कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्तारूढ गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन्।
बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा गुरुङ, नेकपा (माओवादी केन्द्र) का नरबहादुर विष्ट र नेकपा (एकीकृत समाजवादी) का उदय बोहोरा विजयी भएका हुन्।
कर्णालीमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य तर्फगरी तीन वटा क्लस्टरमा तीन सीटका लागि निर्वाचन भएको थियो। गुरुङले दुई हजार ९७० तथा विष्ट र बोहोराले समान तीन हजार ६ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले बताए।
एमालेबाट महिलातर्फ गंगा थापा, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकतर्फबाट पदमबहादुर माझी र अन्यतर्फ चूडामणि शर्मा उम्मेदवार थिए। माझीले एक हजार ३९८ तथा महत र शर्माले समान एक हजार ४०६ मतभार प्राप्त गरेका छन्।
अपाङ्गतर्फको एक मत र महिलातर्फको दुई मत बदर भएको निर्वाचन अधिकारी चालिसेले जानकारी दिए। उनका अनुसार, बदर भएका तीन वटै मत स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फका हुन्।
कर्णालीमा १९१ मतदाता रहेकामा १८९ जनाले मतदान गरेका थिए। प्रदेश सभाका ३५ र गाउँपालिका तथा नगरपालिकाका प्रमुख-उपप्रमुख १५६ मतदाता रहेका थिए।