन, विडम्बनालाई पनि अल्माडोभारले यसमा सुन्दर ढङ्गले प्रस्तुत गरेका छन्।
फिल्ममा एउटा ‘साइड ट्र्याक’ छ- ढल्कँदो उमेरमा अभिनय करिअर शुरू गर्न लागेकी आमाको। जवानीमा सन्तान हुर्काउने कामले गर्दा आफ्नो रुचि पूरा गर्न नपाएकी उनलाई एकै पटक मौका आउँछ- आफ्नी नातिनी हुर्काउने कि प्रख्यात नाटकमा मुख्य भूमिका निर्वाह गर्न छोरी र नातिनीलाई छोडेर अर्को शहरमा जाने?
यो फिल्मकी तेस्री आमाको कथा हो, जसलाई निर्देशकले न भिलेन बनाएका छन् न त हिरोइन। मानिसको जीवनको गोरेटो आखिर यस्तै रोजाइहरूले निर्माण गर्ने त हो नि !
~~~ ~~~ ~~~
सन् २०१९ को क्यान फिल्म फेस्टिभलमा अल्माडोभारको फिल्म पेन एन्ड ग्लोरी जापानका हिरोकाजु कोरेइदाको शपलिफ्टर्ससँग उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा थियो। यो प्रतिस्पर्धामा ‘पाम डि’अर’ कोरेइदाले हात पारे, तर उत्कृष्ट अभिनेताको अवार्ड भने पेन एन्ड ग्लोरीका लागि एन्टोनियो बेन्डेरसले प्राप्त गरे।
एन्टोनियो र पेनेलोप क्रुज अल्माडोभारका धेरैजसो फिल्ममा दोहोरिने कलाकार हुन्। पेन एन्ड ग्लोरीमा रोचक के छ भने यसमा एन्टोनियोले अल्माडोभारसँग मिल्दोजुल्दो फिल्म निर्देशकको भूमिकामा अभिनय गरेका छन् भने क्रुजले ती निर्देशककी आमाको।
पेन एन्ड ग्लोरीलाई अल्माडोभारको आत्मकथा जस्तै मानिएको छ। क्यान्स र बीएफआई लगायत चलचित्र महोत्सवमा भएका अन्तर्वार्तामा उनले यसमा आफ्ना केही स्मृति र कल्पना मिसाइएको बताएका छन्।
‘फिल्मको स्क्रिप्ट लेख्न शुरू गर्दा म ढाडको अप्रेसन गरेर पोस्ट अपरेसनमा थिएँ,’ उनले भनेका छन्। यो कुराको उल्लेख किन महत्त्वपूर्ण छ भने फिल्मको मुख्य पात्र उमेर ढल्किंदै गएको फिल्ममेकर हो र ऊ ढाड दुख्ने समस्याबाट ग्रस्त छ।
फिल्ममा देखाइएको निर्देशकको घर अल्माडोभारकै घरको ‘रेप्लिका’ हो। उनकै जस्तो घर स्टुडियोमा बनाइयो अनि उनकै घरका पेन्टिङहरू लगेर त्यसरी नै मिलाएर राखियो। साल्भाडोर मालो नामक यो निर्देशकले पनि लगभग अल्माडोभारले जसरी नै भन्छ, ‘फिल्ममेकिङ विना मेरो जीवनको कुनै अर्थ छैन।’
फिल्मको बुनोट पनि स्मृतिका टुक्राहरू जोडेर गरिएको छ। ढाडको पीडा हटाउन उसले धेरै प्रयास गरिसक्यो। यही पीडाले उसलाई फिल्म बनाउन रोकिरहेको छ। यस बाहेक उसलाई अरू समस्या पनि छन्।
एक दृश्यमा उसले भन्छ, ‘जुन दिन मेरो शरीर एक-दुई ठाउँमा मात्रै दुख्छ, त्यो राति म नास्तिक हुन्छु। जुन दिन धेरै ठाउँमा दुख्छ, त्यो रात म भगवान् पुकार्छु।’
यसमा फिल्ममेकरको बाल्यकाल छ। स्वीमिङ पुलमा तैरिरहँदा पनि उसको स्मृतिमा गाउँको खोला किनारमा गीत गाउँदै लुगा सुकाइरहेकी आमा आइरहन्छिन्। यो दृश्यलाई स्वीमिङ पुलमा थिग्रिएको पानीको गति र खोलाको बगिरहेको पानीको गतिसँग तुलना गर्न सकिन्छ। बाल्यकालमा आमाको सान्निध्यमा गतिमान् र चञ्चल जीवनको अहिले पीडाको गुम्फनमा परेर स्थिर भएको जीवनले सम्झना गरे जस्तो !
आफूले खोजे जस्तो सुन्दर फिल्म बनाउन असमर्थ हुन्छु कि भन्ने डरले खाइरहेको साल्भाडोरले ३२ वर्ष पहिले बनाएको एउटा फिल्म ‘रिस्टोर’ भएर प्रदर्शनको तयारीमा छ, जसमा मुख्य अभिनेताले गरेको अभिनय निर्देशकलाई मन परेको छैन। यी दुईका बीच मनमुटाव छ।
मानिसको जीवन स्मृतिहरूले बनेको पुलमा घरी वारि घरी पारि गरिरहन्छ। कुनै स्मृति चपाइरहँदा मीठो रस आइरहने दालचिनी जस्ता हुन्छन् त कुनै सियोले जसरी घोच्ने ! साल्भाडोर यिनै स्मृतिहरूको सङ्ग्रह गरेर बसेको छ। शरीरले भोगिरहेको पीडा एकातिर छ भने स्मृतिका घाउ अर्कातिर छन्। शायद पीडा नहुँदो हो त मान्छे आफ्नै मन जसरी माथि माथि उडिरहेको हुन्थ्यो होला। मानिसलाई उसको पीडा, स्मृति वा वजनमध्ये कुन चाहिं तत्त्वले जमीनतिर तानिरहन्छ?
अल्माडोभारका पात्रहरू प्रायः जटिल परिस्थिति र मनोविज्ञानले युक्त हुन्छन्। यसबाटै उनी ‘ड्रामा’ पैदा पनि गर्छन्। यी पात्र न हिरो हुन्छन्, न भिलेन। प्रायः आफ्नो स्वभाव र चरित्रले उत्पन्न गरेको जटिलतामा अल्झिएका यी पात्र शायद दर्शकका लागि ऐना बनिदिन्छन्, जसमा हामी आफ्नो अनुहार हेर्न सक्छौं।
हाम्रै जीवनका जटिलता वा त्यसको कुनै अंश त्यसमा भेट्टाउन पनि सक्छौं। मनोभावनालाई व्यक्त गर्ने अल्माडोभारको शैली उनले प्रयोग गर्ने रङमा झल्कन्छ। चाहे पेन एन्ड ग्लोरीमा बाल्यकालको स्मृतिमा प्रयोग भएको सेतो रङ होस् वा वर्तमानको नीलो रङ। अथवा प्यारलल मदर्समा दुई आमाको पृष्ठभूमिमा प्रयोग भएको पहेंलो र सुन्तला रङ। उनको फिल्ममा रङको मात्रै छुट्टै अध्ययन हुन सक्छ।
कथा भन्ने आफ्नो शैलीले नै अल्माडोभारलाई जीवन्त बनाइराखेको छ। २०१९ मा गार्डियनमा प्रकाशित एक अन्तर्वार्तामा उनले भनेको लाइनबाट अल्माडोभार कस्ता फिल्ममेकर हुन् भन्ने यो गन्थनको अन्त्य गरौं। उनी भन्छन्, ‘मेरा फिल्महरूमा कमजोरी छन्, तर कुनैमा अरूभन्दा अलि कम छन्। म, त्यसैले केही दृश्यहरूमाथि निकै गर्व गर्छु।’
यस शृंखलाका थप लेख :
साइमिनको फरक सिनेमा सूत्र
कोरेइदाको काइदाको सिने-संसार