राष्ट्रिय सभामा कुन पार्टीले कति सीट जिते?
राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा सातै प्रदेशको नतीजा सार्वजनिक भएको छ।
राष्ट्रिय सभा सदस्यको १९ सीटमा भएको निर्वाचनमा सबैभन्दा बढी सीटमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, सत्तारूढ गठबन्धनका कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पाँच-पाँच, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले एक-एक सीटमा जित हासिल गरेका छन्।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एक सीटमा जित हासिल गरेको छ। एमालेसँग मधेश प्रदेशमा तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पराजित भएको छ।
यो चुनावमा एमालेले सात सीट गुमाएको छ। कांग्रेसले तीन, माओवादी र एकीकृत समाजवादीले एक-एक सीट थपेका छन्। त्यस्तै, जसपा र जनमोर्चाले पनि एक-एक सीट जितेका हुन्।
आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका र माओवादीका चार-चार तथा कांग्रेसका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिंदै छ।
उनीहरूको रिक्त हुन लागेको स्थानका लागि आज निर्वाचन भएको हो। राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।
एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रतिस्पर्धामा थिए।
सातै प्रदेशमा भएको निर्वाचनमा विभिन्न राजनीतिक दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा थिए। यसमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका थिए।