खेलाडीका सामान बाेक्न गल्फ कोर्स छिरेका शुक्र यसरी बने नेपालको नम्बर एक गल्फर
खेलाडीहरूको सामान बोकेर पैसा कमाउने आशमा गल्फ कोर्स छिरेका धरानका शुक्रबहादुर राई अहिले नेपालकै नम्बर एक गल्फर बनेका छन्।
गल्फलाई महँगो खेल भनिन्छ। ज्याला मजदूरीबाट जीवनयापन गर्ने परिवारका सदस्यका लागि गल्फ खेल्नु कल्पना बाहिरकै कुरा थियो। धरानका शुक्रबहादुर राईलाई भविष्यमा गल्फर बनुँला भन्ने सपना पनि थिएन। बरु उनी फूटबल भनेपछि हुरुक्कै हुन्थे।
लाहुरेको शहर धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि क्याम्पभित्रै सन् १९६० तिरै १८ होलको गल्फ कोर्स बनेको थियो। ब्रिटिश क्याम्पमा कार्यरत विदेशीहरूले खेल्ने गल्फ कोर्स सन् १९८५ मा क्याम्प सरेपछि अलपत्र पर्यो। पछि, धरानका स्थानीयहरू पनि गल्फप्रति आकर्षित भए। र, गल्फ कोर्सले पुनर्जीवन पायो। विभिन्न प्रतियोगिता पनि हुन थाले।
सन् २०१० मा गल्फ कोर्समा पेशेवर गल्फरहरूको प्रतियोगिता भइरहेको थियो। घर नजिकै गल्फ कोर्स भए पनि शुक्रले यो खेलबारे बुझेका थिएनन्। रुचि पनि थिएन।
एक दिन साथी तेजकुमार राईले ‘गल्फ खेल्नेहरूका सामान बोकिदिन जाऔं, पैसा कमाइ हुन्छ’ भनेर बोलाए। त्यसरी गल्फरका खेल सामग्री बोक्ने, बल हेरिदिने काम गर्ने ‘क्याडी ब्वाई’ का रूपमा १२ वर्षको उमेरमा शुक्र गल्फ कोर्समा छिरे।
“दुई दिनमै ८ सय रुपैयाँ कमाएँ,” १२ वर्षअघिका दिन सम्झँदै उनी भन्छन्, “पैसाले गर्दा पनि म गल्फ कोर्समा आकर्षित भएँ। कमाइ हुने भएकाले आफ्नो खर्च पनि टर्थ्यो। पछि त फूटबल खेल्ने मेरा साथीहरू पनि क्याडी ब्वाई बन्न आए।”
शुरूआती दिनमा शुक्रलाई गल्फप्रति रुचि जागेन। बिस्तारै खेल्दै गए। अनि गल्फमा रमाउन थाले। हरेक बुधबार हुने ‘क्याडी डे’ मा उनीहरूले खेल्न पाउँथे। शुक्र पनि खेल्न थाले। सकेको मिहिनेत गर्दै गए। उनको मिहिनेत र खेल देखेर धरान गल्फ क्लबका अग्रजहरूले आवश्यक सामग्री लगायतको चाँजोपाँजो मिलाइदिए।
अग्रज गल्फरहरूले वेलावेला स्कूले विद्यार्थीका लागि ‘गल्फ क्लिनिक’ चलाउँथे। शुक्र पनि त्यस्ता क्लिनिकमा सहभागी हुन्थे। प्रोफेसनल खेलाडी सबिन सापकोटा, देवराज पाख्रिन, मणिकुमार राईहरूबाट उनले गल्फका धेरै युक्ति सिके।
सन् २०१२ मा उनले नेपाल गल्फ एसोसिएशन, काठमाडौंले आयोजना गरेको जुनियर गल्फ प्रतियोगितामा भाग लिए। पहिलो वर्ष उल्लेख्य उपलब्धि हासिल नभए पनि दोस्रो वर्षमा उनी जुनियरतर्फको समूहमा दोस्रो भए। यसअघि धरानमा पहिलो पटक भएको क्याडी म्याचमा पनि विजयी भएका थिए।
उनी भन्छन्, “क्लबका सदस्यहरूले पैसा उठाएर म्याच खेलाउनुभएको थियो। मैले पहिलो म्याचमै १८ ह्यान्डी क्याममा खेल्दा १८ ओभर खेलेर लेभल पार गरें।”
एकपछि अर्को खेल जित्दै गए। अहिले त उनको जीवन आधार नै गल्फ भएको छ।
जितको श्रृङ्खला
सन् २०१४ मा सूर्य नेपाल टूर खेल्न थालेका शुक्र पहिलो पटकमै सूर्य नेपाल इस्टर्न ओपनमा एमेच्योरतर्फको विजेता बने। सन् २०१५ को सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो बनेका उनले सन् २०१६ र २०१७ का इस्टर्न ओपनमा लगातार एमेच्योरतर्फ च्याम्पियन बने।
सन् २०१८ मा उनले इस्टर्न ओपनमा एमेच्योरतर्फको मात्र होइन, व्यावसायिक खेलाडी शिवराम श्रेष्ठ, रवि खड्का, भुवन नगरकोटीलाई समेत पछि पार्दै ट्रफी नै जित्न सफल भए।
नेपालको सबैभन्दा ठूलो गल्फ टुर्नामेन्ट ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ को सन् २०१७ को संस्करणमा उनी एमेच्योरतर्फको च्याम्पियन बने। सन् २०१९ मा भने प्रोफेसनलको समेत ट्रफी जितेर एमेच्योर र ओभरअल दुवैको च्याम्पियन बने। सन् २०१९ मा ‘सूर्य नेपाल वेस्टर्न ओपन’ मा पनि एमेच्योरतर्फको ट्रफी पनि जिते।
उनको विजयी यात्रा नेपालमा मात्र सीमित भएन। उनले विदेशी भूमिमा पनि जित हात पारे। सन् २०१७ मा भुटान ओपन गल्फ च्याम्पियनसिपमा टीम विजेता हुँदै ओभरअलमा तेस्रो भए। सोही प्रतियोगिताको सन् २०१९ को संस्करणमा उनी टीम र ओभरअल दुवैमा च्याम्पियन बने।
त्यस्तै, सन् २०१८ मा बाङ्लादेशमा आयोजित एमेच्योर ओपन च्याम्पियनसिपमा उनी रनरअप बने भने सन् २०१९ मा विजयी नै भए।
उनले सातौं राष्ट्रिय गल्फ च्याम्पियनसिप सन् २०१६ मा समूह र व्यक्तिगत दुवैतर्फ स्वर्ण पदक जितेका थिए भने आठौं राष्ट्रिय गल्फ च्याम्पियनसिपमा सन् २०१७ मा भने उनी समूहतर्फ र व्यक्तिगततर्फ दुवैमा विजयी बने। यसअघि २०१७ मा भएको सातौं नेपाल एमेच्योर ओपनमा उनी दोस्रो बनेका थिए।
१३औं साउथएशियन गेम सन् २०१९ मा समूहमा गोल्ड र व्यक्तिगतमा कास्य पदक जिते। उनको कीर्तिमानी यात्रा ‘फाल्डो सिरिज’ मा पनि देखियो। जहाँ सन् २०१७, २०१८ र २०१९ मा लगातार विजेता बने।
प्रोफेसनल खेलाडी बनेपछि शुक्रले सन् २०२१ काे धरान ओपन गल्फ टुर्नामेन्ट र सूर्य नेपाल वेस्टर्न ओपन जिते भने सन् २०२१/२२ को सूर्य नेपाल इस्टर्न ओपन र सन् २०२२ को सूर्य नेपाल सेन्ट्रल ओपन जितिसकेका छन्। एकै वर्ष भएका तीन प्रतियोगितामध्ये दुई वटाको उपाधि जितेका उनी नेपालको उम्दा गल्फर हुन्।
सार्क च्याम्पियनसिपमा जित्दा भने आफूलाई साह्रै खुशी लागेको उनी बताउँछन्। आफू जस्तै नयाँ पुस्ता यदि गल्फमा आउन हो भने भविष्य राम्रो रहेको उनको ठम्याइ छ। “नेपालमा पनि टुर्नामेन्टहरू हुन थालेका छन्, पुरस्कारको पैसा पनि बढेको छ,” शुक्र भन्छन्, “मिहिनेत गर्ने हो भने गल्फमै करिअर बनाउन पनि सकिने सम्भावना छ।”
गल्फको शुरूआत गर्न एक सेट सामग्री किन्न दुई-तीन लाख खर्च हुने भए पनि हाराहारी ५० हजारमा उपलब्ध हुने सेकेन्ड ह्यान्ड सेटले पनि दुई-तीन वर्ष राम्रो काम दिने उनी बताउँछन्। उनका अनुसार, धरानका कोर्समा पेशेवर खेलाडीले वार्षिक १२ हजार र शोखीन खेलाडीले २४ हजार शुल्क तिर्नुपर्छ। “त्यस बाहेक रेगुलर खर्च महीनाको ६ हजार जति हुन आउँछ,” उनी भन्छन्।
गल्फ खेलेर सबै गल्फर नै हुनुपर्छ वा हुन सक्छन् भन्ने छैन। यदि आफूमा सिकाउने कला छ भने इन्स्ट्रक्टर पनि हुन सकिने वा कोचिङ गरेर पनि जीवन धान्न सकिने सम्भावना रहेको उनी बताउँछन्। “त्यसका लागि कोर्स लिन सकिन्छ,” उनी भन्छन्।
त्यस्ता कोर्स नेपालमा उपलब्ध नभए पनि भारतमा सजिलै लिन सकिन्छ। स्पोर्ट साइन्सको पढाइले निरन्तरता पाएको र खेलको विकास हुँदै गरेकाले भविष्यमा नेपालमा पनि त्यस्तो कोर्स सञ्चालन हुने सम्भावना छ।
अबको लक्ष्य इन्डिया टूर
शुक्र हरेक दिन बिहान ६ बजे गल्फ कोर्स पुग्छन् भने साँझ ६ बजेसम्म अभ्यास गरिरहेका हुन्छन्। उनी अहिले पूर्णकालीन गल्फर भएका छन्। “बन्दाबन्दीका वेला राम्ररी ट्रेनिङ गर्न नपाउँदा फ्रस्टेशन भयो। त्यसैले पनि अहिले दिनमा १० घन्टा अभ्यासमै हुन्छु,” उनी भन्छन्।
गल्फमा एकोहोरिंदा उनको पढाइ छुट्यो। एसएलसी नदिंदै गल्फ कोर्स छिरेका उनले २०७० सालमा एसएलसी दिएका त थिए, त्यसमा उत्तीर्ण हुन सकेनन्। त्यसपछि भने उनले परीक्षाका लागि समय नै निकाल्न सकेनन्। “गल्फमा लागेपछि पढाइ छुट्यो,” शुक्र भन्छन्।
उनका बुबा निर्माण क्षेत्रमा सहायकको काम गर्छन्। लामो समय बिरामी रहेका दाजु अहिले स्वस्थ छन् र आफ्नै काम गर्छन्। बुबा र दाजुले घरव्यवहार चलाएका छन्। अहिले त शुक्र पनि घरमा आर्थिक सहयोग गर्न थालेका छन्। धरान गल्फ क्लबले शुभेच्छुकहरूको सहयोगमा शुक्रको घर बनाउन मद्दत गरेको छ।
पेशेवर खेलाडी बनिसक्दा पनि गल्फका लागि दैनिक हुने खर्च धान्न उनलाई गाह्रै छ। गल्फका सामानहरू अग्रज गल्फरहरूले सहयोग गर्दै आएका छन्। खेलमा जितेको पैसाबाट आफ्नो खर्च धानिरहेका छन्।
उनी भन्छन्, “प्रो भए पनि स्पोन्सर नहुँदा अहिले पनि गाह्रो नै छ। तर, प्रतियोगिताहरू लगातार जितिरहेकाले आफूलाई खर्च पुगेको छ। सिनियरहरूको मायाले टिकेको छु।”
शुक्रको अबको लक्ष्य इन्डियन टूरमा खेल्नेछ। त्यसका लागि शुरूमा प्रि-क्वालिफाइङ स्कूलमा छनोट हुनुपर्छ। छनोटमा सहभागी हुन उनले इन्ट्री पनि गरिसकेका थिए, तर कोरोना महामारीका कारण यात्रा रोकियो। “पछि फेरि जान्छु। त्यसका लागि पनि अहिले मिहिनेत गरिरहेको छु,” उनी भन्छन्, “इन्डिया हुँदै एशियन टूरमा जाने मेरो लक्ष्य हो। हेरौं, कहाँसम्म पुगिन्छ।”
हाल जर्मनीमा प्रशिक्षक रहेका गल्फर सबिन सापकोटाले शुक्रको राम्रो भविष्य राम्रो देखेका छन्। उनलाई गाइड गरिरहेका सापकोटा भन्छन्, “इमानदारीपूर्वक मिहिनेत गर्ने, नबुझेको कुरा सोधिहाल्ने शुक्र परिपक्व खेलाडी भइसकेका छन्। अहिले नै नम्बर एक बनिसकेका उनले भविष्यमा अझै धेरै गर्न सक्छन्।”
धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राई छोटो समयमै धरानको गौरव बनेका शुक्रले विदेशमा खेल्ने मौका पाए देशकै गौरव बढाउने बताउँछन्। “अघिल्लो वर्ष नेपालमा भएका तीन खेलमा दुई वटामा विजेता र एउटामा उपविजेता भएका छन्। र अन्य मापदण्डका आधारमा शुक्र अहिलेका नम्बर एक खेलाडी हुन्। यद्यपि, यसबारे औपचारिक घोषणा भने भएको छैन,” राई भन्छन्, “मजदूर परिवारका शुक्र नेपालकै नम्बर एक गल्फर बन्न सफल हुँदा गल्फ अब धनीको मात्र खेल हो भन्ने मान्यता भत्किएको छ।”