सुदूरपश्चिमबाट गठबन्धनका तीनै उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट सत्तारूढ गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन्।
महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा), अन्य समूहबाट नेपाली कांग्रेसका नारायणदत्त मिश्र र दलिततर्फ नेकपा (माओवादी केन्द्र) का जगत पार्की विजयी भएका हुन्।
बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीकी शाह तीन हजार ८३४ मतभार प्राप्त गरेर निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार सन्तोषकुमारी थापाले एक हजार ७२८ मतभार प्राप्त गरिन्।
यसै गरी कांग्रेसका मिश्र तीन हजार ७४४ मतभार प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भट्टले एक हजार ८६६ मतभार प्राप्त गरे।
त्यस्तै, माओवादीका पार्कीले तीन हजार ७६२ मतभार प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश विश्वकर्माले एक हजार ७८२ मतभार प्राप्त गरे।
धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयका स्थानीय तहका १७५ र प्रदेश सभाका ५३ मतदाता थिए। कुल पाँच हजार ६४६ मतभार रहेको थियो।